coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हतारमा उद्घाटन र शिलान्यासः ठेक्का सम्झौता हुनै बाँकी छ, शिलान्यास भइसक्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते शनिबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्रको स्विच थिचेर उद्घाटन गरे। वर्षाैंदेखि सबैभन्दा धेरै चासोको विषय बनेको मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा कहिलेदेखि वितरण गर्ने अहिलेसम्म टुंगो लागेको छैन।  

मेलम्ची आयोजनाको प्रारम्भिक चरणको सुरुङ परीक्षणसमेत सकिएको छैन। तर प्रधानमन्त्री वर्षाैंदेखि नियमित ढंगले निर्माण हुँदै आएको मेलम्ची आयोजना आफ्नै कार्यकालमै निर्माण झैं तामझामसहित उद्घाटनमा तम्सिएको देखिन्थ्यो।  

प्रधानमन्त्री ओली गत पुस ५ गते प्रतिनिधिसभाको संसद विघटन गर्ने निर्णय गरेसँगै विकासे आयोजनाको उद्घाटन र शिलान्यासमा निकै ब्यस्त देखिन थालेका छन्। यद्यपि सर्वाेच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै बदर गरिसकेको छ। पछिल्ला राजनीतिक उथलपुथलसँगै प्रधानमन्त्री ओलीले दिनहुँ जसो उद्घाटन तथा शिलान्यास कार्यलाई प्रथामिकतामा राख्दै आएका छन्।  

ठेक्का सम्झौता नहुँदै सुनकोसी मरिनको शिलान्यास

प्रधानमन्त्री ओलीले शिलान्यास गर्न यति हतार गरेका छन् कि आयोजनाको ठेक्का सम्झौता हुनुअगावै शिलान्यास गरेको पाइएको छ। प्रधानमन्त्री ओलीले गत फागुन २० गते त्यस्तै हतारोपन देखाए। फागुन २० गते सिन्धुलीको कुशुमटारमा पुगेर निकै तामझामसहित ठेक्का सम्झौताको सबै प्रक्रिया नै नपुगेको सुनकोसी मरिन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरे। यो परियोजनाको ठेकेदार छनोट भए पनि अहिलेसम्म ठेक्का सम्झौता भएको छैन।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आत्मसन्तुष्टि पूरा गर्न आयोजनाको शिलान्यास तथा उद्घाटनमा ब्यस्त भएको बताउँछन्। ‘अहिलेको विकसित राजनीतिक घटनाक्रमले प्रधानमन्त्री जुनसुकै बेला पनि पदबाट हट्नुपर्ने सम्भावना देखिन्छ। त्यसैले पनि आफ्नो रहर मेट्नकै लागि भए पनि विकास निर्माणको आयोजनाको उद्घाटन र शिलान्यासमा हतारो गरेको देखिन्छ,’ उनले भने, ‘सम्भवतः ओली अन्तिमपटक प्रधानमन्त्री हुने भएकाले पनि उद्घाटन र शिलान्यास गरेरै भए पनि विकासप्रेमी प्रधानमन्त्रीको छवि देखाउन नाटक गरेजस्तो देखिन्छ।’  

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक सुशीलचन्द्र आचार्यले आयोजनाको सुरुङ तथा अन्य पहुँचमार्ग निर्माणको लागि चिनियाँ ठेकेदार कम्पनी कोभ्याक्सलाई लेटर अफ एसेप्टेन्स दिएको बताए। ‘हामीले ठेकेदार कम्पनीलाई लेटर अफ एसेप्टेन्स दिइसकेका छौं,’ उनले भने, ‘यो भनेको ठेक्का सम्झौता गरे जस्तै हो।’ आयोजनाका निर्देशक आचार्यले आयोजनाको सुरुङमार्ग र पहुँचमार्ग लगायतका संरचना निर्माणको लागि चिनियाँ ठेकेदार कम्पनीसँग १० अर्ब पाँच करोड लागतमा ठेक्का सम्झौता गर्न लागेको बताए। ‘हामीले ठेकेदार कम्पनीलाई बैंक ग्यारेन्टी लिएर ठेक्का सम्झौता गर्न अनुरोध गरिसकेका छौं।’ उनले भने, ‘अबको केही दिनभित्रै सम्झौता गरेर काम सुरु गर्नेछौं।’  

आचार्यका अनुसार सुरुङ निर्माण गर्न ३५.५ प्रतिशत कममा चिनियाँ कम्पनी छानिएको छ। यो आयोजनामा १३.१ किलोमिटर सुरुङ खन्नुपर्नेछ। आयोजनाको बाँधको लम्बाइ एक सय ४६ मिटर र उचाइ १२ मिटर हुनेछ। उक्त आयोजनाबाट तराईका आधा दर्जनभन्दा धेरै जिल्लामा एक लाख २२ हजार हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ। यो आयोजना बनेसँगै तराईका आधा दर्जनभन्दा धेरै जिल्लामा बाह्रैमास सिँचाइ गर्न सकिन्छ। यो आयोजनाको बाँधबाट २८.६२ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा निर्माण सकिएको महान्याधिवक्ताको कार्यालय र पुनर्निर्माण सकिएको सिंहदरबारस्थित पूर्वी, उत्तरी र दक्षिणी मोहडाको समेत उद्घाटन गरिसकेका छन्। सिंहदरबारको पश्चिमी मोहडाको भने अहिलेसम्म पुनर्निर्माण सकिएको छैन।  

पूर्वसचिव सिटौलाले प्रधानमन्त्री ओलीको ठेक्का सम्झौता नै नभएको आयोजनामा समेत शिलान्यास गर्न हतारिने प्रवृत्तिले गलत सन्देश दिएको बताउँछन्। ‘कुनै पनि आयोजना सम्पन्न भएपछि उद्घाटन गर्नु त राम्रै हो,’ उनले भने, ‘यहाँ त आयोजनाको ठेक्का सम्झौता नहुँदै शिलान्यास गर्ने गलत प्रवृत्तिको विकास भइरहेको छ। जुन निकै गलत र घातक देखिन्छ।’  

पूर्वसचिव सिटौलाले प्रधानमन्त्री तथा अन्य मन्त्रीमा शिलान्यास गर्न मात्रै हौसिने प्रवृत्ति कायमै रहेको बताउँछन्। ‘विगतमा मेची पुलको ४० पटकसम्म शिलान्यास गरिएको थियो,’ उनले भने, ‘हाम्रा शीर्ष नेताले पाए भने जतिपटक पनि शिलान्यास र उद्घाटन गर्न पछि पर्दैनन्।’ उनी मुलुकका शीर्ष नेताले आयोजना कार्यान्वयन तथा व्यवस्थापनमा उत्तिकै चासो दिनुपर्ने बताउँछन्।  

‘प्रधानमन्त्री तथा शीर्ष नेताले शिलान्यास र उद्घाटन गर्न जति चासो दिन्छन्, आयोजनाका बाधा र अप्ठेरा फुकाउने काममा त्योभन्दा बढी मौनता साँध्ने गर्छन्,’ उनले भने, ‘विकासे आयोजनाको शिलान्यास मात्रै होइन, ठेक्का सम्झौता अनुसार आयोजना कार्यान्वयन गर्न दबाब दिए कति राम्रो हुने थियो होला।’ प्रधानमन्त्री ओलीले नेतृत्व सम्हालेसँगै उद्घाटन गरेका आयोजनाको प्रगति पनि आशाजनक देखिँदैन।

प्रधानमन्त्री ओलीका पूर्वाधार तथा विकासविज्ञ गजेन्द्र थपलिया ओली विकास निर्माणको काम गर्नेलाई हौसला दिन र प्रोत्साहित गर्न शिलान्यास, उद्घाटन कार्यक्रममा सहभागी हुने बताउँछन्। ‘दुई दशकदेखिको मेलम्चीको पानी सुन्दरजलमा आइपुग्यो। सो कार्यक्रममा प्रधानमन्त्री आफैं उपस्थिति हुनु कुनै हिसाबले गलत होइन,’ उनले भने, ‘अहिले निर्माणको सिजन भएकाले पनि आयोजना सुरु हुँदा शिलान्यास र सकिँदा उद्घाटन गर्नु सामान्य जस्तै हो।’

प्रकाशित: २७ फाल्गुन २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App