२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निजी स्तरबाट नेपालगन्ज–पोखरा सिधा ‘चार्टर’ उडान

चार्टर उडानमार्फत शुक्रबार पोखरा पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, ब्यवसायी लगायत । तस्बिर : फेसबुकबाट

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सरकारले बेवास्ता गरेपछि निजी स्तरबाट पहल सुरु गरिएको छ। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरको पहलमा शुक्रबारबाट ‘चार्टर’ उडान सुरु गरिएको हो। सिता एयरको १८ सिटे जहाज चार्टर गरेर नेपालगन्ज–पोखरा सिधा उडान सुरु गरिएको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।  

उनका अनुसार पहिलो चार्टर उडानबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणासहित ब्यवसायी सम्मिलत एक टोली पोखरा पुगेको छ। सोही जहाजमार्फत पोखरा महानगरपालिकाका मेयर मानबहादुर बिसीसहित ब्यवसायीको टोली शुक्रबार नै नेपालगन्ज आइपुगेको छ। नेपालगन्ज–पोखरा रुटमा उड्ने यात्रुहरु पर्याप्त मात्रामा भएपनि राज्यले नियमित उडानको ब्यवस्था नगरिदिँदा निजी स्तरबाट चार्टर उडान सुरु गरिएको अध्यक्ष सिग्देल बताउँछन्।  

‘नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्‍यो भनेर विगत तीन÷चार वर्षदेखि राजनीतिज्ञ, विमान कम्पनी र पर्यटन ब्यवसायीले बोल्दै आएको कुरा हो, तर बोलेको कुरा ब्यवहार लागु भएन,’ उनले नागरिकसँग टेलिफोनमा भने ‘नाटाले आफ्नै पहलमा सिता एयरसँग छलफल गरी सहमती गर्‍यो, त्यसपछि चार्टर उडान सुरु गरिएको हो।’ सिता एयर र नाटा बाँके च्याप्टरबीच भएको सहमती अनुसार परीक्षण उडानका रुपमा एक महिनामा कुल १६ वटा चार्टर फ्लाइट हुनेछन्, त्यसपछि बजारको रेस्पोन्स कस्तो हुन्छ, त्यही अनुसार रणनीति बनाएर अगाडी बढ्छौं,’ सिग्देलले थपे।  

नेपालगन्ज–पोखरा चार्टर उडानका लागि यात्रुसँग एकतर्फी भाडा प्रतिब्यक्ति ५ हजार रुपैयाँ लिइने नाटाले जनाएको छ। नाटाको तर्फबाट गरिएको चार्टर उडान एक महिनासम्म चलिसकेपछि राज्यलाई मनोवैज्ञानिक रुपमा दवाव पर्ने र उक्त रुटमा नियमित उडान हुने ट्राभल ब्यवसायीको विश्वास छ।

नेपालगन्ज–पोखरा सिधा हवाई उडानका लागि विगतका वर्षमा पनि जनप्रतिनिधि, पर्यटन ब्यवसायी, ट्राभल एजेन्सी लगायतले पहल थालेका थिए। तर, सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा सफल भएन। बुद्ध र यति एयरले दुई वर्षअघि नेपालगन्ज–पोखरा उडान गर्ने तयारी गरेपनि विभिन्न कारण देखाउँदै अन्तिममा आएर स्थगित गरेका थिए। त्यतिबेला बुद्ध एयरले सानो जहाजबाट पोखराका लागि प्रतिब्यक्ति भाडा ७ हजार ९ सय रुपैयाँ तोकेको थियो।  

पटक–पटक थालिएको पहलले सार्थकता नपाइरहेको अवस्थामा निजी स्तरबाट ट्राभल ब्यवसायीको संगठनले थालेको प्रयास दिर्घकालिन हुने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन्। ‘यो एकदमै राम्रो सुरुवात हो, राज्यले अब नियमित उडानको ब्यवस्था मिलाउनुपर्छ,’ उनले भने ‘पोखरा जान चाहने भारतीय पर्यटक नेपालगन्जमा भरिभराउ हुने, तर सिधा हवाई उडान नहुँदा घुमाउरो हिसाबले उनीहरु काठमाडौं हुँदै पोखरा पुग्नुपर्ने बाध्यता छ, नेपालगन्ज–पोखरा सिधा उडान भएपछि सहज हुनेछ।’  

रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्ज लगायत पश्चिम क्षेत्रका पर्यटकीय स्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन्। कतिपय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटकहरु सिधै नेपालगन्ज आउन चाहन्छन्। त्यसका लागि सिधा हवाई उडानको ब्यवस्था छैन। सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक मार पर्ने र झण्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको यहाँका ब्यवसायी बताउँछन्।  

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सुरुदेखि नै पहल गर्दै आएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा चार्टर उडान सकारात्मक कामको सुरुवात भएको बताउँछन्। होटल ब्यवसायमा समेत लगानी गरेका उनी भन्छन्, ‘नेपालगन्ज पर्यटकीय हब भएका कारण नेपालगन्ज–पोखरा सिधा हवाई उडान हुन जरुरी छ, अहिलेलाई नाटाले चार्टर उडानको सुरुवात गरेपनि यसलाई विमान कम्पनी र राज्यको तर्फबाट नियमित उडान थालिनुपर्छ।’ चार्टर उडानका लागि उपमहानगरपालिकाले पनि केही टिकटमा आर्थिक सहयोग गर्ने योजना रहेको बताए।

प्रकाशित: ८ फाल्गुन २०७७ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App