४ वैशाख २०८१ मंगलबार
अर्थ

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात

नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएपछि निगमले गत वर्षको भदौबाट डिजेल आयात सुरु भएको थियो। न्यून क्षमतामा आईओसीबाट डिजेल आयात गरिरहेको निगमले अहिले प्रति घण्टा दुई लाख ४० हजार लिटर (दुई सय ४० किलोलिटर) डिजेल आयात गरिरहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख भरत रेग्मीले बताए। ‘डिसेम्बरमा मात्रै १० करोड लिटर डिजेल ल्याउन सफल भएका छौं,’ रेग्मीले भने, ‘ पाइपलाइन उच्च क्षमतामा सञ्चालनमा आएको छ।’ विगतमा प्रतिघण्टा सरदर प्रति घण्टा दुई सय किलोलिटर आयात गरेकोमा अहिले क्षमता बढाएर दुई सय ४० किलोलिटर आायत भैरहेको छ।  

निगमले गत वर्षको भदौ २४ मा पाइपबाट डिजेल आयात गर्न सुरु गरेपछि पुष १५ (डिसेम्बरसम्म) ७७ करोड ८० लाख ९३ हजार लिटर डिजेल आयात गरेको छ। निगमले मासिक सरदर ७०/७५ हजार किलोलिटर आयात गर्दै आएको थियो। पाइपलाइनबाट आएको डिजेल नेपाल आयल निगमको प्रदेश नं २ बारा अमलेखगन्ज डिपोको ट्यांकमा राखिन्छ। काठमाडौं, भैरहवा, विराटनगर, जनकपुरलगायत क्षेत्रमा पठाइन्छ।

निगमको पेट्रोलियम पाइपलाइन परियोजना सफल भएको छ। निगमले पेट्रोलियम पदार्थ पाइपबाट ल्याउन थाले पछि एक वर्षमा करिब पौने दुई अर्ब रुपैयाँ बचत भएको छ।  

पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरे पछि एक वर्षमा एक अर्ब ७६ करोड रुपैयाँ जोगिएको हो। निगमको गत आर्थिक वर्ष ०७६/७७को वार्षिक आर्थिक प्रतिवेदन अनुसार(भदौदेखि असारसम्म) १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको देखिन्छ।

पाइपबाट डिजेल ल्याउन सुरु भएपछि प्रदूषण पनि न्यूनीकरण भएको छ। परिमाण र गुणस्तर सुनिश्चित भएको छ। प्राविधिक नोक्सानीमा कमी आएको छ। ढुवानीको क्रममा हुने चुहावट रोकिएको निगमले जनाएको छ। पाइपबाट वार्षिक २० लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने क्षमता रहेको छ। निगमले पाइपलाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि अमलेखगन्जमा इन्धन भण्डारण ट्यांक बनाउने योजना बनाएको छ। ४२/४२ लाख लिटरका थप दुई ट्यांक बनाउने योजना बनाएको छ।  

निगमले अमलेखगन्जसम्म ल्याएको पेट्रोलियम पाइपलाइन चितवनसम्म ल्याउन विस्तार गर्ने तयारी गरेको छ। मोतीहारी–अमलेगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने आईओसीसँग सहमति भैसकेको छ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो।  

अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन ६२ किलोमिटर हुने छ। पाइपलाइन विस्तारका लागि रुट फाइनल भैसकेको छ। अमलेखगन्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न पाँच अर्ब ६७ करोड र चितवनमा पेट्रोलियम भण्डारण स्थल बनाउन चार अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ।  

ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानी काठमाडौंसहित पोखरा, भैरहवालगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी लागत घटाउन चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागिएको हो। पाइपलाइन अमलेखगन्जबाट चुरियामाई जंगल हुँदै चितवनसम्म ल्याएपछि दीर्घकालीन रुपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुनेछ। निगमले चितवनमा भण्डारण स्थल बनाउन जग्गा खरिद गरिसकेको छ । चितवनान स्टक राख्ने गरी परियोजना अघि बढाउँदा वितरण व्यवस्थित गर्न सहज हुने छ।

प्रकाशित: २३ पुस २०७७ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App