२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

अर्ब लगानीमा पेट्रोलियम तालिम केन्द्र

पेट्रोलियम प्रविधि तालिम लिन इन्डियन आयल कर्पोरेसन (आइओसी) जानुपर्ने बाध्यता अन्त्य गर्न नेपाल आयल निगमले अत्याधुनिक पेट्रोलियम तालिम केन्द्र निर्माण गर्ने भएको छ। निगमले करिब एक अर्ब रूपैयाँ लागतमा उच्चस्तरको प्रविधि जडित सुविधासम्पन्न तालिम केन्द्र निर्माण गर्न लागेको हो।

थानकोटस्थ्ति निगमको बागमती प्रादेशिक कार्यालय परिसरको साढे चार रोपनी जग्गामा आठ तले तालिम केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाइएको छ। निगमको जनशक्तिलाई प्रशिक्षण दिन तालिम केन्द्र निर्माण गर्न लागिएको आयल निगम बागमती प्रादेशिक कार्यालयका प्रमुख प्रदिप यादवले बताए। ‘करिब एक अर्ब रूपैयाँ लागतमा उपकरण जडित तालिम केन्द्र निर्माण गर्न लागिएको हो,’ यादवले भने, ‘केन्द्र निर्माणपछि तालिम लिन आइओसी जानुपर्दैन।’ 

तालिम केन्द्र निर्माणमा आइओसीले प्राविधिक सहयोग गर्नेछ। पूर्वाधार, प्राविधिक लगायत आवश्यक सहयोग गर्न निगम र आइओसीका अधिकारीबीच गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। आइओसीको मुम्बईस्थित कर्पोरेट कार्यालयमा आयल निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख यादव र आइओसीको तालिम केन्द्र विभागका प्रमुख महाप्रबन्धक (सिजिएम) एमआर दासले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

निगमले भवन कस्तो बनाउने भन्ने विषयमा आइओसीले प्राविधिक सहयोग गर्नेछ। तालिममा प्रयोग हुने पाठ्यक्रम, आवश्यक प्राविधिक जनशक्ति लगायत विषयमा आइओसीले निगमको आग्रह अनुसार सघाउने भएको छ। आइओसीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन, इन्धन भण्डारणस्थल निर्माणदेखि पेट्रोलियम कारोबार सबै पक्षमा सघाउँदै आएको छ। तालिम केन्द्रमा तल्लो तहका प्राविधिकदेखि निर्देशक तहसम्मलाई प्रशिक्षित गर्ने निगमको योजना रहेको छ।

दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्र निर्माण गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘अहिले निगमका कर्मचारी आइओसीमा गएर तालिम लिँदै आएका छन्,’ पौडेलले भने, ‘स्वदेशमा नै पेट्रोलियम पदार्थको दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएका छौं।’ निगमसँग अहिले तालिम केन्द्र छैन।

निगममा सेवा प्रवेश गरेपछि प्राविधिक विषयमा तालिम लिन भारत जानुपर्ने बाध्यता छ। स्वदेशमा नै तालिम केन्द्र निर्माण गरेपछि सीप सिक्न विदेश जानुपर्ने छैन। यसले निगमको करोडौं रूपैयाँ जोखिने छ। तालिम केन्द्र आवासीय सुविधाको हुनेछ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आठतले भवनमा पाँच सय क्षमतादेखि दुई सय, एक सय, ५०, २० जना अट्ने फरक–फरक हल निर्माण गर्ने हुनेछन्।

पेट्रोलियम पदार्थको ढुवानी, भण्डारणदेखि बिक्रीसम्म प्राविधिक विषय हो। सामान्य हेलचक्र्याइँले डिपोमा ठूलो दुर्घटना भएर धनजनको क्षति हुने जोखिम हुन्छ। डिपो हेन्डलिङदेखि पेट्रोलियम पदार्थको गुणस्तर मापन, लोड, अनलोडका लागि तालिम प्राप्त जनशक्ति आवश्यक पर्छ।

प्रकाशित: १३ माघ २०७७ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App