७ वैशाख २०८१ शुक्रबार
अर्थ

अर्कैको होटल नाम र पान नम्बर चोरी

नमुना समाजको बेइमानी

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँच वटा टोललाई नमुना गाउँ निर्माण गर्ने भन्दै अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरको नमुना समाजसँग तीन वर्षे कार्यक्रम संझौता ग¥यो । तीन वर्षको अवधिमा नगरपालिकाले एक करोड ५० लाख र नमुना समाजले पाँच करोड रुपैयाँ नमुना गाउँ निर्माणमा खर्चिने संझौतापत्रमा उल्लेख छ । संझौतासँगै पहिलो वर्षका लागि नगरपालिकाले २० लाख रुपैयाँ पेस्की उपलब्ध गरायो ।

नमुना समाजले अघिल्लो आर्थिक वर्षको अन्त्यमा नमुना गाउँ निर्माण, भैसीपालन, होमस्टे, व्यवसायिक कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रा पसल र आलु खेती तालिम सञ्चालन गरेको भन्दै ५१ लाख ५४ हजार ७५० रुपैयाँको बिल नगरपालिकामा पेश ग¥यो । त्यसैको आधारमा नगरपालिकाले पेस्की फछ्र्यौट मात्रै गरेन चालु आर्थिक वर्षका लागि थप कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान ग¥यो ।

नमुना गाउँ कार्यक्रम सञ्चालन भएका वडाका अध्यक्षहरुलाई तालिम दिइएको बारेमा जानकारी छैन् । वडा नं. ७ का अध्यक्ष रतनबहादुर विसी छाप्रेमा नमुना गाउँ कार्यक्रम सञ्चालन गर्ने भनिएपनि अहिलेसम्म कुनै काम नभएको बताउँछन् । ‘अहिलेसम्म वडामा नमुना गाउँ निर्माणको कुनै काम भएको छैन्, मेरा वडाका कुनै पनि नागरिकहरु तालिममा सहभागी छैनन्’ वडाध्यक्ष रतनबहादुर विसीले भने, ‘कार्यक्रम भए/नभएको अनुगमन नगरेरै नगरपालिकाले भुक्तानी दिन मिल्छ ?’

नमुना समाजले नगरपालिकामा बुझाएको खर्च विवरणमा नमुना गाउँ निर्माण कार्यक्रमतर्फ १८ लाख ७७ हजार ४९० रुपैयाँ खर्च भएको उल्लेख छ । नगरपालिकामा बुझाइएको बिल भर्पाइमा स्टेशनरीमा ५८ हजार ७९०, खाना, खाजा र कोठा भाडामा ननौ लाख ८१ हजार दुई सय, यातायाततर्फ आठ लाख र पारिश्रमिकतर्फ ३७ हजार पाँच सय खर्च भएको उल्लेख गरिएको छ ।

यस्तै नमुना गाउँ सञ्चालन भएका टोलका नागरिकहरुलाई वीरेन्द्रनगर ल्याएर होटलमा भैंसीपालन, होमस्टे, कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रापसल र आलुखेती तालिम दिएको भन्दै नमुना समाजले बिल र भर्पाइ पेश गरेको छ । नमुना समाजले भैंसीपालन तालिमतर्फ तीन लाख ८८ हजार ५१० रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यस अन्र्तगत व्यानरतर्फ १९ हजार नौ सय, स्टेशनरीतर्फ १९ हजार ७१०, होटलमा खाना, बास र खाजातर्फ एक लाख ९४ हजार चार सय, सवारी साधन भाडातर्फ दश हजार, कर्मचारी तलवतर्फ ५२ हजार पाँच सय र यातायाततर्फ ९२ हजार खर्च भएको उल्लेख छ ।

यस्तै कार्यक्रम सञ्चालन भएका भनिएका टोलका नागरिकहरुलाई प्रदेश राजधानी वीरेन्द्रनगर ल्याएर होमस्टे तालिम दिइएको उल्लेख छ । होमस्टे सञ्चालनका लागि व्यानरतर्फ ३७ हजार २००, स्टेशनरीतर्फ १८ हजार २०, होटलको तीन लाख ८० हजार ३२०, सवारी साधन १० हजार, पारिश्रमिक ७५ हजार र यातायात ७८ हजार खर्च भएको उल्लेख छ । कुखुरापालन तालिमका लागि व्यानर बनाउन मात्रै ३५ हजार पाँच सय रुपैयाँ खर्च भएको देखिन्छ । यस्तै होटलको खाना, खाजा र कोठा भाडातर्फ दुई लाख ४९ हजार, पारिश्रमिक ५२ हजार पाँच सय, यातायात ६० हजार र सवारी साधन भाडावापत १० हजार खर्च भएको बिल र भर्पाइ नमुना समाजले नगरपालिकालाई उपलब्ध गराएको छ ।

करेसावारी व्यवस्थापन तालिम पनि वीरेन्द्रनगरकै होटलमा सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । करेसावारीतर्फ व्यानर र स्टेशनरीतर्फ ४१ हजार ५०, होटल खर्च तीन लाख ६० हजार ७२०, पारिश्रमिक ७५ हजार, यातायाततर्फ एक लाख ८२ हजार र गाडी रिर्जवतर्फ ४० हजार खर्च भएको उल्लेख गरिएको छ । बाख्रापालन र कुखुरापालन तालिम पनि कार्यक्रम सञ्चालन भएका टोलका सहभागीहरुलाई वीरेन्द्रनगरमा ल्याएर दिइएको प्रतिवेदनमा उल्लेख छ ।

वडा नं. १० का अध्यक्ष हरिप्रसाद ढकाल एक पटक टोल सरसफाई गर्नेबाहेक नमुना समाजले गाउँमा कुनै पनि कार्यक्रम नगरेको बताए । ‘अघिल्लो वर्ष एक पटक संस्थाका मानिसहरु आएर टोल सफा गर्न लगाएको थाहा छ,’ उनले भने, ‘त्यसपछि यहाँ केही पनि कार्यक्रम भएको छैन् ।’

होटलको नाम र पान नम्वर चोरी

नमुना समाज सुर्खेतले पञ्चपुरी नगरपालिकामा बुझाएको प्रतिवेदनमा नमुना गाउँ निर्माण, भैसीपालन, होमस्टे, व्यवसायिक कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रा पसल र आलु खेती तालिम वीरेन्द्रनगर–१२ को हरियाली धनिषा होटलमा सञ्चालन गरिएको उल्लेख छ । यहीँ होटलको नामबाट २५ लाख ३९ हजार २६५ रुपैयाँको बिल बनाएर नमुना समाजले पेस्की फछ्र्यौट र थप भुक्तानीको प्रक्रिया सुरु गरेको छ । तर, बिलमा भएको ठेगानामा होटलनै छैन् ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नगरपालिकामा पेश गरिएको होटलको नाम र पान नम्वर भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा छ । संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमले अर्काको होटलको नाम र पान नम्वरको दुरुपयोग गरेर नगरपालिकामा बिल पेश गरेको पाइएको छ । नमुना समाजले पञ्चपुरी नगरपालिकामा पेश गरेको हरियाली धनिषा होटलको पान नम्वर ६०६९७३४३४ छ । यो होटल लालसरा भण्डारीको नाममा दर्ता छ । आफ्नो नाम र पान नम्वर प्रयोग गरेर सरकारी कार्यालयबाट भुक्तानी लिएको बारे भण्डारीलाई जानकारी छैन । ‘हामीले आजसम्म बिल बनाएका छैनौं,’ भण्डारीले भनिन्, ‘कसरी मेरो होटलको नाम र पान नम्वर संस्थाले लियो थाहा छैन् ।’

नमुना समाजले पञ्चपुरी नगरपालिकामा पेश गरेको होटलको बिल ।

प्रकाशित: २४ फाल्गुन २०७७ ०४:५२ सोमबार

नमुना गाउँ निर्माण पञ्चपुरी नगरपालिका नमुना समाज सुर्खेत