१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

जलविद्युत् आयोजनाका सामग्री तिब्बतमै रोकिए

माथिल्लाे सान्जेन जलविद्युत् आयोजनाकाे पावर हाउस। तस्बिर: हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट आयात सहज नहुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाका सामग्री उतै रोकिएका छन्। कोभिड–१९ का कारण चीनले दैनिक पाँचवटा चिनियाँ गाडीलाई मात्र नेपालतर्फको सामान ओसार्न दिएको छ। चिनियाँ गाडीले दैनिकजसो फलफुल, रेडिमेड कपडा, जुत्ताचप्पल ल्याउँछन्। आयोजनाका सामग्री प्राथमिकतामा परेका छैनन्। जसका कारण एक वर्ष अगाडि नै आउनुपर्ने सामग्री चीनको विभिन्न स्थानमा रोकिएका छन्।

इलेक्ट्रोमेकानिकलको धेरैजसो सामग्री चीनबाट आउने र ती सामग्री उतै रोकिँदा समस्या भएको आयोजना प्रमुख सुदनसिंह महतले बताए। ‘भारतबाट आउनुपर्ने सामग्री केही आइसकेको छ। केही आउने क्रममा छ,’ उनले भने, ‘तर चीनबाट आउनुपर्ने सामग्री लामो समयदेखि उतै रोकिएको छ।’

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको जडान अझै सुरु हुन सकेको छैन। उपकरण जडानको काम पनि चिनियाँ टोलीले नै गर्नेछ। आयोजना प्रमुख महतका अनुसार आउँदो मार्चदेखि चिनियाँ टोली आउने छ। सन् २०२० मा नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार एक वर्ष बितिसक्दा पनि निर्माणस्थलमा आइपुगेका छैनन्।

आयोजनाका अनुसार २०२० फेब्रुअरी १ बाट इस्टलेसनको काम सुरु गर्ने तयारी थियो। यसका लागि चिनियाँ समूह आउने तयारीमा थिए। अन्य काम निरन्तर रूपमा चलिरहेको भए पनि उपकरण जडानको काम अघि बढाउन नसक्दा समस्या आएको आयोजना प्रमुख महतले बताए।

आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पोखरी निर्माणको काम गरिरहेको छ। आयोजना निर्माणका लागि हालसम्म तीनपटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्सट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १ सय३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नहुने देखिएको छ। जसको कारण आयोजनाले कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी गरेको छ। ११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित विद्युत् हबमा नै जोडिने छ।

प्रकाशित: २९ माघ २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App