७ वैशाख २०८१ शुक्रबार
अर्थ

खानेपानीको पाइपले हुलाकी राजमार्ग असुरक्षित

वीरगन्ज–कलैया–बरियापुर हुलाकी राजमार्ग खानेपानी संस्थानको पुरानो पाइपको कारणले असुरक्षित बनेको छ। राजमार्गमुनि रहेको खानेपानीको पाइपलाई मर्मत गर्ने नाममा हुलाकी राजमार्ग खन्नुपर्ने बाध्यताले असुरक्षित बनेको हो। वीरगन्ज–कलैया–बरियापुर हुलाकी राजमार्गअन्तर्गत रहेको कलैयाको भरत चोकमा नेपाल खानेपानी संस्थान कलैया वितरण केन्द्रले पाइप मर्मत गर्ने नाममा खाल्डो खन्दै आएको कलैयाका मनीष गुप्ताले जानकारी दिए।

नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैयाले तीन महिनाको अन्तरालमै कलैया उपमहानगरको भरतचोकको हुलाकी राजमार्ग दुई पटक खन्ने कार्य गरेको गुप्ताले बताए। खानेपानी संस्थाले बिछ्याएको खानेपानी पाइप बेलाबेलामा फुटेर सडकमै पानी बग्ने र खाल्डो खन्ने कार्यले भरतचोकको सडक पहिलाजस्तै खाल्डाखुल्डी हुने अवस्था आएको गुप्ताले गुनासो गरे।

नयाँ निर्माण गरिएको राजमार्ग खनेर पाइप मर्मत कार्य गर्दा सडकमा रहेको कालोपत्रे भत्कने गरेको उनले बताए। नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैयाका प्रमुख प्रवीण साहले ३० वर्ष पुरानो रहेको खानेपानीका पाइप फुट्दा त्यसको मर्मत गर्न हुलाकी राजमार्ग खन्नु परेको बताए।

सो राजमार्ग निर्माण गरिएपछि बढी भार बोकेर ढुवानीका साधन चल्ने गरेको र त्यसले खानेपानीको पाइप टिक्न नदिएको साहले बताए। पुरानो सडक जीर्ण भएको अवस्थामा धेरै प्रयासपछि वीरगन्ज उपमहानगरपालिका लक्ष्मनवादेखि महागढीमाई नगरपालिकाको २० किलोमिटरसम्मको हुलाकी राजमार्ग निर्माण गरिएको छ।

स्वच्छन्द/पप्पु/हिम सगरमाथाले हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जसँग ८५ करोड ८५ लाख रूपैयाँमा निर्माण गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्ज पर्साले जनाएको छ। सडक निर्माण हुँदा संस्थानले नयाँ पाइपको व्यवस्था नगर्नु र निर्माण भएपछि पुरानो पाइप मर्मतको नाममा खाल्डो खन्ने कार्यले नयाँ निर्माण गरिएको हुलाकी राजमार्ग नै पहिला जस्तै खाल्डाखुल्डी हुने डरसमेत रहेको साहको भनाइ छ।

प्रकाशित: २९ पुस २०७७ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App