६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

३० करोड लगानीमा पूर्वमै सबैभन्दा ठूलो मनोरञ्जन पार्क

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्क सञ्चालनमा आएको छ। ६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क अघिल्लो वर्ष चैतदेखि (२०७६) नै सञ्चालनमा ल्याउने योजना रहेपनि कोरोना महामारीले गर्दा झन्डै वर्षदिन ढिलाई भएको हो ।  

संसारका सबै ठूलो शहरमा मनोरञ्जन पार्क हुन्छन् । विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । ती पार्क कँही सरकारले बनाएको हुन्छ त कही निजी क्षेत्रको लगानीमा । नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन् । ‘जसले गर्दा परिवारसँग रमाइलोसँँग विताउन  वा विदाको दिन परिवारसँग घुम्न जाउँ भन्यो भने कुनै उपयुक्त ठाउँ नभएको ठानेर हाम्रो टीमले इपी ल्याण्ड एण्ड वाटर पार्क निर्माण गरेको हो,’ पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले शुक्रबार आयोजित पत्रकार भेटघाटमा भने । उनका अनुसार पार्क सञ्चालनले गर्दा इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ । यहाँबाट बालबालिका, तन्नेरीदेखि पारिवारिक मज्जा लिन पाउने भएका छन् ।  

पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत तथा पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योगवाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको छ ।  

यहाँ पूर्वको सवैभन्दा ठूलो वाटर पार्क रहेको छ । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन् । एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन् । पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँछ ।  

पार्कमा  जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो । यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ ।

पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ ।  

पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा ल्याइने छ। यसमा हिउँबाट आनन्द लिन सकिनेछ । ‘नेपालमा स्नोपार्क अहिलेसम्म छैन, भारतका केही स्थानमा न्यून छन्,’ पार्क सञ्चालक जगत बस्नेतले पत्रकारसमक्ष भने, ‘स्नोपार्क सञ्चालन गर्न अब दुई महिना जति लाग्छ ।’ उनले स्नोपार्क सञ्चालनमा आएपछि ‘पूर्व आउँ हिउँ खेलौं, इटहरी आउँ हिउँ खेलौ’ भन्ने नारा नै हुनेछ । स्नोपार्कका लागि ३५ हजार लिटरको टंकी हुनेछ । टंकीको पानीलाई मेसिनले डाइरेक हिउँ बनाएर भित्र फाल्ने अनि हिउँ भूईंमा जम्ने हुँदा त्यसबाट चिप्लेटी खेलेर आनन्द लिइने बस्नेतले जनाए ।  

पार्कभित्र रेस्टुरेन्ट सञ्चालनमा आउने छन् । एउटा बार्बे क्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ । त्यस्तै फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि हुनेछ ।  

पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य छ । पार्कको क्षमता भने ५ हजार मानिस अटाउने छ । पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाएका छन् । पार्क सञ्चालनमा आएसँगै अब आन्तरिक तथा बाह्य पर्यटकको पूर्वको गन्तब्य हुने सञ्चालक ज्ञानविक्रम साहले बताए । पार्कमा मनोरञ्जन गर्नेका लागि स्नोपार्क र जिप लाइनबाहेक विद्यार्थीका लागि ६५० र अरुका लागि ७५० रुपैयाँ शुल्क तोकिएको छ।  

यस पार्कको विधिवत उद्घाटन भने फागुन १७ गते हुनेछ । उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालद्वारा गरिनेछ ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App