देशकै दोश्रो ठुलो व्यापारिक नाका भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा यो नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । पार्किङ स्थलको अभावमा मालबाहक गाडीहरु भारतीय सिमा क्षेत्रमा हप्ता–दशदिन सम्म जाममा परिरहेका छन ।
पछिल्लो दुइसाता देखि सिमावर्ती भारतीय बजार सुनौली–नौतनावासम्म मालबाहक गाडीहरु जाममा फसेका छन् । भारतीय सिमा क्षेत्रको करिब १७–१८ किलोमिटर दूरीसम्म सडकमा मालबाहक गाडीहरुको लाइन लागेको सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानले बताए । भारतीय बजार नौतनवा देखि भैरहवा भन्सारसम्म बढीमा तीनघण्टाको बाटो हो । तर मालबाहक गाडीलाइ अहिले त्यो दुरी पार गर्न हप्ता दिन लागिरहेको भन्सार एजेन्ट संघ सिद्धार्थनगरका निर्वतमान अध्यक्ष कृष्ण घिमिरेले बताए ।
भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा नाकामा आइपुगेका गाडीहरु भारतीय सिमामै रोकिनु परेको हो । यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो । भैरहवा भन्सारले दैनिक ३० करोड रुपैयाँको हाराहारीमा राजश्व असुली गर्छ । आयातको दर वर्षेनी बढ्दो छ । तर सेवा सुविधातर्फ भने २५ वर्ष अघिकै पुर्वाधारले काम चलाइएको छ । दैनिक एकहजार बढी मालबाहक गाडी भित्रिने यो भन्सारमा अहिले मुस्किलले ५ –७ सय गाडी पार्किङ गर्ने क्षमता छ । यहाँ ४ वटा यार्ड छन । भन्सार परिसरको १ र २ नम्बर यार्ड करिब ३ सय गाडी पार्किङ क्षमताको छ । करिब ७ सय गाडी पार्किङ क्षमताको ३ नम्बर यार्ड महिनौदेखि जाँचपास नगरी राखिएका नयाँ सवारी साधनले भरिएको छ ।
पश्चिमतर्फ खुल्ला स्थानको ४ नम्बर पार्किङमा पानी, हिलो, धुलो र खाल्डाखुल्डीले बाह्रैमास बिजोग हुन्छ । अहिले पनि त्यहाँ खुट्टा गड्ने धुलो छ । पार्किङस्थल सम्म पुग्ने र निस्कने सडकमा भैसी अट्ने खाल्डा छन । औधोगिक कच्चा पर्दाथ बोकेका ठुला सवारी साधन बाहेक अन्य मालसामान बोकेका गाडी त्यहाँ जानै मान्दैनन । ‘चारनम्बरमा पार्किङ गरिएका गाडी निस्किदान्ँन मान्छे चिनिन्छन् न गाडी,’ व्यवसायी कृष्ण घिमिरेले भने । भन्सारले यार्ड व्यवस्थापनको जिम्मा ट्रान्स नेपाललाइ दिएको छ । तर उसले सम्झौता अनुरुपको मर्मत सम्भार र व्यवस्थापनमा ध्यान नदिदा पार्किङमा निकै समस्या र झन्झट व्यर्होनुपरेको छ । ट्रान्स नेपाल भैरहवाका व्यवस्थापक रबि पारिखले भने सझौता अनुरुप मर्मसम्भार र यार्ड व्यवस्थापन गरिरहेको दावि गरे । पारिखले चारनम्बरको पार्किङस्थल लो–ल्याण्ड भएकाले धस्सिने, पानी जम्ने, हिलो र धुलोको समस्या आइरहने बताए ।
प्रयाप्त र उचित पार्किङ र गोदामको व्यवस्था नहुँदा भन्सार प्रकृया पुरा गरेका गाडीहरु समेत सिमापारी रोकिन बाध्य भएको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए । निश्चित अवधिकालागि बुक गरिएका गाडीहरु धेरै दिन जाममा फस्दा आयातकर्ताले डिटेन्सन, डेमरेज लगायतका अतिरिक्त शुल्क तिर्नुपर्छ । जसले यो नाकाको आयातलाइ खर्चिलो बनाएको छ । त्यसका अलावा भारतीय भूमीमा हुने अवैध असुलीको अर्को समस्या छ । व्यवसायीहरुका अनुसार जाम जति बढि लम्बिन्छ त्यती भारतीय पक्षको अवैध असुली बढ्दै जान्छ ।
‘भारतमा भन्सार प्रक्रिया पुरा गरेका गाडी पनि नेपाल आउन पाइरहेका छैनन । त्यसको फाइदा धमिलो पानीमा माछा मार्नेले उठाइरहेका छन,’ उद्योगी अग्रवालले भने । अतिरिक्त शुल्ककै कारण आयतित बस्तुको मुल्य बढ्ने उनले बताए ।
भन्सार विभागले भैरहवालाइ राजश्व संकलनको लक्ष्य बढाउदै लगेपनि भौतिक पुर्वाधार सुधारमा ध्यान दिइएको छैन । भन्सारको पश्चिम उत्तरमा आइसिपिका लागि अधिग्रहण गरिएको ५२ विगाहा जग्गा गौचरण बनेको छ । व्यवसायीले अइसिपी नबन्दासम्म सोही जग्गामा पार्किङलाइ व्यवस्थित गर्न पटकपटक आग्रह गरेपनि सम्बन्धित निकायले चाँसो दिएको छैन । ‘सरकारको ध्यान राजश्व उठाउनेमा मात्रै केन्द्रित छ । भौतिक पुर्वाधार र सेवा सुविधा बिस्तारमा चासो नै छैन,’ सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपाने भने ।
पार्किङ र गोदामको समस्यालाइ लिएर यहाँका उद्योगी व्यवसायी धेरै पटक भन्सार,भन्सार विभाग र मन्त्रालयमा डेलिगेसन गएका छन । गत साता सिद्धार्थनगर उद्योग बाणिज्य संघको टोली भन्सारमा डेलिगेसन गयो । अर्थमन्त्री बिष्णु पौडेल गतमहिना भैरहवा आउदा पनि व्यवसायीले समस्या समाधानका लागि आग्रह गरे । अर्थमन्त्री र भन्सारका अधिकारीहरुले समस्या समाधान गर्ने आश्वासन त दिए तर पहल गरेनन् । नाकाबन्दीका बेला समेत देशको आवश्यकतालाइ धानेको नाकालाइ भन्सार विभाग, मन्त्रालय, मन्त्री र राजनीतिक दलका नेताहरुले समेत उपेक्षा गरेको गुनासो उद्योगी व्यवसायीको छ ।
भैरहवा भन्सारका सूचना अधिकारी पुर्णप्रसाद लम्सालले सरकारले पार्किङ व्यवस्थापनको जिम्मा ट्रान्स नेपाललाइ दिएकाले यार्ड व्यवस्थापनको काम उसैले गर्नुपर्ने बताए । लम्सालले भन्सार परिसरमा १५ सय गाडी पार्किङ गर्न मिल्ने भनेपनि पार्किङको जिम्मा लिएको ट्रान्स नेपालका म्यानेजर पारिखले भने,‘अहिले उपलब्ध पुर्वाधारमा सहज रुपमा बढीमा ७ सय गाडी मात्रै पार्किङ गर्न मिल्छ ।’
प्रकाशित: ७ माघ २०७७ १०:५७ बुधबार