२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डेड वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेड वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो । भाषाको समस्याको समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो ।  

२०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आयातको तुलनामा निर्यात निकै कम हुने भएपनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको थियो ।  चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यु तथा अन्य स्थानहरूमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्रीको माग उच्च छ । लामो समयदेखि सामग्री निर्यात रोकिएका कारण भारतको विभिन्न स्थानबाट सामग्री जाने क्रम  बढेको व्यापारी बताउँछन् ।  

साउनअघिसम्म दाल, घ्यु, चाउचाउ, बिष्कुट, चिउरालगायतका सामग्री निर्यात भइरहेको थियो । प्रतिमहिना करिब २५ वटा गाडीले खाद्य सामग्री निर्यात गर्दै आएका थिए । तिब्बतको सिगात्से र ल्हासामा नेपाली सामग्री जाने गरेको थियो ।

नेपाली खाद्य सामग्री लैजाँदा भन्सार तिर्न नपर्दा व्यापारीलाई सहज थियो । ८ हजार आरएमबीसम्मका सामग्री लैजाँदा भन्सार तिर्न पर्ने थिएन । यसको समाधानका लागि सरकारले उचित पहल गर्नुपर्ने व्यवसायी पुरुषोत्तम पौडेलले बताए ।  

रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आउनुपूर्व नै खाद्य सामग्री जाने गरेको थियो । सडक निर्माण नभएको समयमा पनि मैदा, चिउरा, चिनी लगायतका सामग्री निर्यात भइरहेको थियो ।  

नेपाली सामग्री लैजानका लागि कडाइ गरेसँगै व्यापारी घटेका व्यवसायी पौडेलले बताए । ‘चिनियाँ बजारमा माग हुँदा समेत लैजान नपाउँनु दुखको कुरा हो’, उनले भने, यसले दुई देशबीचको व्यापारलाई दीर्घकालीन असर गर्छ ।’  

नेपाली सामग्री चीनमा लैजानका लागि लामो समयदेखि पहल हुँदै आएको भएपनि यसले निकास पाउन सकेको छैन । चिनियाँ पक्षले लामो समयदेखि निर्यातमा रोक लगाएको छ भने आयातमा पनि उस्तै कडाइ छ । अहिले दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन् ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: १७ माघ २०७७ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App