बार कोड 'युनिक आइडेन्टिफाइन्स नम्बर' (युआइएन) सहितको कोड हो। यी कोडहरु कुनै पनि वस्तु तथा उत्पादनको बाहिरी भागमा टाँसिएका स–साना धर्सा वा वर्गाकार मेसिनको सहायताले पढ्न मिल्ने (मेसिन रिडएबल) अंग्रेजी अंक सहितका संकेत हुन्। यस्तो कोडले कुनै पनि वस्तु उत्पादन भएको स्थान देश र स्थानीय ठेगाना, अर्डर नम्बर, प्याक गरिएका सामान, बक्सभित्रका वस्तुको परिमाण र पुर्याउनुपर्ने गन्तव्यबारे सूचना राख्न सक्छ। विशेष प्रकारको 'स्क्यानर वा रिडर'को सहायताले बारकोडमा भएका सूचनालाई व्याख्या गर्न सक्ने सफ्टवेर समावेश गरिएका कम्प्यूटर वा स्मार्टफोनको सहायताले हेर्न वा पढ्न मिल्छ।
तर, नेपालमा हालसम्म पनि यी कोडहरुको दर्ता गर्ने आधिकारिक निकाय नभएका कारण बार वा क्युआर कोड प्रयोग सही रुपमा हुन सकेको छैन। परिणाम नेपालमै उत्पादन भएका वस्तुबारे अन्तर्राष्ट्रिय बजारमा गलत सूचना प्रवाह भइरहेको छ। राखिएका बारकोडले पनि नवीकरण नगरिएका कारण काम गर्दैनन्। प्याकेटको 'सो' देखाउन मात्रै बारकोड प्रयोग भइरहेको छ।
नेपालमा उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरका उत्पादनमा प्रयोग भइरहेका यी बारकोडहरु स्क्यानर वा रिडरको सहायताले अध्ययन गर्दा नेपाली वस्तुको उत्पादन भएको देश भारत उल्लेख गरिएको देख्न सकिन्छ।
त्यस्ता नेपाली उत्पादनमा विदेश निर्यात हुने चाऊचाऊदेखि तयारी खाद्य पदार्थ, चुरोट, तयारी पोशाक, गलैंचासम्म छन्। यी उत्पादनको बाहिरी प्याकेटमा प्रयोग गरिएका बारकोडलेे अन्य सबै सूचना सही दिए पनि सबैभन्दा अन्त्यमा राखिने वस्तुको वास्तविक उत्पादन भएको देशको नाममा 'नेपाल' हुनुपर्नेमा छिमेकी देश 'भारत' लेखिएको हुन्छ। हाल नेपालमा भारतमा प्रयोग गरिने सुरुका तीन अंक ८९० हुने बार कोड प्रयोग भइरहेका छन्।
नेपालमा बार र क्युआर कोड दर्ता गर्ने आधिकारिक निकाय नभएकाले समस्या भएको बार कोड नेपाल इन्कका हेमेश्वर मल्लले बताए। उनका अनुसार बेल्जियमकोे ब्रसेल्सस्थित जिएसवान नामकोे गैरनाफामुखी संस्थाले यस्तो बारकोडको आधिकारिक दर्ता गर्ने गरेको छ। विश्वभरका करिब एक सय राष्ट्रमा रहेका उसका सदस्य संस्थाले ती देशका उत्पादनका लागि बार कोड उपलब्ध गराउँछन्।
'तर नेपालमा जिएसवानको कुनै पनि आधिकारिक सदस्य संस्था छैनन्,' उनले भने, 'भारतमा जिएसवानको सदस्य संस्था भएका कारण नेपाली उत्पादनले पनि भारतबाटै बार कोड दर्ता गर्ने गरेका छन्। यही बाध्यता कारण नेपाली उत्पादनको ठेगानामा 'नेपाल' ठाउँमा 'भारत' उल्लेख भएर आउँछ।' यसले नेपाली उत्पादनबारे विश्व बजारमा गलत सूचना गइरहेको उनले बताए। 'यो हामी सबैका लागि चासोको विषय हो' मल्लले भने, 'यसले गर्दा हाम्रो देशका वस्तु र सेवा भारतमा उत्पादन भएको भन्ने गलत सन्देश गइरहेको छ।' उनको कम्पनीले नेपाली उत्पादनका लागि आन्तरिक रुपमा प्रयोग गर्ने बार कोड मात्रै उपलब्ध गराउने गरेको छ। 'हामीले उपलब्ध गराउने कोडले वस्तु र उत्पादनको भण्डारण र बिक्री गर्दा रेकर्ड राख्न र मूल्यको लगत राख्नमात्रै सहयोग पुर्याउँछन्,' उनले भने।
जिएसवानको सदस्य बनेर बार कोड दर्ता गर्ने आधिकारिक निकाय बन्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत अन्य उद्योग र उत्पादनसँग सम्बन्धित संस्थाको समेत प्रतिनिधित्व हुने गरी न्यूनतम ७ जना सदस्य सहितको गैरनाफामुखी संस्था स्थापना गर्नुपर्ने हुन्छ। उक्त संस्थाले ब्रसेल्सस्थित जिएसवानको मुख्यालयमा सदस्यताको लागि निवेदन दिनुपर्ने हुन्छ। जिएसवानले आवेदन दिने संस्थाको विभिन्न पक्षको अध्ययन गरेपछिमात्रै आफ्नो सदस्यता प्रदान गर्छ। जिएसवानको आधिकारिक सदस्य बनेपछि मात्रै निश्चित दस्तुर लिएर सदस्य संस्थाले बारकोड प्रदान गर्छ। एकपटक दर्ता गरेपछि वार्षिक रुपमा कोड नविकरण गर्नुपर्छ। नवीकरण शुल्क दर्ता शुल्कभन्दा न्यून हुन्छ। हाल भारतमा दर्ता गरिएका नेपाली उत्पादनका बारकोडका लागि ४० हजार भारतीय रुपैयाँभन्दा धेरै शुल्क तिर्नु पर्छ।
बारकोड कार्यान्वयन प्रभावकारी बनाउनेतर्फ मुख्य सरोकार राख्नुपर्ने सरकारी निकाय व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले पनि बार कोड लागू गर्ने सम्बन्धमा ठोस काम गरेको छैन। केही वर्षअघि मल्लले उद्योग वाणिज्य महासंघसहितका विभिन्न संस्थासँग मिलेर बार कोड दार्ता गर्ने संस्था स्थापनाको पहल गरे पनि त्यसले हालसम्म सफलता पाउन सकेको छैन। महासंघले यो विषयमा केही प्रक्रियागत काम गरे पनि त्यो पूरा भएको छैन। महासंघका उपाध्यक्ष पशुपति मुरारकाले संस्था स्थापना गर्ने विषयमा काम भइरहेको बताए। 'महासंघले स्थापना गर्ने संस्थालाई उनीहरुले सदस्यता दिने सहमति गरिसकेका छन्,' उनले नागरिकसँग भने, 'अब छिट्टै नेपालबाटै बार कोड दर्ता प्रक्रिया सुरु हुनेछ।' तर कहिलेबाट भन्ने प्रश्नमा भने उनले ठ्याक्कै मिति भने तोकेनन्।
बार कोड जस्तै क्यूआर कोड
बार कोडको लम्बाई धेरै हुन थालेका कारण त्यसलाई 'रिडर'ले समेत पढ्न नसक्ने भएपछि त्यसको विकल्पमा ससाना वर्गाकार संकेतसहितको 'क्युआर' अर्थात 'क्विक रेस्पोन्स कोड' को विकास गरिएको हो। यसको काम पनि बार कोडको जस्तै हो। यसलाई पनि कम्प्युटर र स्मार्टफोनको सहायताले हेर्न वा पढ्न मिल्छ। यस्तो कोडमा कुनै पनि उत्पादनबारे सामान्यदेखि विशेष जानकारीसम्म समावेश गर्न सकिन्छ। पछिल्लो समय क्युआर कोड उत्पादनका वेबसाइटमा सोझै पुग्नका लागि पनि प्रयोगमा ल्याइन्छ।
क्युआर कोडमा उत्पादनको अर्डर नम्बर, प्याक गरिएका सामान, उत्पादन भएको देश र स्थानीय ठेगाना, बक्सभित्रका वस्तुको परिमाण र पुर्याउनुपर्ने गन्तव्यबारे सूचना राख्न सक्छ। यसलाई 'इलेक्ट्रिोनिक डाटा इन्टरचेन्ज' सञ्जालमा आबद्ध गरी बाकस कुन कुन समयमा कहाँ पुग्यो भनेरसमेत जानकारी लिन सकिन्छ। बाकस गन्तव्यमा पुगेपछि यो कोडलाई रिडरले स्क्यान गरेर कहाँबाट, कहिले, कति समयमा आइपुगेको भन्ने पत्ता लगाउन सक्छ। बारकोड रिडर वा स्क्यानर धेरै महँगो पनि छैन। यसले गर्ने गल्ती एकदमै न्यून हुन्छ।
जिएसवानले खुद्रा, स्वास्थ्यसँग सम्बन्धित वस्तु र उत्पादन, यातायात र लजिस्टिक्स, उपभोग्य विद्युतीय सामग्रीसहित अन्य धेरै वस्तु र सेवाका लागि बार र क्युआर कोड दिने गरेको छ। उसले इएएन/युपिसी, जिएसवान डाटाबार, जिएसवान–१२८, आइटिएफ–१४, जिएसवान डाटा म्याटि्रक्स, जिएसवान क्युआर लगायतका कोड पनि दिन्छ।
प्रकाशित: १५ असार २०७० २१:४० शनिबार