coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सडक पूर्वाधारले फेरिँदै वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी भए पनि वीरेन्द्रनगर, सुर्खेत सडक पूर्वाधारका दृष्टिकोणले अत्यन्तै कमजोर थियो । २०२९ सालमा वीरेन्द्रनगरको गुरूयोजना निर्माण भएपनि सोअनुसार सडक पूर्वाधार निर्माण भएका थिएनन् । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र वीरेन्द्रनगर अहिले कर्णाली प्रदेशको राजधानी बनेको छ ।  

नजिकका सरकार स्थानीय र प्रदेश यहीँ छन् । स्थानीयहरू नजिकका दुई सरकार आँगनमै हुँदा पनि राजधानीकै जीर्ण सडकबाट आजित थिए । नागरिकले नजिकको सरकारको अनुभूति गर्न पाएका थिएनन् । अहिले दुवै सरकारले वीरेन्द्रनगरलाई सडक पूर्वाधार सम्पन्न बनाउँदै लगेका छन् ।

तत्कालका लागि फराकिलो र कालोपत्रेको काम गर्दा जनताले सास्ती भोगिरहे पनि केही महिनाभित्र वीरेन्द्रनगर सडक पूर्वाधारका दृष्टिकोणबाट सम्पन्न हुनेछ । अघिल्लो वर्ष उपत्यकाभित्रको मुख्य सडक चार लेनको बनिसकेको छ । यो सडकभित्रका दुईबाहेक सबै पुल निर्माण सम्पन्न भइरहेका छन् । धुलियाबिटदेखि बाङ्गे सिमलसम्मको सडक ४ लेनको बन्दा अहिले यात्रा गर्न सहज छ । अब बजार क्षेत्रभित्रका सडकलाई फराकिलो बनाउने कामसँगै कालोपत्रेको काम पनि सँगसँगै अघि बढेको छ ।

वीरेन्द्रनगरमा निर्माण भइरहेका ३६ वटा सडकका लागि ४० करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । ३६ वटामध्ये ११ वटा सडकलाई तीनवटा प्याकेज बनाएर फराकिलो बनाउने र कालोपत्रेको काम भइरहेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरभित्र अहिले ३६ वटा सडकको स्तरोन्नति तथा विस्तारको काम अघि बढेको छ । यी सडकको विस्तारसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको स्वरूप फेरिनेछ । ‘समग्र कर्णालीको विकासको चित्र प्रदेशको राजधानीले दिने भएकाले नजिकका दुई सरकार वीरेन्द्रनगरको सडक पूर्वाधार निर्माणमा एक भएर लागेका छौं,’ वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले भने, ‘अबको केही समयमै प्रदेश राजधानीको स्वरूप परिवर्तन भएको देखिनेछ ।’

प्रदेश सरकार मातहतको पूर्वाधार विकास निर्देशनालय र नगरपालिकाले सडक पूर्वाधारका काम गरिरहेका छन् । पूर्वाधार विकास निर्देशनालयका अनुसार वीरेन्द्रनगरमा अहिले बनिरहेका सडकको चौडाइ सातदेखि २१ मिटरसम्मका छन् । यसअघिका साना सडक अहिले फराकिला बनाइँदै छन् ।  

‘मुख्य बजार क्षेत्रका चोक फराकिलो पार्न समस्या भइरहेको छ, त्यस्ता ठाउँमा सात मिटरसम्म मात्रै कालोपत्रे गरिनेछ,’ पूर्वाधार विकास कार्यालयका अधिकृत हरि शर्माले भने, ‘अरू ठाउँमा २१ मिटरसम्म फराकिला सडक बनाइरहेका छौं ।’ वीरेन्द्रनगरको सडक पूर्वाधारको काम प्रदेश सरकार गठन भएदेखि नै सुरु भएको हो । वीरेन्द्रनगर नगरपालिकाले अघिल्लो आवमै नगर क्षेत्रभित्र निर्माण गरिने सडकको डिपिआर तयार गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको थियो ।

प्रदेश राजधानीभित्र अहिले संघीय सरकारले विमानस्थलदेखि गणेशचोकसम्मको सडक बनाइरहेको छ भने प्रदेश र स्थानीय सरकारले बाँकी सडक निर्माण गरिरहेका छन् । पूर्वाधार विकास निर्देशनालयका अनुसार वीरेन्द्रनगरभित्र १३.१ किलोमिटर सडकको ढाँचा परिवर्तन गरिएको छ । साँघुरा सडकलाई चौडा बनाउने, कच्ची सडकलाई पक्की बनाउने, ट्राफिक सिग्नलका लागि आवश्यक संरचना थप्ने जस्ता कार्य अहिले भइरहेका छन् ।

अहिले वीरेन्द्रनगरमा निर्माण भइरहेका ३६ वटा सडकका लागि ४० करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । ३६ वटामध्ये ११ वटा सडकलाई तीनवटा प्याकेज बनाएर फराकिलो बनाउने र कालोपत्रेको काम भइरहेको छ । कालिन्चोकदेखि क्याम्पस रोड, नेता चोकदेखि प्रगति नगर टोलसम्मको सडक, रत्न राजमार्गदेखि हटलाइन सडक, रत्न राजमार्गदेखि मसुरी खेतसम्मको सडक र रातो पुल नजिकको पूर्व–पश्चिम सडक प्याकेज–१ अन्तर्गत निर्माण गरिँदै छ ।  

यो प्याकेजअन्तर्गत रातो पुलनजिकको सडक भने बीचमा पुल परेकाले ठेक्का भइसकेको छैन । पूर्वाधार निर्माण कार्यालयका अनुसार २ करोड ७४ लाख लागतमा यो प्याकेजअन्तर्गत सडकहरू मजदुर कन्स्ट्रक्सन सुर्खेतले निर्माण गर्दै छ । यस्तै शिवालय चोकदेखि प्रदेश प्रहरी कार्यालय हुँदै गुरुङ चोकसम्म, आँखा अस्पताल चोकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै खारखोलीसम्म, नेपाल टेलिकमदेखि प्रदेशसभा कार्यालय हुँदै गुरुङचोकसम्म र आन्तरिक मामिला मन्त्रालयदेखि पूर्वाधार विकास निर्देशनालय सम्मको सडक प्याकेज–२ अन्तर्गत राखिएको छ ।  

यो प्याकेजका लागि ७ करोड २५ लाख रुपैयाँ लागत लाग्नेछ । यसको निर्माण जिम्मा श्याम एन्ड शंकर निर्माण कम्पनी प्रालिले लिएको छ । यो प्याकेजअन्तर्गत बन्ने सडकहरूले सरकारी कार्यालय तथा मन्त्रालयहरूलाई समावेश गर्छ ।प्याकेज–३ अन्तर्गत शिवालय चोकदेखि इत्राम स्कुल हुँदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयनजिकको चोकसम्म, घण्टाघरदेखि क्याम्पस रोडसम्मको सडक, अख्तियार चोक हुँदै खारखोलीसम्मको सडक निर्माण कार्य भइरहेको छ । यो प्याकेजमा ९ करोड २९ लाख रुपैयाँ लागत रहेको छ भने निर्माणको जिम्मा श्याम एन्ड शंकर प्रालिले लिएको छ ।

यस्तै प्रदेश राजधानी २५ वटा सहरी सडक बन्दै छन् । यी सडकको कुल लम्बाइ ५.८ किलोमिटर रहेको छ । २० करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुने यी सडकहरूको निर्माण जिम्मा १६ वटा कम्पनीले लिएका छन् । यी सडकले प्रदेश राजधानीका सहरी सडकहरूले विभिन्न पर्यटकीय तथा धार्मिक स्थल, विद्यालय र मुख्य सडकलाई जोड्ने छन् ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर सुवेदी यसै आवभित्र मुख्य बजारभित्रका सबै सडक र बजारबाहिरका अधिकतर सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भइसक्ने बताउँछन् । ‘सडक पूर्वाधार निर्माण सम्पन्न भएपछि २०२९ सालमा भएको गुरुयोजनाले पूर्णता पाउनेछ,’ मेयर सुवेदीले भने, ‘जनताले नजिकका सरकारको पनि प्रत्यक्ष अनुभूति गर्न पाउनेछन् ।’ अहिले सडक फराकिलो पार्ने, कालोपत्रे पार्नेलगायत काम धमाधम भइरहेका छन् ।

पूर्वाधार विकास निर्देशनालयका अनुसार चालु आवभित्र सुर्खेत जिल्लाभर ४३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना योजना रहेको छ । जिल्लाका मुख्य, ग्रामीण र कृषि सडक स्तरोन्नतिको लक्ष्य रहेको निर्देशनालयका अधिकृत धितालले बताए । ‘केहीको काम सुरु भइसकेको छ, केही प्रक्रियामै छन्,’ उनले भने, ‘य आवभित्र ४३ किलोमिटर सडक स्तरोन्नतिको लक्ष्य छ ।’

प्रकाशित: ७ माघ २०७७ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App