coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बुक बिल्डिङमा ४६ संगठित संस्था योग्य

वास्तविक क्षेत्रलाई सेयर बजारमा आकर्षित गर्न बुक बिल्डिङ विधिबाट सेयर निष्कासन हुने भएको छ। बिहीबार धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङमा काम गर्न स्वीकृति दिएको हो। केही कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर निष्कासनको तयारी गरिरहेको बेला बोर्डले ४६ संस्थालाई स्वीकृति दिएको छ।  

बोर्डका प्रवक्ता निरज गिरीले वास्तविक क्षेत्रमा राम्रो आम्दानी गरिरहेका कम्पनीको निश्चित प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गराउन बुक बिल्डिङ विधि उपयोगी हुने बताए। ‘५/६ वर्षदेखि राम्रो आम्दानी गरिरहेका संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्न नमानिरहेको बेला बुक बिल्डिङ विधि लागू भएपछि ती संस्थाले सार्वजनिक सेयर निष्कासन गर्ने विश्वास छ,’ उनले भने।  

बुक बिल्डिङ विधि भनेको कम्पनीले बजार मूल्य अनुसार सेयर निष्कासन गर्न पाउनु हो। बुक बिल्डिङ विधिमा सेयर मूल्य बजारले निर्धारण गरे अनुसार हुने भएकाले प्रतिकित्ता सेयर मूल्य एक सय रूपैयाँभन्दा बढी पनि पर्न सक्छ। नेपालमा सार्वजनिक सेयर निष्कासन गर्दा सामान्यतयाः प्रतिसेयर मूल्य एक सय रूपैयाँ तोक्ने प्रचलन छ।  

बुक बिल्डिङमा प्रतिसेयर मूल्य सय रूपैयाँको साटो बजारले निर्धारण गरे अनुसार तोकिन्छ। बुक बिल्डिङले सेयर बजारलाई प्रतिस्पर्धी र स्वतन्त्र बनाउने अपेक्षा गरिन्छ। बोर्डले स्वीकृति प्रदान गरेका संस्थागत लगानीकर्ताले बुक बिल्डिङमार्फत सेयर निष्कासन हुँदा सेयर निष्कासन गर्ने कम्पनीको सेयर मूल्य निर्धारण गर्नुको साथै खरिद ग्यारेन्टीको काम गर्छन्।

‘बुक बिल्डिङमार्फत सेयर जारी हुँदा बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ताबीच छलफल हुन्छ,’ गिरीले भने, ‘संस्थागत लगानीकर्ताबीचको छलफलबाट एक खालको मूल्य अनुमान गरेपछि कम्पनीले सेयरको बिक्री मूल्य तोक्छन्।’ योग्य संस्थागत लगानीकर्तामा छनोट हुन बोर्डमा ६२ वटा आवेदन परेको थियो।

बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न कुनै पनि कम्पनी लगातार तीन वर्ष फाइदामा गएको हुनुपर्ने, प्रतिसेयर नेटवर्थ एक सय ५० रूपैयाँ हुनुको साथै साधारणसभाले निर्णय गरेको हुनुपर्ने व्यवस्था छ। बोर्डले योग्य भनेका संस्थागत लगानीकर्तामा अधिकांश क्यापिटल लिमिटेड छन्। तीबाहेक केही वाणिज्य र विकास बैंकले पनि संस्थागत लगानीकर्ताको स्वीकृति पाएका छन्।  

पछिल्लो समयमा सेयर बजार सुधारका लागि विभिन्न काम भइरहेका छन्। सेयर आवेदन गर्न घन्टौं लाइनमा बस्नुपर्ने प्रचलन अन्त्य गर्न अनलाइनबाट आवेदन गर्न पाइने सेवा सुरु गरिएको केही समयमै अनलाइनबाटै खरिदबिक्री हुन थालेको छ।  

त्यस्तै, सेयर आवेदनकलाई उपलब्ध भएसम्म न्यूनतम १० कित्ता सेयर दिनुपर्ने व्यवस्था लागू गरिएको छ। प्रविधिमैत्री बनाइएपछि सेयर कारोबारमा सर्वसाधारणको चासो बढ्न थालेको छ। जसले गर्दा सेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको संख्या २३ लाख पुगिसकेको छ। अनलाइनबाटै कारोबार हुन थालेपछि सेयर परिसूचक नेप्से बढ्ने क्रम जारी छ।  

बिहीबार नेप्से १५.९१ बिन्दुले बढेर २१९४.४९ मा पुगी नयाँ रेकर्ड बनायो। यसअघि नेप्सेको २१७८.५७ बिन्दुको रेकर्ड थियो। बिहीबार पटकपटक नेप्सेले दुई हजार दुई सय बिन्दु पार गरे पनि अन्तिम कारोबारमा केही घटेको थियो। सोही दिन पाँच अर्ब ८७ करोड ४७ लाख रूपैयाँको कारोबार भयो।

प्रकाशित: २४ पुस २०७७ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App