३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्याङ्जाका होमस्टे भोलिदेखि खुल्ने

स्याङ्जाकाे हाेमस्टे पुन: सञ्चालनबारे जानकारी दिँदै। तस्बिर: सन्देश /नागरिक

नेपालकै जेठो घरबास (होमस्टे) मानिने सिरुबारी होम–स्टे यही हप्ताबाट खुल्ने भएको छ। गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक सिरुबारी होम–स्टेसहित स्याङ्जाका सबै होमस्टे माघ २७ गतेबाट खुल्ने छन्।

गत चैत ११ गते लकडाउन सुरु भएयता ती होम स्टे बन्द छन्।जिल्लाका ४९ वटै होमस्टे मंगलबारदेखि खुल्ने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जा र होमस्टे एसोसियसन नेपाल, स्याङ्जाले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

कोभिड–१९ को प्रभाव कम हुँदै गएको तथा कोरोनाबिरुद्ध खोपसमेत आएकाले होमस्टे सञ्चालनमा ल्याउन लागिएको उनीहरूले बताए।आन्तरिक पर्यटन पुनरुत्थान समितिको पहलमा आवश्यक सुरक्षा मापदण्ड अपनाई होमस्टे पुनः सञ्चालनमा ल्याउन लागिएको होमस्टे एसोसिएसन नेपाल स्याङ्जाका अध्यक्ष मोहन खनालले बताए।

जिल्लाका होम–स्टे सञ्चालनमा आएसँगै यसको प्रवद्र्धनका लागि काम गरिने भएको छ, जस अन्तर्गत सरकारले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको योजनालाई अभियानका रूपमा सञ्चालन गर्दै प्रत्येक महिना १/१ कार्यक्रम गरिने अध्यक्ष खनालले बताए।पहिलो महिना सिरुबारी गाउँपालिका परिचयात्मक भ्रमण आयोजना गरिने उनले जानकारी दिए।

होमस्टे प्रवद्र्धन अन्तर्गत अर्को महिना फागुन २७ देखि २९ गतेसम्म वालिङ नगरपालिका–४ को कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ। त्यस्तै, देशकै जेठो होमस्टे सिरुबारीमा चैतमा होमस्टेमा कोभिडको प्रभावबारे छलफल कार्यक्रम आयोजना गरिने उनले बताए।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा पर्ने सिरुबारीमा २३ वटा घरमा ६० जना अटाउने क्षमताको होमस्टे रहेको सिरुबारी सामुदायिक होम–स्टेका संयोजक जुम गुरुङले जानकारी दिए। यसअघि सिरुबारी होमस्टेमा ब्रोइलर कुखुराको मासु खुवाउने गरेकोमा अबदेखि लोकल कुखुराको मासु खुवाउन थालिने पनि बताए। ‘ब्रोइलर खुवाउनु हाम्रो कमजोरी हो,’ उनले भने, ‘यसलाई हामी सुधार्छौं। अबदेखि लोकल कुखुराकै मासु खुवाउन थाल्छौं।’

प्रकाशित: २६ माघ २०७७ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App