७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिएलाई एमबिए पढ्न एलबिइएफ र एक्यानबीच समझदारी

लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)बीच शैक्षिक सहकार्यका लागि शुक्रबार एक समझदारी भएको छ। एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।  

समझदारी अनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसन अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजमा सञ्चालित मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीको ‘एमबिए’ कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यलाई ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ। छात्रवृत्ति एक्यानको सिफारिसको आधारमा उपलब्ध गराइने समझदारी पत्र हस्ताक्षर समारोहमा जानकारी दिइयो।  

उक्त एमबिए कार्यक्रम वर्किङ प्रोफेसनलका लागि विकेन्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ। विकेन्ड मोडमा विद्यार्थीले शुक्रबार र शनिबार मात्रै कलेज गए हुन्छ। शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजेसम्म कक्षा सञ्चालन हुने बताइएको छ। शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ।  

लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभर्सिटीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुने पनि सो अवसरमा जानकारी दिइयो।  

लर्डबुद्ध एजुकेसन फाउन्डेसन एसिया प्यासिफिक युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो। लर्डबुद्धबाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेको अध्यक्ष जालानले बताए। नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले एलबिइएफलाई यी कार्यक्रमहरू सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ।

प्रकाशित: २ फाल्गुन २०७७ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App