१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश २ को सपनाः राप्ति–दुधौरा ‘डाइभर्सन’

राप्ती–दुधौरा डाइभर्सनको अध्ययन अगाडि बढाउनका स्थलगत अवलोकन गर्दै मन्त्री सोनलसहितको टोली । तस्बिरः नागरिक

प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल नेतृत्वको टोलीले राप्ती–दुधौरा डाइभर्सनको सम्भाब्यता अध्ययन अगाडि बढाउनका लागि स्थलगत रुपमा प्रारम्भिक अवलोकन गरेको छ । बहुउद्देश्य महत्वाकाँक्षा बोकेको यस आयोजनाको लागि साम्भाब्यता अध्ययनको कार्यप्रारम्भ गर्न चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा तय गरिए अनुसार प्रदेशका साँसद, मन्त्रालयका प्रतिनिधि र बिज्ञसहितको टोलीद्वारा अवलोकन गरिएको मन्त्री सोनलले बताए ।  

प्रदेश २ अन्तरगतको मध्य तराइका जिल्लाहरु पर्सा, बारा र रौतहटको उत्तरी भेगमा पर्ने चुरे पर्वतसृंखला फेदका प्रायः बस्तीहरुमा खाने पानीको अभाव पछिल्ला वर्षहरुमा बढ्दो छ । त्यसतै सिँचाइको संकटसमेत प्रत्येक वर्ष दोह्रिदैछ । पर्सा राष्ट्रिय निकुञ्जमा जनावरहरुका लागि खाने पानीको जलाधार नहुँदा समस्या भएको निकुञ्जका अधिकारीहरुले बताउँदै आएका छन् । पानी अभाव सम्बन्धी यि समस्याहरु निराकरण गर्नुका साँथै जलविद्युत उत्पादनको समेत महत्वाकाँक्षी उद्देश्य राप्ती–दुधौरा डाइभर्सनले परिकल्पना गरेको मन्त्री सोनलले बताए ।  

प्रदेश २ सरकारको योजना अनुसार संघीय सरकारको सहयोगमा बाग्मती प्रदेशको राप्ती खोलामा ड्याम बनाएर प्रदेश २ को दुधौरा खोलामा पानी ल्याउने योजना हो यो । ‘सम्भाब्यता अध्ययन गर्नु अगाडि नितान्त प्रारम्भीक चरणमा हामीले आज विज्ञहरुसमेत राखेर आज स्थलगत अवलोकन गरेका हौं,’ मन्त्री सोनलले नागरिकलाई भने, ‘योजना अगाडि बढाउन अहिले धेरै प्रक्रिया र चरणहरु पार गर्नुपर्ने हुन्छ, बाग्मती प्रदेशसंग पनि हामीले समन्वय गर्नुपर्ने हुन्छ । सम्भाब्यता अध्ययन हुन्छ, बिस्तृत योजना खाका तयार गर्नु पर्ने हुन्छ, त्यसपछि बजेटको ब्यवस्थानको कुरा आउछ । अहिले हामीले एउटा प्रदेश २ को लागि एउटा सपना बुनिरहेको बुझ्न सकिन्छ ।’

राप्ती–दुधौरा डाइभर्सन योजनाबाट बारा पर्साका किसानहरुलाई सिचाई तथा खानेपानीको लागि पर्याप्त मात्रामा पानीको प्रयोग गर्न सकिने उनले बताए । अन्नको भण्डार मानिने तराईको यस मध्य भेगमा सिँचाईको समस्या अन्त्यका लागी बहुउद्देश्य योजना प्रभावकारी हुने उनको भनाई छ । त्यसतै जलविद्युत उत्पादन गर्नेसमेत यसको लक्ष्य रेहको मन्त्री सोनलले जनाए ।  

उक्त विषयमा बाग्मती प्रदेशको राजधानी हेटौडामा अन्तरक्रिया समेत गरिएको छ । संघीय सांसद एकवाल मिया, प्रदेश २ का प्रदेश सभा सांसदहरु शोभा लामा, पारस साह, सुन्दर बिश्वकर्मा, बाबुलाल साह, सीता गुरुङ्ग, शारदा शंकर, बच्चा यादव, ज्वाला साह लगायत टोलीमा सहभागि थिए । जलस्रोत विज्ञ रत्नेश्वरलाल कर्ण, प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब रामअधार साह, इन्जिनियरहरु लगायतको उपस्थितीमा अन्तरक्रिया भएको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले बताए । प्रारम्भिक अवलोकनमा राप्ती–दुधौरा  डाइभर्सन बहुउद्देश्य योजना सफल हुने सम्भावना प्रथम दृष्टीमा देखिएको अन्तरक्रियाको निस्कर्ष रहेको बताइएको छ ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App