२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मेलम्चीको १४ किलोमिटर सुरुङमा पानी भरियो

फाइल तस्बिर

मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी पठाएर गरिएको परीक्षणमा हालसम्म कुनै प्राविधिक समस्या नदेखिएको जनाएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची सुरुङ परीक्षणको क्रममा कुनै किसिमको प्राविधिक समस्या नदेखिएको बताए। मेलम्चीको सुरुङमा फागुन १० गते पानी पठाएर परीक्षण सुरु गरिएको थियो।

कार्यकारी निर्देशक खत्रीले २६ किलोमिटर सुरुङमध्ये हालसम्म १४ किलोमिटरमा पानी भरिएको बताए। ‘१४ किलोमिटर सुरुङमा पानी भरिइसकेको छ,’ उनले भने, ‘१८ किलोमिटसम्म पानी पुगेको छ।’ आयोजनाले फागुन २६ गतेभित्र पानी सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टमा आउने जनाएको छ।  

आयोजनाले अम्बाथानस्थित अस्थायी बाँधबाट २६० लिटर प्रतिसेकेन्डको दरले सुरुङमा पानी पठाइरहेको छ। खत्रीले सुरुङमा पानी पठाएको सिसी क्यामेरा र स्कडा मेसिनबाट प्रत्यक्ष रूपमा अनुगमन तथा निरीक्षण गरिरहेको बताए। उनका अनुसार २६ किलोमिटर सुरुङमा पानी भरिएसँगै १० दिनसम्म सुरुङमा नै पानी होल्ड गरेर प्रेसर जाँच गरिनेछ। सुरुङमा होल्ड गरिएको पानी बाहिर फ्याँक्न फेरि १० देखि १२ दिन लाग्नेछ।  

कार्यकारी निर्देशक खत्रीले अहिले अम्बाथान, ग्याल्थुम र सिन्धु अडिट क्षेत्रको सुरुङमा पानी भरिभराउ भइसकेको जानकारी दिए। उनका अनुसार पानी सुन्दरीजलमा झरेपछि ट्रिटमेन्ट प्लान्ट र पाइपलाइन परीक्षण गर्ने कि नगर्ने टुंगो नलागेको बताए। ‘ट्रिटमेन्ट प्लान्ट परीक्षण गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म निर्णय भएको छैन।’  

आयोजनाले सुरुङ परीक्षणमा समस्या नआए आगामी वैशाखदेखि मेलम्ची पानी उपत्यकाबासीको घर–घरमा पठाउने लक्ष्य राखेको छ। गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएको थियो। एक्कासि गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। एकजनाको ज्यान गएको थियो भने एकजना बेपत्ता छन्।  

एसियाली विकास बैंकको सहुलियत ऋणमा काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो चरणमा पानी ट्यांकी र थोक तथा वितरण पाइपलाइन बिछ्याउन करिब २० अर्ब रूपैयाँ खर्च भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार आरुबारी, जगडोल, खुमलटार, कीर्तिपुर, निलबाराही, बाँसबारी, पानीपोखरी, बालाजु, कटुन्जे लगायत १० ठाउँमा साढे ७४ हजार घनमिटर क्षमताका १० वटा ट्यांकीमध्ये कटुन्जेबाहेक अन्यत्र तयार भइसकेका छन्।

प्रकाशित: २० फाल्गुन २०७७ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App