१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवामा उच्च स्तरको अस्फाल्ट रिसिलिङको लागि एउटै ठेक्का परेन

सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको सोले स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्नका लागि कार्य अघि बढाएको भएपनि एउटै ठेक्का नपर्दा समस्या भएको छ। चालु आर्थिक वर्ष २०७७/७८ मा सोलेदेखि त्रिशूली खोलासम्म साढे ६ किलोमिटर क्षेत्रमा रिसिलिङ गर्ने योजना अघि बढाएको थियो।

यसका लागि कार्यालयले ठेक्का लगाएको भएपनि कठिन भौगोलिक अवस्था अनुसार काम गर्न कठिन हुने र महंगो पर्न जाने भन्दै ठेक्का नहालेका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताए।  

सोलेदेखि त्रिशूली खोलासम्मको सडक जीर्ण भएका कारण सवारी सञ्चालन गर्न असहज हुँदै आएको छ। सोलेदेखि धुन्चे बजारसम्म ठूलाठूला खाल्डाखुल्डी परेको छ भने त्रिशूली खोला क्षेत्रमा पहिरोका कारण सडकमा ठुलो क्षति गरेको छ।  

५० प्रतिशत भन्दा बढी सडक बिग्रिएको खण्डमा रिसिलिङ गर्ने गरिन्छ। पासाङ ल्हामु मार्ग अन्तर्गत रसुवा क्षेत्रको सडक खण्ड जीर्ण हुँदै जाँदा तीन खण्डमा वर्गीकरण गरेर सडक सुधारको काम भइरहेको छ। यसका लागि चालु आर्थिक वर्ष २०७७/७८ का लागि २० करोड बजेट आएको कार्यालयले जानकारी दिएको छ। सडक मर्मत सुधारका लागि रकम अपुग हुने भएपछि डिभिजन प्रमुख भण्डारीले थप १० करोड बजेट माग गरेर ल्याएका छन्। जसमा ५ करोड रसुवा खण्डको मर्मत सुधारमा खर्च हुने छ।  

कार्यालयले दिएको जानकारी अनुसार रसुवाको बेत्रावतीदेखि राम्चे, राम्चेदेखि धुन्चे र धुन्चेदेखि स्याफ्रुसम्मको सडक मर्मत तथा सुधारको काम भइरहेको छ। बेत्रावतीदेखि राम्चेसम्म रिकरेन्ट मेन्टिनेन्स अन्तर्गत सडकको साना खाल्डाखुल्डी भएको ठाउँमा टाल्ने, भत्किएको क्षेत्रमा ग्याबिन वाल लगाउने र भत्किएको नाला बनाउने काम हुने छ। यही खण्डमा गत वर्ष बाँकी रहेको क्षेत्रमा ढलानको काम पनि हुने छ। यस क्षेत्रमा १५ सय मिटर ढलान हुने छ। राम्चे धुन्चे सडक खण्डको सुधार र केही क्षेत्रमा ढलान गर्ने तथा धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत बाह्र घुम्तीमा ढलान गरिने छ। विशेष सुधार कार्यक्रम अन्तर्गत ठुलो भार्खुमा १२ सय घनमिटर ग्याबिन लगाइने कार्यालयले जनाएको छ।  

पासाङल्हामु मार्ग अन्तर्गत रसुवाखण्डको सडक जीर्ण भएको लामो समय भएतापनि मर्मत सुधारको कामले गति लिन सकेको छैन। डिभिजनका अनुसार मार्गको बेत्रावतीदेखि धुन्चेसम्मको सडक र धुन्चेदेखि स्याफ्रुसम्मको सडक सुधारको लागि करिब ३ अर्ब खर्च लाग्ने अनुमान छ।  

पासाङल्हामु मार्ग अन्तर्गत रसुवा खण्डमा सडक मर्मत सुधारको काम गरिँदै। तस्बिरः हिमनाथ

 

प्रकाशित: ६ माघ २०७७ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App