८ वैशाख २०८१ शनिबार
अर्थ

भारतको अनुदानमा बन्ने स्कुलको शिलान्यास

भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने काठमाडौंको कागेश्वरीस्थित कान्तिभैरव माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

कागेश्वरी नगरपालिका–५, थलीमा पुनर्निर्माण हुने नमूना विद्यालय भारतीय अनुदानमा पुनर्निर्माण हुने सबैभन्दा ठूलो बजेटको हो। उक्त भवन बनाउन भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रूपैयाँमा ठेक्का सम्झौता भएको छ।  

शिलान्यासपछि मन्तव्य राख्दै सिइओ ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनको नमूना भवनमा हुने पठनपाठन शैक्षिक गुणस्तरमा समेत नमूना हुने विश्वास व्यक्त गरे।  

जदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको चर्चा गर्दै यो भवन पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने बताइन्। फर्निचर तथा प्रयोगशाला सुविधासहित बन्ने पाँच तले भवनमा ६० वटा कोठा हुनेछन्। भवनमा क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा ब्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्च पनि निर्माण हुनेछ। भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन्।  

विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन्। ठेकेदार कम्पनीले योगी–हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको छ। निर्माण माघ २६ गतेबाट सुरु भएको छ।  

भारत सरकारले विद्यालय पुनर्निर्माणमा पाँच करोड अमेरिकी डलर (बिहीबारको विनिमय दर अनुसार करिब पाँच अर्ब ८० करोड रूपैयाँ) सहयोग गरेको छ। अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचना निर्माण हुनेछन्। तीमध्ये आठवटा सम्पन्न भइसकेका र ५६ वटा पुनर्निर्माणको विभिन्न चरणमा रहेको बताइएको छ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App