१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

यतीले चैत १५ देखि पोखरा–सिमरा उडान गर्ने

पोखरालाई हवाइ सञ्जालमार्फत तराई जोड्ने तयारी

पोखरा विमानस्थलमा यतीको जेटस्ट्रिम जहाज । फाइल तस्बिरः नागरिक

पोखरा–सिमरा रुटमा आगामि चैत १५ देखि यती एयरलाइन्सले उडान गर्ने भएको छ । पोखरामा विहीबार भएको छलफलमा साताको तीनदिन पोखरा–सिमरा उडानको योजना तय गरिएको हो ।  

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार चैत १५ देखि हरेक आइतबार, बुधबार र शुक्रबार पोखरा–सिमरा–पोखरा रुटमा हवाई उडान संचालन हुनेछ । ‘हामीले यसअघि नै पोखरा–सिमरा–पोखरा उडानको योजना बनाएका थियौं । तर, कोरोना भाइरस संक्रमणले गर्दा उडान सुरु हुनै पाएन,’ बर्ताैलाले भने, ‘लामो समयदेखिको योजना चैत १५ देखि पुरा गर्दैछौ । आन्तरिक र वीरगञ्ज नाका हुँदै भित्रिने भारतीय पर्यटकको सहजताको लागि पोखरा–सिमरा रुटमा उडान सुरु गर्दैछौ ।’  

सुरुमा साताको तीनदिन उडान हुने भएपनि यात्रु संख्या बढ्दै गएमा सातैदिन पनि उडान गर्न सकिने उनले बताए । ‘यात्रुको मागको आधारमा उडान बढाउने अवस्था आउँछ,’ उनले भने । पोखरा–सिमरा उडान गर्दा भारतीय र आन्तरिक यात्रुले प्रतिव्यक्ति एकतर्फी ४५ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ । पोखरा–सिमराको हवाई उडान समय ३० मिनेटको हुनेछ । यतीको २९ सिट क्षमताको जेटस्ट्रिम–४१ जहाजबाट उडान गर्ने योजना रहेको छ । तराई क्षेत्रको विमानस्थल भएकोले गर्मी हुँदा जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने उनले बताए । २९ सिट क्षमताको जहाजले २२ जनासम्म मात्र यात्रु बोक्न सक्ने बर्तौलाको भनाई छ ।

‘वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटक दिउँसो मात्र सिमरा आइपुग्ने र पोखराबाट बाहिरिन पनि त्यही समय मिलाउनुपर्ने हुँदा मध्यान्हपछि मात्र उडान हुनेछ,’ बर्ताैलाले भने, ‘दिउँसोको समममा सिमरा विमानस्थलको तापक्रम बढ्ने हुँदा जहाजले पूर्ण यात्रु क्षमतामा उडान गर्न सक्दैन । सिमरा विमानस्थलको धावनमार्ग छोटो भएकोले पनि समस्या भएको हो ।’ हालका लागि नेपाली र भारतीय यात्रुलाई एकै भाडादर तय गरेको उनले बताए । यतीले यसअघि पोखराबाट चितवनको भरतपुर र भैरहवासम्म पनि उडान गरेको थियो । कोरोना भाइरस संक्रमणसँगै रोकिएको भैरहवा र भरतपुरको उडानलाई पनि पुन सुचारु गर्ने योजना रहेको यती एयरलाइन्सले बताए ।  

‘कोरोना संक्रमणसँगै रोकिएको नेपाल भारत सिमा खुलेको र अब भारतीय पाहुना आउन सक्ने भएकोले पनि पर्यटनमार्फत मुख्य गन्तव्य जोड्न खोजेका हौ,’ उनले भने, ‘आन्तरिक पर्यटकको चहलपहल बढाउन पनि यसले सघाउने अपेक्षा छ । तराईका गन्तव्य र पोखरालाई जोड्दा भारतीय पाहुनाको आगमन पनि बढाउन सकिन्छ ।’ लामो समय सुस्ताएको पर्यटन क्षेत्र चलायमान बनाउनका लागि पोखरालाई विभिन्न गन्तव्यसम्म जोड्नेगरि उडान गर्न थालेको उनले बताए ।  

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका सचिव डा महेश्वर ढकाल पनि कोरोनाबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनमार्फत चलायमान बनाउनका लागि पोखरादेखि तराईका विभिन्न गन्तव्यका विमानस्थलसम्म हवाई उडानको तयारी गरेको बताउँछन् । त्यसको सुरुवात सिमराबाट सुरु हुने उनले बताए । ‘चैत १५ देखि पोखरा–सिमरा उडान थाल्ने हो । त्यसपछि तराईका अरु विमास्थलसम्म पनि पहुँच बढाउने योजना छ,’ ढकालले भने, ‘तराईलाई पोखरासँग हवाई सञ्जालमार्फत जोड्न सक्ने हो भने आन्तरिक मात्र नभई भारतीय पर्यटकलाई पनि पोखरा ल्याउन सकिन्छ । किनकी तराई क्षेत्रमा भारतीय नाका नजिकै विमानस्थल छन् । ती नाका हुँदै भारतीय पर्यटक पनि पोखरा आउँछन् ।’ सिमरापछि जनकपुर, नेपालगञ्ज, धनगढी, बिराटनगरसम्म पनि उडान सुरु गर्ने गराउने योजना उनले सुनाए । अहिले पोखराबाट भैरहवा र भरतपुरसम्म पनि उडान भईरहेका छन । पोखराबाट भैरहवा र भरतपुरसम्म बुद्ध एयरले उडान गरिरहेको छ भने पोखरा–बिराटनगर उडान भने कोरोना संक्रमणसँगै रोकिएको छ ।  

पोखरा–जोमसोम पनि उडान थाल्ने  

कोरोना भाइरस संक्रमणको त्रासले लकडाउन गरिएसँगै पोखरा–जोमसोम हवाई उडान पनि रोकिएकोमा मार्च १ देखि सुचारु गर्ने तयारी भएको छ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले पोखरा–जोमसोम रुटमा उडानको तयारी थालेको हो । कोरोना संक्रमणसँगै मुक्तिनाथ मन्दिर पनि बन्द हुँदा पर्यटक जान पाएका थिएनन । अहिले मन्दिर पनि खुलेको र आउजाउ पनि सहज भएकोले उडान थाल्ने तयारी गरेको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । 

प्रकाशित: २९ माघ २०७७ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App