१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लयमा फर्कियो सार्वजनिक यातायात

फाइल तस्बिर

कोभिड–१९ ले थिल्थिलो भएको सार्वजनिक यातायात लयमा फर्किएको छ। सार्वजनिक यातायातमा यात्रुको चहलपहल मात्रै बढेको छैन, अटोमोबाइल र यातायात व्यवसाय पनि क्रमशः पुरानै लयमा फर्किन थालेको छ। लकडाउन कोरोना संक्रमण चर्किएका बेला घर र ग्यारेजमा थन्किएका सवारी साधन राजमार्गमा बाक्लै देखिन थालेका छन्। 

दुई र चारपांग्रे सवारी बिक्रेताकहाँ सवारी साधन किन्नेको संख्या बाक्लिन थालेको छ। सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गत चैत ११ देखि साउन पहिलो साता र भदौमा पुनः लकडाउन गरेको थियो। जसले गर्दा लामो दुरीका सवारी साधन भदौ मसान्तसम्म लगभग ठप्प नै रह्यो। सरकारले असोज १ गतेदेखि सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात खोल्ने निर्णय गरेसँगै बजारमा चहलपहल देखिन थालेको थियो।

अहिले सार्वजनिक यातायात लगभग पुरानै अवस्थामा आइपुगेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कोभिड–१९ पछि दुईपांग्रे र कारको बिक्री ह्वात्तै बढेको बताए। ‘कोभिडको समयमा दुईपांग्रे सवारी साधनको बिक्री ह्वात्तै बढेको छ,’ उनले भने, ‘कारको व्यापार पनि राम्रै छ।’  

अध्यक्ष दुलालले अटोमोबाइलको व्यापार पहिलाकै अवस्थामा फर्किसकेको बताए। ‘समग्रमा अटोमोबाइलको व्यापार पहिलाकै लयमा फर्किसकेको छ,’ उनले भने, ‘बस र ट्रकबाहेक अन्य सवारी साधनको व्यापार ह्वात्तै बढेको छ।’ अध्यक्ष दुलालले दुईपांग्रे सवारी साधनको बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको दाबी गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोभिड–१९ ले थला परेको सार्वजनिक यातायात विस्तारै चलायमान हुन थालेको बताए। ‘कोभिड–१९ ले १० खर्बको लगानी भएको यातायात क्षेत्र ठप्पजस्तै भएको थियो,’ उनले भने, ‘अहिले बामे सर्ने क्रममा छ।’ महासचिव सिटौलाले सहरी क्षेत्रमा सार्वजनिक सवारी साधन पूर्ण रूपमा चले पनि लामो दुरीमा ८० प्रतिशत मात्र गुडेको बताए।  

संक्रमण चर्को भएको बेला जोरबिजोर प्रणाली लागू गरिएको थियो। अहिले त्यस्तो छैन। महासचिव सिटौलाले सार्वजनिक बस तथा अन्य सवारी साधन खरिद गर्ने वातावरण विस्तारै बन्दै आएको बताए। ‘कोभिड–१९ को प्रभाव केही कम भए तापनि बदलिँदो राजनीतिक परिवेशले अझै पनि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा छन्,’ उनले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे पनि राजनीतिक अन्योल कायमै छ। त्यसैले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण बनिसकेको छैन।’  

यद्यपि नयाँ लगानीकर्ताले लगानी जुटाउँदै यातायात क्षेत्रमा क्रमशः लगानी बढाइरहेका छन्। अघिल्ला वर्षमा वार्षिक दुई हजारभन्दा धेरै ठूला सार्वजनिक बस खरिद हुने गरेकोमा चालु आर्थिक वर्षमा पाँचदेखि १० प्रतिशत मात्रै सार्वजनिक यातायातमा प्रयोग हुने बस आयात हुने अनुमान गर्छन्, महासचिव सिटौला। ‘भर्खरै अर्थतन्त्र केही मात्रामा चलायमान भएको छ,’ उनले भने, ‘पहिलाकै अवस्थामा फर्किन लामो समय लाग्नेछ।’ मुलुकभर करिब पाँच लाख सवारी साधन छन्।

प्रकाशित: १८ फाल्गुन २०७७ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App