१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक

भारतीय व्यवसायीले नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन्। भारतीय वाणिज्य एवं उद्योग महासंघ (फिक्की) ले केही दिनअघि नयाँ दिल्लीमा नेपालका आर्थिक पत्रकारसँग गरेको अन्तक्र्रियामा यस्तो धारणा राखेका हुन्। त्यसका लागि उपयुक्त वातावरण सिर्जना गनुपर्ने उनीहरूले बताएका छन्।

भारतीय उद्योगी, व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्र्याक्टर तथा कन्सट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए। ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ।’ कोभिड–१९ को कारण रोजगार गुमेको बेला नेपालका ग्रामीण क्षेत्रका स्थानीयलाई सीप दिएर रोजगारी सिर्जना गर्न सघाउने उनले बताए।

अनन्थरमनका अनुसार लगानीका लागि उपयुक्त नीति र वातावरण तयार गर्नुपर्छ। भारतका डेढ सयभन्दा बढी ठूला कम्पनीले नेपालमा लगानी गरिरहेको अर्का भारतीय व्यवसायी राजन मल्होत्राले बताए। नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानी बढाइरहेको उनले बताए। ‘भारतका १५० भन्दा धेरै ठूला कम्पनीले नेपालमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘नेपालको कानुन र वातावरण विस्तारै लगानीमैत्री हुँदै गइरहेकाले लगानी वृद्धि हुन्छ।’ नेपाल–भारत व्यापार सन्धिदेखि द्विपक्षीय लगानी संरक्षण र प्रोत्साहन सम्झौता ९बिप्पा० लगायतले पनि नेपालमा भारतीय लगानी बढिरहेको बताए।

कोभिड–१९ को कारण लगानी खुम्चिए पनि भारत नेपालको प्रमुख व्यापारिक साझेदार भएकाले लगानी गर्न सकिने व्यवसायीको धारणा थियो। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारत भएकाले भारतको लगानी नेपालमा बढ्ने बताए। अधिकांश वस्तु भारतमा उत्पादन गरेर नेपालको बजारमा बिक्री गरेको स्मरण गर्दै नेपालमै उत्पादन गर्न सकिने व्यवसायीको धारणा थियो। कोभिड–१९ को कारण भारतको अर्थतन्त्रमा पनि नकारात्मक असर परेकाले वातावरण सहज हुनासाथ व्यवसायीले लगानी विस्तार गर्ने बताए।  

भारतीय व्यवसायीले निजी क्षेत्रबाट साझा रूपमा लगानी गरेर व्यापार बढाउन दुई देशका व्यवसायीले मार्गचित्र बनाउनुपर्ने बताए। व्यवसायीले नेपाल र भारतबीचको क्रसबोर्डर व्यापार नयाँ उचाइमा पुगिरहेको र अझै साझा लगानी र व्यापारमार्फत सार्क क्षेत्रमा संयुक्त फाइदा लिनुपर्ने बताए। दुई देशबीच व्यापार वृद्धिको सम्भावना भएकाले साझा रोडम्याप बनाउनुपर्ने फिक्की साउथ एसिया क्षेत्रीय परिषद्का अध्यक्ष मनोज चुगले बताए।

‘पानी र ऊर्जामा नेपाल र भारतले लगानी गर्न सक्ने सम्भावना धेरै छ,’ उनले भने, ‘यो दुवै मुलुकका व्यवसायीका लागि अवसर हो।’ अहिले विश्वमा ब्लू इकोनोमीको चर्चा पनि भइरहेको बताउँदै भारत र नेपालका लागि पनि यो एउटा महत्वपूर्ण विषय भएको चुगले बताए। दक्षिण एसियामा नेपाल र भारतबीच पहिलोपटक क्रसबोर्डर पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ निर्यात हुनु सकारात्मक पक्ष भएको धारणा राखे।

नेपालमा स्थिरता, पारदर्शिता र एकरूपता कायम भइरहने हो भने लगानी बढ्ने सिएनएच इन्ड्रस्ट्रिज इन्डिया प्रालिका विकास किकनले बताए। ‘लगानीका लागि वातावरण पनि सुध्रिँदै गएको छ,’ उनले भने, ‘सुविधा बढ्दै गयो भने लगानी बढ्दै जान्छ।’ भारतीय कम्पनीका मोटरसाइकलल नेपालमा उत्पादन सुरु भएको उनले बताए। ‘नेपालमै टिभिएस, बजाज बाइकको प्लान्ट छ,’ उनले भने, ‘बजार बढाउने हो भने अरू प्लान्ट पनि आउन सक्छन्।’  

नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने अवसर रहेको केइसी इन्टरनेसनल लिमिटेडका सार्क क्षेत्रका उपाध्यक्ष पंकज टण्डनले बताए। ‘नेपालमा विकासको सम्भावना अधिक छ,’ उनले भने, ‘भारतीय लगानीकर्तासँग मिलेर पूर्वाधारमा राम्रो काम गर्न सक्ने सम्भावना छ।’ दुई देशका लगानीकर्ताले पूर्वाधारमा जोड दिनुपर्ने धारणा उनले राखे। नेपाल र भारतको व्यापारिक सम्बन्ध धेरै पुरानो भएकाले दुई देशले आर्थिक लाभ लिनुपर्ने बिराज बिनानी ग्रुपका प्रबन्ध निर्देशक विनोद जुमेजाले बताए।

प्रकाशित: १९ फाल्गुन २०७७ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App