१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरोना त्रास घटेपछि कर्णालीमा बढ्दै पर्यटकको चहलपहल

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण सुनसान भएका कर्णालीका पर्यटकीय क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ। कोरोना खोपसँगै कोरोना भाइरस संक्रमणको त्रास घट्दै गएपछि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको हो।

कोरोना भाइरसका कारण नेपाल सरकारको नेपाल भ्रमण वर्षसमेत स्थगित भएको थियो। कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेका काँक्रेबिहार, बुलबुले, पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको पाताला दरबार, गोठीकाँडा लगायत क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यहाँका पर्यटकीय क्षेत्र बन्द गरिएका थिए। सुनसान काँक्रेबिहार क्षेत्रमा अहिले आवातजावत बढेको छ। दैनिक सयभन्दा बढी सर्वसाधारण यहाँसम्म पुग्छन्। शनिबार र सार्वजनिक बिदाका दिन अरू समयभन्दा चार गुणा बढी पर्यटक आउँछन्, जसमा करिब पाँच प्रतिशत जति विदेशी हुन्छन्। ‘दैनिक यहाँ आउने मान्छेको संख्या बढ्दो छ,’ वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले भने, ‘कोरोना भाइरसले ठप्प पारेको पर्यटन क्षेत्र पुनः पहिलाकै अवस्थामा फर्किने क्रममा छ।’ अर्काे प्रमुख गन्तव्य बुलबुलेमा पनि पर्यटकको उस्तै बाक्लो उपस्थिति देखिन्छ।

पर्यटक संख्या बढेसँगै बुलबुले उद्यानको आम्दानीसमेत वृद्धि भएको छ। योसँगै सल्यानको कुपिण्डे ताल, छायाँ क्षेत्र, छत्रेश्वरी मन्दिर, खैराबाङ मन्दिर, दैलेखको गुराँसे, महाबु, मुगुको रारा लगायत क्षेत्र, डोल्पा, रुकुम पश्चिम, जुम्ला लगायत कर्णालीका १० जिल्लाका पर्यटकीय क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकको बढ्दो चहलपहल छ। कोरोना त्रासका कारण घरभित्रै रहेका सर्वसाधारण अहिले घुमघाम गर्न निस्कने गरेका छन्।  

लामो समयसम्म घरभित्रै हुँदा कोरोनापछि पर्यटकीय क्षेत्र ठप्प बन्यो। बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्नै सकेनन्। लामो समयको बन्दाबन्दीले घरमै रहेका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र रोजाइमा पर्न थालेको छ। त्यसैले पनि अहिले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको छ। कोरोना भाइरसले थलिएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले राहत दिएको छ। कर्णालीमा नयाँ गन्तव्यको पहिचान र प्रचारसमेत हुन थालेको छ। यहाँका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि आर्थिक क्षेत्र पनि चलायमान हुन थालेको छ। रोजगारी गुमाएर बेकामे भएका पर्यटन कर्मचारीले रोजगारी पाउन थालेका छन्। अहिले कर्णालीको प्रमुख पर्यटकीय क्षेत्रमा सहुलियत ‘प्याकेज’ समेत आउन थालेका छन्। ‘कोरोना भाइरसले उकुसमुकुस भएका मान्छे यतिबेला घुम्न चाहन्छन्,’ पर्यटन व्यवसायी मनराज देवकोटाले भने, ‘कर्णालीका पर्यटकीय क्षेत्रमा सहज यात्रा र त्यहाँको व्यवस्थापनका लागि हामीले प्याकेज ल्याएका छौं।’

सुन्दरता र मनोरम दृश्यले बलेको कर्णालीमा भौगालिक विकटताले गर्दा अपेक्षाकृत बाह्य पर्यटक भने भित्रिन सकेका छैनन्। पर्यटन व्यवसायी र सरकारको संयुक्त सहुलियत प्याकेजजस्ता कार्यक्रमले कर्णालीका पर्यटकीय क्षेत्रमा बाह्य पर्यटकको रोजाइ पर्ने स्थानीयको भनाइ छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App