१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चीनबाट ६० हजार रेन्बो ट्राउट माछाको आँखा उम्रिएको अण्डा आयात

चीनको गान्सु प्रान्तबाट आयात गरिएको डोनाल्डसन् स्ट्रेनको सुइकी–१ जातको माछाको अण्डा । तस्बिरः हिमनाथ/नागरिक

चीनबाट रेन्बो ट्राउट माछाको ६० हजार वटा आँखा उम्रिएको अण्डा आयात भएको छ । रसुवागढी नाका हुँदै शुक्रबार आँखा उम्रिएको अण्डा नेपाल भित्रिएको हो ।  

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रको लागि अण्डा ल्याइएको हो । चीनको गान्सु प्रान्तबाट डोनाल्डसन् स्ट्रेनको सुइकी–१ जातको माछाको अण्डा ल्याइएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताए । यसको भुरा उत्पादन गरेर किसानलाई बिक्री गर्ने योजना रहेको उनको भनाइ छ ।  

गान्सु फिसरी रिसर्च इन्स्टिच्युट र चाइना नेपाल कोअप्रेसन प्रोजेक्टको अनुदान सहयोगमा अण्डा आयात गरिएको हो । यसअघि पनि केन्द्रमा चीनबाट ३० हजार आँखा उम्रिएको अण्डा आयात गरिएको थियो । उक्त अण्डाबाट उत्पादन भएको भुरा मध्ये १६ हजार भुरा किसानलाई सहुलियत दरमा बिक्री गरिएको थियो । केन्द्रका अनुसार यसको परीक्षण गरिएपछि फेरि ५० हजार आँखा उम्रिएको अण्डा आयात हुने छ ।  

सुरुमा हवाइमार्गबाट अण्डा ल्याउने तयारी गरिए तापनि बेइजिङमा केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि रोकिएको थियो । त्यसपछि अण्डाको पिसिआर गरिएको थियो । पछि फेरि हवाइमार्गबाट ल्याउन अनुमति नपाएपछि स्थलमार्गबाट नै अण्डा आयात गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए ।  

यो नयाँ जातको माछा हो । चीनले रेन्बो ट्राउटको चारवटा जातबाट क्रस गरेर नयाँ जातको विकास गरेको हो । चीनमा १४ प्रकारका रेन्बो ट्राउट रहेको छ ।  

केन्द्रमा अहिले यसवर्ष प्रजनन भएका करिब २ हजार ५ सय जापानिज भुरा, ५ सय जापानिज परिपक्क माउ माछा र ३ सय ५० वटा चिनियाँ परिपक्क माउहरू प्रजनन्का लागि पालिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ५० हजार वटा आँखा उम्रिएको अण्डा किसानलाई बिक्री गरिसकेको छ । केन्द्रले दिएको जानकारी अनुसार रसुवा सहित गुल्मी, दार्चुला, दोलखा लगायतका जिल्लामा अण्डा पठाएको हो । केन्द्रले रसुवा सहित १६ जिल्लालाई आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ ।  

केन्द्रको तथ्यांक अनुसार सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । त्यसैगरी लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरेको छ ।

प्रकाशित: ३ माघ २०७७ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App