१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट २३ दिनपछि आयात सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट २३ दिनपछि चिनियाँ सामग्री आयात सुरु भएको छ। चीनमा मनाइने वसन्त चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प भएकोमा शुक्रबार बिहानदेखि आयात सुरु भएको हो।  

रसुवा भन्सार कार्यालयका अनुसार शुक्रबार बिहान ७ वटा चिनियाँ गाडीले सामग्री ल्याएका छन्। नाकाबाट शुक्रबार मेसिन, फर्निचर, जुत्ताचप्पल लगायतका सामग्री भित्रिएको छ। यसअघि दैनिक ५ वटा गाडीमा सामग्री आयात हुँदै आएकोमा अहिले चिनियाँ पक्षले संख्या बढाएर सामग्री आयात गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।  

‘रसुवागढी नाकाबाट आउँदो दिनमा चिनियाँ सामग्रीको आयात बढ्ने छ’, उनले भने, ‘शुक्रबार दुई वटा थप गाडीमा सामग्री आयात भएको छ।’ सीमा जोडिएको क्षेत्रमा कोरोना नदेखिएको कारण पनि सामग्री आयात बढ्न आवश्यक रहेको उनले बताए।  

चिनियाँ पक्षले मार्च १ बाट सामग्री आयात गर्ने तयारी गरेको थियो। तर आवश्यक तयारीका लागि केही समय लागेकाले केही ढिलो गरी सामग्री आयात भएको हो।  

गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न सकेको छैन। चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन्। केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीहरूबीच भएको छलफलले दैनिक ८ वटा गाडीमा सामग्री आउने सहमति भएको थियो।  

२०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ। कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App