११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहीदलखन गाउँपालिकाका विवादित ठेक्का रद्ध

सहीद लखन गाउँपालिका ।

गोरखाको सहीदलखन गाउँपालिकाले नौवटा ठेक्का रद्ध गरेको छ । गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते नौवटा आयोजनाको ठेक्का सार्वजनिक आव्हान गरेको भएपनि रद्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले बताए ।

‘सबै प्याकेजमा सार्वजनिक खरिद ऐनको दफा २६ उपदफा ६ ले तोके बमोजिम न्यूनतम बोलपत्र मात्र पेस भएको पाइएको र प्रशस्त प्रतिष्पर्धा हुन नपाएकाले ठेक्का रद्ध गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत आलेले भने ।

यसअघि उक्त गाउँपालिकाले आह्वान गरेको २० लाख रुपैयाँभन्दा मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्कामा मिलेमतो भएको समाचार प्रकाशित गरेको थियो । यसअघि १० लाख रुपैयाँको विकास निर्माणका कामको पनि ‘ईलेक्ट्रोनिक विडिङ सिस्टम’ (इविडिङ) गरेको सहीदलखन गाउँपालिकाले अहिले ४३ लाख रुपैयाँ रुपैयाँसम्मको ठेक्का पनि बिना इविडिङ ठेक्का दिने अन्तिम तयारी गरेको समाचार प्रकाशन भएपछि गाउँ कार्यपालिकाको बैठकले ठेक्का रद्ध गरेको हो ।  

कमिसनको लोभमा इविडिङ नगरेको विषय बिवादित बनेपछि ठेक्का रद्ध भएको हो । पुस ९ गते ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँच वटा प्याकेज करिब १३÷१३ लाख रुपैयाँका छन् । नौ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेण्डर फर्म बिक्री भएको गाउँपालिका योजना शाखाका नायब शुब्बा सानुकाजी बस्नेतले बताए ।

यी सबै प्याकेजमा तीन–तीनवटा फर्म मात्रै दाखिला भएको थियो । २० देखि ४३ लाखसम्मका चारवटा ठेक्का हरेकको १६ देखि १९ वटा फर्म बिक्री भएको थियो । तीमध्ये एक–एक वटा मात्रै दाखिला भएको थियो । एक–एक वटा मात्रै दाखिला भएपछि ती फर्मले काम पाउने पक्का थियो । व्यवसायीकै  मिलेमतोमा फर्म थोरै दाखिला भएपछि गाउँपालिकाले पुन टेण्डरको तयारी गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आलेले व्यवसायीसँग मिलेमतो नभएको दावी गर्दै यस अघि व्यवहारमा इविडिङ गर्ने गरिएको र गाउँपालिकाको सबै ठेक्का इविडिङ गर्ने नभई टेण्डर गर्ने निर्णय मात्र भएको बताए । रद्ध भएको ठेक्का गाउँपालिकाले पुन टेण्डर गर्ने योजना बनाएको छ । 

प्रकाशित: २७ माघ २०७७ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App