coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जर्सीगाई र दुहुनो भैंसी पाल्न आरुघाट गाउँपालिकाको अनुदान

किसानलाई जर्सी गाई बितरण गर्दै आरुघाट गाउँपालिका । तस्बिरः नागरिक

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई पशुपालनमा अनुदान बितरण गरेको छ । व्यवसायिक रुपमा दुग्ध उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले जर्सी गाई र उन्नत जातको दुधालु भैंसी बितरण गरेको गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।  

‘आरुघाट बजारमा दुग्ध सहकारी संचालन गरेर किसानलाई व्यवसायिक पशुपालन र दुग्ध उत्पादनमा सघाउने उद्देश्यले अनुदान बितरण गरेका छौ,’ उनले भने । पशुबस्तुको अनुदान दिँदा खरिद गरेर ल्याएको प्रमाण पेश गरेपछि ५० प्रतिशतसम्म दिने गरेको उनले बताए । अनुदान लिन चाहने किसानसँग वडा मार्फत गाउँपालिकाले आवेदन माग गरेको थियो । किसानलाई रकम दिँदा दुरुपयोग हुन सक्ने आशंकामा गाउँपालिकाले अनुदान पाउने पशुबस्तु खरिद गरेर ल्याएपछि मात्रै दिने गरेको जनाएको छ ।  

गत आइतबार मात्र सातजना किसानलाई दुहुनो भैंसी बितरण गरिएको गाउँपालिका पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए । फर्म दर्ता गरेर व्यवसायिक दुग्ध उत्पादनमा लागेका १६ जनालाई यो वर्ष भैँसी बितरण गर्नै योजना गाउँपालिकाको छ । ‘अधिकतम ५० हजार रुपैयाँ सम्म किसानलाई अनुदान दिएका छौं,’ उनले भने, ‘बाँकी भैंसी केहीदिन भित्र आउनेछन् । कोभिड–१९ का कारण रोजगारी गुमाएर फर्किएकालाई लक्षित गरी पशुपालन र कृषिमा अनुदान बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  

यस अघि शुक्रवार पनि गाउँपालिकाले छ वटा जर्सी गाई किसानलाई बाँडेको थियो । ५० हजार रुपैयाँ अनुदानमा १० जना किसानलाई गाई बितरण गर्ने लक्ष्य रहेको पशु शाखाका प्रमुख खनालले बताए । ‘यसअघि ५० वटा पाडा किसानलाई प्रतिपाडा २० हजार रुपैयाँ अनुदानमा बितरण गरिसकेका छौं,’ उनले भने । सातवटा उन्नत जातको राँगा पनि बितरण गरिएको थियो । राँगामा पनि गाउँपालिकाले नगद ५० हजार रुपैयाँसम्म किसानलाई अनुदान दिएको छ । २५ वटा बोका बितरणको कार्यक्रम चालु वर्ष भित्रै गर्ने योजना रहेको पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए ।  

अनुदान बितरण गर्दा गत वर्ष गाउँपालिकाबाट लाभ लिएका, प्रदेश सरकारबाट अनुदान पाएकालाई यसपटक अनुदान नदिएको गाउँपालिकाले जनाएको छ । ‘हामीले दोहोरो अनुदान दिएका छैनौं,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले भने ‘व्यवसायिक रुपमा सक्रिय किसानलाई अनुदानमा पहिलो प्राथमिकता दिएका छौं ।’

आरुघाट बजारमा दुग्ध उत्पादन सहकारी संचालन गर्ने र किसानको दुध स्थानीय बजारमा खपत गराउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए । किसानले ५६ जना सदस्य रहेको आरुघाट कृषि तथा दुग्ध उत्पादन सहकारी गठन गरेका छन् । चैत १ गतेदेखि सहकारीले दुग्ध उत्पादन सुरु गर्ने सहकारीका अध्यक्ष पदमप्रसाद खनालले बताए । सहकारी संचालनका लागि गाउँपालिकाले चालु वर्ष १७ लाख र गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको अध्यक्ष खनालले बताए । ‘हामीले चैत १ गतेदेखि प्याकिङ सुरु गर्ने योजना बनाएका छौं,’ उनले भने । एक हजार लिटर सम्म दुध उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको र स्थानीय बजारमा बिक्री नभएको दुध अन्यत्र पठाउने योजना रहेको उनले बताए । 

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App