१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रिन थाले

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल गोसाइँकुण्ड जान लागेका पर्यटक । तस्बिरः हिमनाथ/नागरिक

पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक भित्रिने क्रम सुरु भएको छ। जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा हिजोआज दैनिक ३० जना भन्दा बढी पर्यटक गइरहेका छन्। पर्यटकीय क्षेत्रहरूमा होटलहरू खुलेका र कोभिड–१९ को त्रास पनि कम भएपछि पर्यटकको आगमन बढ्न थालेको हो। पछिल्लो समय पर्यटक आउने क्रम बढेसँगै होटल तथा पर्यटन व्यवसायीमा उत्साह छाएको छ।  

जिल्ला भित्रिएका पर्यटकहरू गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका रसुवा होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ। पर्यटनको मुख्य सिजन सुरु भएसँगै दैनिक ३० जनाकोे हाराहारीमा पर्यटक जिल्लामा आइरहेका छन्। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण लामो समय पर्यटन तथा होटल व्यवसाय सञ्चालन हुन सकेको थिएन। सिजन सुरु भएसँगै पर्यटक आउने क्रम सुरु भएको संघका अध्यक्ष निशान गजुरेलले बताए। पछिल्लो समय विदेशीको तुलनामा नेपालीले खर्च गर्ने दर पनि बढ्दै गएको छ।  

जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ लाङटाङ, दोस्रोमा गोसाइँकुण्ड र तेस्रोमा तामाङ सम्पदा मार्ग रहेका छन्। केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रिने गरेका थिए। अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण हिउँ पर्ने समय बाहेक अन्य समयमा आउने गरेका छन्।  

सामूहिक रूपमा घुम्न मन पराउने युवाहरु न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन्। स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन्। जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको छ।  

यो समयमा धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ ऐतिहासिकस्थल रसुवागढी, कालोगाउँको रूपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी पुग्ने गर्छन्।  

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल रहेका छन्। विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रिने गरेका छन्। जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारी होटल सञ्चालनमा रहेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७७ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App