९ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml ०:२३ पूर्वाह्न
अर्थ

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक

२०२० मा जम्मा १८ हजार ७ सय ९६ जना विदेशी अन्नपूर्ण क्षेत्रमा गए

अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको अन्नपूर्ण आधारशिविर । तस्बिरः उमेश पुन÷नागरिक

अन्नपूर्ण क्षेत्रभित्र घुम्न गएका विदेशी पाहुनाको आधिकारिक तथ्यांक राख्न थालेको तीनदशक नाघेको छ । पदयात्रामा घुम्न गएका विदेशी पर्यटकको सन् १९८९ देखि तथ्यांक राख्न थालिएको थियो । सन् १९८९ मा अन्नपूर्ण क्षेत्रमा ३६ हजार ५ सय ८४ जना विदेशी घुम्न गएका थिए । त्यो संख्या सन् १९९० मा केही घटेर ३५ हजार ८ सय ११ मा ओर्लेको थियो ।

त्यसपछिका हरेक वर्ष अन्नपूर्ण क्षेत्र घुम्न जाने विदेशीको संख्या बढिरहेको थियो । द्वन्द्वकाल र भूकम्प तथा नाकाबन्दीका वर्षमा पनि विदेशी आगमन १९९० को भन्दा घटेको थिएन् । तर, कोरोना भाइरस महामारीले विश्वव्यापी प्रभाव पार्दा सन् २०२० मा अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा कम विदेशी पाहुना पुगेका छन् । तीनदशक अघिको रेकर्ड ‘ब्रेक’ गर्दै सन् २०२० मा जम्मा १८ हजार ७ सय ९६ जना विदेशी अन्नपूर्ण क्षेत्रमा पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ ।  

एक्यापका सूचना अधिकारी ऋषि बरालका अनुसार २०२० मा अहिलेसम्मकै सबैभन्दा कम संख्यामा पाहुना अन्नपूर्ण क्षेत्रमा गएका छन् । ‘पोहोरसम्मको तथ्यांक अनुसार सबैभन्दा कम संख्या सन् १९९० मा ३५ हजार ८ सय ११ जना विदेशी अन्नपूर्ण क्षेत्र गएका थिए,’ बरालले भने, ‘त्यो भन्दा पनि झन्डै आधा संख्यामा घटेर सन् २०२० मा १८ हजार ७ सय ९६ जना विदेशी अन्नपूर्ण क्षेत्र पुगेका छन् । एक्यापले तथ्यांक राख्न थालेदेखिकै सबैभन्दा कम संख्या २०२० को रह्यो ।’

कोरोना भाइरस महामारीले गर्दा विदेशी पाहुना पदयात्रामा जान नसकेको उनले बताए । एक्यापले १९८९ मा पर्यटकको तथ्यांक राख्न सुरु गरेर ती पदयात्रीसँग त्यही वर्षदेखि पदयात्रा शुल्क पनि उठाउन थालेको थियो । बरालका अनुसार अन्नपूर्ण क्षेत्रमा सबैभन्दा बढी विदेशी पुगेको वर्ष सन् २०१९ हो । २०१९ मा १ लाख ८१ हजार विदेशी पाहुना अन्नपूर्ण क्षेत्रको पदयात्रामा गएका थिए । सन् २०१८ मा भने १ लाख ८० हजार ९३ जना विदेशी अन्नपूर्ण क्षेत्रमा गएको पनि एक्यापको तथ्यांक छ ।  

‘कोरोना संक्रमण फैलिँदै गर्दा सुरुवातताका केही महिना विदेशीको आगमन भएपनि त्यसपछिका कतिपय  महिना त आउजाउ शुन्य हुँदा पाहुनाको आगमन पनि प्रभावित भएको उनले बताए । ‘कोरोना संक्रमण नहुँदो हो त अहिलेसम्मकै बढी पाहुना आउने रेकर्ड सन् २०२० ले बनाउँथ्यो । किनकी सरकारले २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी थालेको थियो,’ उनले भने, ‘विभिन्न प्याकेजका कार्यक्रम घोषणा भइसकेकोले २०२० मा सबैभन्दा बढी संख्यामा विदेशी आउने अनुमान थियो । तर, कोरोनाका कारण ती सबै कार्यक्रम प्रभावित भए भने पर्यटक आगमन पनि शुन्यमा झ¥यो ।’

झन्डै साढे तीनदशकदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले व्यवस्थापन गर्दै आएको यो क्षेत्रभित्र हाल अन्नपूर्ण संरक्षण क्षेत्र (आयोजना (एक्याप) मार्फत संरक्षणका कार्यक्रम चलाइँदै आइएको छ । सन् १९८६ मा एक्याप स्थापना गरेर कोषमार्फत अन्नपूर्ण क्षेत्रको व्यवस्थापन हुँदै आएको छ । कास्कीको घान्द्रुकबाट नमूनाका रुपमा सुरु भएको संरक्षणको कार्यक्रम अहिले पाँच जिल्लाको ७ हजार ६ सय २९ वर्ग किलोमिटरमा फैलिएको छ । नमूनाका रुपमा सुरु गरिएको घान्द्रुकमा संरक्षणको कार्यक्रम सफल भएपछि १९९० देखि तत्कालिन महेन्द्र प्रकृति कोषको नामबाट व्यवस्थापन सुरु भएकोमा राजतन्त्र हटेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको नामबाट व्यवस्थापन भइरहेको छ । साविक ५७ गाविस ओगटेको यो क्षेत्रले अहिले विभिन्न पाँच जिल्लाका १५ गाउँपालिकालाई समेटेको छ ।  

जैविक र सांस्कृतिक विविधता, पर्यटकीय गन्तव्य, महत्वपूर्ण जडिबुटी र वन्यजन्तुको कारण अन्नपूर्ण क्षेत्र बढी महत्वपूर्ण मानिन्छ । त्यसैले वर्षेनी ठुलो संख्यामा विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न पुग्छन् । पदयात्रा व्यवसायी पनि कोरोनाले गर्दा पदयात्रा क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । द्वन्द्वकाल, भूकम्प भन्दा पनि अहिले कोरोनाले पर्यटन क्षेत्रमा बढी असर पारेको व्यवसायी बताउँछन् । पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका उपाध्यक्ष धर्मराज पन्थी भन्छन, ‘द्वन्द्वकाल भन्दा पनि अहिलेको अवस्था अप्ठेरो हो । द्वन्द्वकालमा पनि पर्यटकलाई नै त अप्ठेरो भएको थिएन । तर, अहिले त विश्वव्यापी नै त्रास छाएको छ । हिडडुल नै रोकिएको छ ।’

द्वन्द्वकालमा पनि नेपालभित्र पर्यटकलाई उत्तिसारो अप्ठेरो नभएको उनले बताए । ‘द्वन्द्वकालमा पनि पर्यटकले नेपाल सुरक्षित ठानेका थिए । आक्कल झुक्कल पर्यटकसँग चन्दा माग्ने बाहेक त्यो बेला अरु घटना भएका होईनन । अहिले कोरोनाले गर्दा बढि अप्ठेरो परेको छ,’ उनले भने, ‘अहिले त विश्वव्यापी नै हिडडुल जोखिममा परेको छ । द्वन्द्वकालमा त नेपाल आउजाउमा समस्या थिएन । कुनै क्षेत्रविशेषमा बेलाबखत घटना भएपनि ती पर्यटक लक्षित थिएनन । त्यसैले पनि द्वन्द्वकालमा पर्यटक आएका थिए ।’

प्रकाशित: २१ माघ २०७७ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App