२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

महुरे–फोक्सिङटार सडक खण्ड अन्तर्गत महुरे–सिमपानीको बुइपा खण्ड । तस्बिर : दमन राई/ नागरिक

खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।  

जेभीको बैंक ग्यारेन्टी बसेको नेपाल बंगलादेश बैंक, भैंसेपाटी र प्राइम कमर्सियल बैंक, सोह्रखुट्टेबाट करिब साढे ६ करोड बैंक ग्यारेन्टी जफत गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए। सम्झौता अनुसारको काम नगरेकामा कारबाही स्वरूप तानिएको बैंक ग्यारेन्टीबापतको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा भएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ।  

उक्त जेभीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने सर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो। ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको डिई खकुरेलले बताए। ‘भुक्तानीलाई आधार मान्ने हो भने हालसम्मको वित्तीय प्रगति ३५ प्रतिशत मात्रै देखिन्छ। बीचमा केही काम भएको छ। त्यसकारण कामको प्रगति भने अलि बढी भएको हुन सक्छ,’ डिई खकुरेलले भने, ‘ठेकेदारले अति नै गरेपछि बैंक ग्यारेन्टी तान्नु परेको हो। यो प्रारम्भिक कारबाही हो। अब पनि काम अघि बढेन भने कालोसूचीमा राख्नेदेखि ठेक्का तोड्नेसम्मको प्रक्रिया अघि बढ्छ।’ निर्माण व्यवसायीले भने महुरे–राजापानी सिमपानी सडक खण्डमा ५५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ। भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीले जिम्मा लिएको उदयपुरतर्फको खण्डमा पनि उस्तै ढिलासुस्ती छ।  

महुरे–फोक्सिङटार सडक खण्ड अन्तर्गत राजापानी (सिमपानी भञ्ज्याङ)देखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम भने देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ। सो खण्डको काम पनि सन्तोषजनक छैन। सिमपानी–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ। ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने सर्तमा २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो।  

गुणस्तरमाथि स्थानीयको प्रश्नै–प्रश्न  

महुरे–फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा पनि आवाज उठ्ने गरेको छ। यस खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए। सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीयले २०७६ पुस २० देखि महिना दिन र फागुन ८ गतेदेखि दुई दिन सडकको काम ठप्प बनाएका थिए।  

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानीमा सब–बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिटी तथा पाखाकै बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले गत भदौमा आवाज उठाएका थिए।  

डे«न निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको सब–बेस गिटी प्रयोग गरेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत भदौ १२ गते रोक लगाएका थिए। सडकको गुणस्तरबारे जनताले पटक–पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन्।

प्रकाशित: २५ फाल्गुन २०७७ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App