१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हिउँ खेल्न मर्दी उक्लिँदै आन्तरिक पर्यटक

मर्दी पदमार्गका होटललाई राहत

मर्दी पदमार्गको हाइक्याम्पको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः नागरिक

भक्तपुरका सबिन भुजु २३ जना साथीहरुसँग मर्दी हिमालको पदयात्रामा छन् । माछापुच्छे« हिमाललाई नजिकबाट नियाल्न चाहेका भुजु र उनका साथीलाई मर्दी हिमालको पदयात्राले दोहोरो अवसर दिलायो । त्यो हो, मर्दी हिमाल क्षेत्रमा परेको हिउँमा उनीहरु रमाउन पाए । हिउँमा रमाउन पाउँदा भुजु र उनका साथीहरु निकै खुसी पनि छन ।

‘हिउँ पनि खेल्ने र माछापुच्छ«े पनि हेर्ने चाहना हो । दुवै उद्देश्य पुरा भयो,’ भुजुले भने, ‘साथीहरु पनि निकै नै रमाए ।’ सोमबार बिहान भ्यू प्वाइन्टसम्म उक्लेर हिउँमा रमाएको भुजुले बताए । ‘हिउँ परेकोले होला, यहाँ यो बेला निकै नै रमाइलो छ । सबैतिर सेताम्य देखिन्छ । हिउँमा रमाउन पाउँदा झनै खुसी लाग्यो,’ उनले भने । उनले आफुहरु जस्तै अरु युवायुवती यतिबेला हिउँमा रमाउनका लागि मर्दी क्षेत्रमा आएको बताए । ‘अरु पनि धेरै जना हिउँ खेल्न भनेरै आएका छन् । सानो समुहमा आउने पाहुना प्रयाप्त भेटिन्छन,’ उनले भने, ‘यहाँ निकै रमाइलो पनि छ ।’  

मर्दी हिमाल बेसक्याम्प पदमार्गमा होटल चलाएका व्यवसायी चीमनारायण गौतमले पनि हिउँ खेल्नकै लागि पोखरा सहित बाहिरबाट समेत युवायुवती मर्दी उक्लेको बताए । ‘हिउँमा रमाउनैका लागि पाहुना आएका छन् । पाहुना आउँदा होटल व्यवसायीलाई राहत मिलेको छ,’ गौतमले भने, ‘हाइक्याम्पसमा ११ वटा होटल छन् । ती सबै होटलमा पाहुना छन् । होटल पुरै भरिभराउ नभएपछि पाहुना अभाव छैन ।’  

३५५० मिटरको हाइक्याम्पमा ११ वटा होटल छन् । हाइक्याम्प भन्दा माथि होटल छैनन् । तर, पर्यटकहरु ४२ सय मिटरको भ्यू प्वाईन्टसम्म दुईघण्टा लगाएर उक्लिन्छन । भ्यू प्वाइन्टमा घुमेर हाइक्याम्प नै फर्किन्छन् । ‘हिउँ पर्नु भन्दा अघि यत्ति धेरै पाहुना थिएनन । तर, हिउँ परेपछि पाहुना बढेका छन,’ उनले भने, ‘हिड्न सक्ने मान्छे एकैदिनमा पोखराबाट यहाँसम्म आउन सक्छन् । त्यसैले पनि सहज छ ।’ यो बेला हिउँमा रमाउन युवायुवती बढी आएको उनले बताए ।  

हाइक्याम्पमा पुग्न नसक्ने पाहुना केही तलको पैदलडाँडाका होटलमा बास बस्छन् । पैदलडाँडामा पनि पाँचवटा होटल छन् । यो बेला हिउँ परेकोले जसोतसो हाइक्याम्पसम्म उक्लिने उनले बताए । ‘हिजो देखि हिउँ पर्न रोकिएको छ । अनि यो बेला घाम लाग्दा झनै राम्रो देखिएको छ,’ गौतमले भने, ‘हिउँ सेताम्ये छ । हिजोदेखि हिउँ रोकिएपनि पग्लेको छैन । सेताम्य भएर जमेको हिउँ पग्लिन एकसाता जति लाग्छ ।’ हिउँमा रमाउनकै लागि घुम्न आउने भनेर पाहुनाले सोधखोज गरिरहेको उनले बताए ।  

प्रकाशित: २६ माघ २०७७ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App