१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्गः म्याद सकियो, काम सकिएन

पहुँच

बहुप्रतीक्षित हुलाकी सडक निर्माणका लागि कैलालीमा पहिलो चरणको काम सकिएर चौडा बनाउने काम भइरहेको छ । तर, कैलालीसँगै सटेको कञ्चनपुरमा भने पहिलो चरणको कामै नभई म्याद सकिएको छ । धनगढीको सीमासँग जोडिएको डोके बजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणको म्याद सकिएको छ तर काम भने अझै सकिएको छैन ।  

पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक निर्माणमा ध्यान नदिँदा निर्माणको काम नसकिएको हो । ‘डोके बजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गर्दा सम्झौताअनुसार काम हुन सकेको छैन,’ बेलौरीका स्थानीय दीपेन्द्रसिंह विष्टले भने, ‘हुलाकी सडकको तीन खण्डमध्ये पनि बुटाबारीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक निर्माण कम्पनीले अलपत्र छोडिदिएको छ ।’ सडक निर्माणका लागि सुरुवात त गरियो तर, ठाउँठाउँमा खाडल खनेर छोड्नुका साथै निर्माणजन्य वस्तु सडकमा अलपत्र छोडिँदा दुर्घटना निम्तिरहेको उनले गुनासो गरे ।

डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरी तीनवटा निर्माण कम्पनीले ठेक्का लिएका थिए । जसमध्ये डोकेबजारदेखि बुटाबारीसम्मको २० किलोमिटर सडक खण्ड शर्मा राजेन्द्र जेभीले ठेक्का सकारेको थियो ।

सडक निर्माणको काम गर्ने भन्दै ठेक्का लिएका निर्माण व्यवसायी म्याद मात्रै थप्ने र कामै नगर्ने भएपछि स्थानीयले ‘ठेकेदार खोज’ अभियान थालेका छन् । उनीहरूले निर्माण व्यवसायीको तस्बिर ठाउँठाउँमा टाँस्दै हिँडेका छन् ।

निर्माण कम्पनीसँग हुलाकी राजमार्ग आयोजनाले २०७३ फागुन १ गतेदेखि काम सुरु गरेर २०७६ भदौ १४ गते सक्ने गरी सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार काम नगरी ठेकेदार कम्पनीले पहिलोपटक २०७५ चैत २० गतेका दिन म्याद थप माग गर्‍यो । पहिलो म्याद थपमा पनि काम नसकेको कम्पनीले दोस्रोपटक २०७६ माघ १५ गते म्याद थप गरेको थियो । दोस्रो पटक म्याद थप्दा २०७७ साउन ४ काम सक्ने सहमति गरेको थियो । आफैंले गरेको सहमति पालना नगरेर पुनः काम अलपत्र छाडेको निर्माण कम्पनीले पुनः तेस्रोपटक २०७७ असोज २२ गते म्याद थपेको थियो । तेस्रो पटकको म्याद २०७७ माघ २ गते सकिँदै छ । तर, निर्माण कम्पनी शर्मा राजेन्द्र जेभीले डोकेबजारदेखि बुटाबारीसम्मको २० किलोमिटर सडक निर्माणको काम अझै सकेको छैन ।

हुलाकी सडक अन्तर्गतको दोस्रो खण्ड बुटाबारीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकको हालत त झनै नाजुक छ । २०७३ फागुन १२ ठेक्का सकारेको बाबाहंश सिद्धिसाई जेभीले निर्माणको ३० महिनामा सम्पन्न गर्नु त के हातै हालेन । पहिलोपटक कामै नगरी म्याद गुज्रिन थालेपछि हतारहतार निर्माण कम्पनीले २०७६ पुस १ गतेका दिन म्याद थप गरायो । पहिलो म्यादमा पनि काम नसकेपछि पुनः २०७६ फागुन १५ गते दोस्रोपटक म्याद थपाएको निर्माण कम्पनीले २०७७ मंसिर ७ गते काम सक्ने सम्झौता गरेको थियो । तर आफैंले कबुल गरेको म्याद सकिएको ३ हप्ता बितिसक्दा पनि निर्माण कम्पनी बेखबर छ । बुटाबारीदेखि बेल्डाँडीसम्म ठेक्का पाएको बाबाहंश सिद्धिसाई निर्माण कम्पनीले अहिलेसम्म ५ प्रतिशत पनि काम नगरेको स्थानीय बताउँछन् । ‘अहिलेसम्म बुटाबारीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक खण्डको हालत हेर्दा लाजमर्दो छ,’ बेलौरी बजारका स्थानीय कैलाश साउँदले भने, ‘निर्माण कम्पनीले सुरुमा ठेक्का लिएको समयमा आएर ढुंगा फिजायो, तर त्यसपछि भने आएकै छैन ।’ बेलौरी बजारमा केही भाग आरसिसी गरेर  

बीच सडकमा निर्माण सामग्री अलपत्र छाडी निर्माण कम्पनी बेखबर बनेको उनले बताए । उनले भने, ‘तिहार अघिसम्म त आरसिसी गर्न केही लेबर बजारमै देखिन्थे, त्यसयता भने न निर्माण कम्पनीका मालिक आएका छन् न त मजदुरहरू नै ।’

सो सडकअन्तर्गत तेस्रो खण्ड बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडक खण्ड पनि शर्मा राजेन्द्र जेभीले ठेक्का सकारेको थियो । यो खण्डका लागि उसले २०७३ फागुन १ गते २०७६ भदौ १४ मा काम सक्नेगरी ठेक्का सकार्दै सम्झौता गरेको थियो । तर सो कम्पनीले २०७६ माघ २६ गते पहिलोपटक म्याद थपाएको थियो । पहिलो म्यादमा २०७७ साउन २४ गते काम सक्ने सम्झौता भए पनि म्याद सकिएको चार महिना बितिसक्दा पनि निर्माण कम्पनी बेखबर बनेका छन् ।

ठेकेदार खोज्दै स्थानीय

डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर सडक खण्डबीचको बुटाबारी–बेल्डाँडी (२० किलोमिटर) सडकखण्ड निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी बेपत्ता भएको भन्दै बेलौरीमा ‘ठेकेदार खोज’ अभियान थालिएको छ ।

सडक निर्माणको काम गर्ने भन्दै ठेक्का लिएका निर्माण व्यवसायी म्याद मात्रै थप्ने र कामै नगर्ने भएपछि आफूहरूले ‘ठेकेदार खोज’ अभियान थाल्दै निर्माण व्यवसायीको तस्बिर ठाउँठाउँमा टाँसेको स्थानीय कैलाश साउँदले बताए । उनले भने, ‘हाम्रो घरअगाडिको बाटोमा ढुंगामाटो फालेको वर्षौं बित्यो तर निर्माण व्यवसायी सडक बनाउन आएनन्, त्यसैले ठेकेदार खोज अभियान थाल्यौं ।’

बेलौरी बजारको मुख्य सडकमै आरसिसी गरेर अलपत्र छाडिएको सडकमा दुर्घटनाको भय भएको बताउँदै अर्का स्थानीय लक्ष्मण दियालले भने, ‘निर्माण कम्पनीले सडक बनाउने भन्दै जिम्मा लियो, आरसिसीका लागि सडक खन्यो, फलामे छड राख्यो, त्यसपछि बेपत्ता भयो ।’

आरसिसी निर्माणका लागि छाडिएको फलामे छडले दैनिक दुर्घटना निम्तने गरेको उनले बताए । निर्माणको काम अलपत्र छाडिएपछि आफूहरूले ठेकेदार खोज अभियानअन्तर्गत निर्माण कम्पनीका मालिकका फोटा पम्पलेटिङ गर्दै ठाउँठाउँमा टाँसिरहेको उनले बताए । यसले पनि निर्माण कम्पनीका मालिकलाई लज्जाबोध भई समयमै काम गर्नुपर्ने पाठ सिकाउने उनी बताउँछन् । यसरी सार्वजनिक स्थलमा निर्माण कम्पनीका मालिकको फोटो टाँस्दा नैतिक दबाब सिर्जना हुने उनले बताए ।  

निर्माण कम्पनीले काम गर्दागर्दै बीचमै छाडेर बेपत्ता भएको बताउँदै हुलाकी सडक आयोजनाका इन्जिनियर मोहनचन्द्र हमालले भने, ‘हामीले पटकपटक निर्माण कम्पनीलाई पत्राचार गरेका छौं तर कम्पनीले कुनै मतलबै गरेको छैन ।’ आफूले कार्यालयको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरेको बताउँदै उनले भने, ‘अब अन्तिम विकल्पका रूपमा निर्माण कम्पनीको बैंक ग्यारेन्टी पनि तान्न बैंकलाई पत्राचार गरिसकेका छौं । यति गर्दा त निर्माण व्यवसायी सम्पर्कमा आउलान् ।’

प्रकाशित: २२ पुस २०७७ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App