स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का अध्यक्ष सुवर्णदास श्रेष्ठले प्राधिकरणबाट पिपिए नहुँदा आइपिपीको अर्बौंको लगानी जोखिममा पर्ने बताए। 'पिपिएको चरणसम्म पुग्दा एक मेगावाट विद्युत उत्पादन क्षमता भएको जलविद्युत आयोजनामा प्रवर्द्धकको करिब एक करोड रुपैयाँ लगानी भइसकेको हुन्छ,' उनले भने, 'प्राधिकरणले पिपिए नगर्ने हो भने त्यो लगानी डुब्ने निश्चित छ। यसले नेपालको जलविद्युत विकासमा ठूलो अवरोध सिर्जना गर्नेछ।'
उनका अनुसार ठूला आयोजनाका हकमा पिपिए चरणसम्मको लगानी पनि तुलनात्मक रुपमा बढ्दै जान्छ। विभागमा ६ हजार मेगावाटको पिपिए गर्न आवेदन परेको हो भने त्यसमा सबै प्रवर्द्धकको अर्बौं लगानी भइसकेको हुन्छ र त्यो जोखिममा पर्नेछ।
आयोजना निर्माण गर्न सर्भे लाइसेन्स लिनेदेखि पिपिएसम्म पुग्न करिब एक दर्जन चरण पार गर्नुपर्छ। यी चरणमा आयोजनाको भौगोलिक अवस्थिति अध्ययन, हाइड्रोलोजिकल सर्भे, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनाको खाका तयार गर्नेलगायत काम पर्छन्। 'यी काम पूरा गर्दा प्रवर्द्धकको लाखांै खर्च भइसक्छ,' श्रेष्ठले भने, 'त्यसमाथि न्यूनतम तीनदेखि पाँच वर्षको समय पनि सकिइसकेको हुन्छ।'
हिउँदमा विद्युत दिनेसँग मात्रै पिपिए गर्ने हो भने उसले पिपिए दर सामान्य अवस्थाभन्दा चार गुणासम्म बढी दिनुपर्ने उनले बताए। 'यदि हिउँदमा मात्रै खरिद गर्ने हो भने सामान्य अवस्थामा प्राधिकरणले दिने प्रतियुनिट चार रुपैयाँभन्दा पाँच गुणा बढी २० प्रति युनिटमा विद्युत खरिद गर्नुपर्छ,' उनले भने। दैनिक १८ घन्टा लोडसेडिङ हुने नेपालमा प्राधिकरणले विद्युत खरिद गर्दिन भन्नु लज्जास्पद भएको श्रेष्ठको भनाइ छ।
पिपिए नहुँदा लगानी जोखिममा परेका धेरै आयोजनामध्ये एक बुटवल पावर कम्पनी (बिपिसी) प्रवर्द्धक रहेको न्यादी जलविद्युत आयोजनामा हालसम्म ५० करोड रुपैयाँ लगानी भइसकेको सम्बद्ध एक अधिकारीले बताए।
सन् २०१४ सम्ममा व्यवसायिक उत्पादन गर्ने लक्ष्यसहित लमजुङमा निर्माणाधीन ३० मेगावाट उत्पादन क्षमताको यो आयोजना पिपिए नहुँदा अन्यौलमा परेको हो।
'आयोजनासम्म पुग्न आवश्यक सडक, पुल, अन्य भौतिक पूर्वाधार निर्माणदेखि जग्गा अधिग्रहण गर्नेसम्म काम सम्पन्न भइसकेको छ,' ती अधिकारीले भने। उनका अनुसार पिपिए गर्न ढिलाइ भयो भने आयोजना निर्माणको काम रोकिने निश्चित छ। न्यादीजस्तै थप सयौं आयोजनामा गरिएको लगानी जोखिममा पर्नेछ।
प्राधिकरणले सन् २०१७/१८ सम्ममा निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने डेढ सयभन्दा बढी आयोजनासँग १ हजार ८ सय मेगावाट पिपिए गरिसकेको छ।
प्रकाशित: ७ जेष्ठ २०७० २१:३५ मंगलबार