४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धमाधम खुल्दैछन् अन्नपूर्ण क्षेत्रभित्रका गन्तव्य

कोरोना त्रासका कारण बन्द रहेका गन्तव्य बल्ल खुल्न थाले

अन्नपूर्ण आधारशिविर क्षेत्र । कोरोनाले बन्द रहेको एक्याप क्षेत्रभित्रका गन्तव्य धमाधम खुल्न थालेका छन् । फाइल तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै सरकारले गत चैतमा मुलुकभर लकडाउन ग¥यो । लकडाउनसँगै सबैतिरको हिडडुल रोकियो । लकडाउनले सहर र गाउँभित्रको हिडडुल मात्र रोकेन की हिमाली भेगमा हुने पातलो आउजाउमा पनि प्रभाव पा¥यो । कोरोनाको कहरले मान्छेको दैनिकीमा मात्र प्रभाव पारेन, पर्यटन क्षेत्रमा पनि उस्तै असर रह्यो । पर्यटनमा आधारित हिमाली भेगका सबै पदयात्रा महिनौ ठप्प भए ।  

महिनौ ठप्प रहेका तिनै हिमाली भेगका गन्तव्य बल्ल यतिबेला खुल्न थालेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रका महत्वपूर्ण पदयात्रा गन्तव्यमा पाहुना प्रवेशको बाटो खोल्न थालिएको छ । एक्यापभित्रका धेरै गन्तव्यमध्ये केही खुलिसकेका छन भने कतिपयले खुलाउने दिन तय गरेका छन् । मौसमले साथ दिएर आउजाउ सहज हुनसक्ने गन्तव्य अहिले खुल्न थालिसकेका छन् ।

एक्यापका प्रमुख राजकुमार गुरुङका अनुसार हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ खुल्न बाँकी छ । लोमान्थाङ खुल्न नसक्नुमा चिसो मौसमले गर्दा हो । नत्र अरुतिरका धेरै गन्तव्य खुलिसकेको र खुल्ने क्रममा रहेको उनले बताए । केहीदिन अछि नै हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम पर्यटकका लागि खुला गरिएको थियो । 

मुस्ताङकै धार्मिक गन्तव्य मुक्तिनाथ आगामि मंगलबारदेखि खुल्ने भएको छ । त्यस्तै एक्यापभित्रको महत्वपूर्ण गन्तव्य घान्द्रकु माघ १ देखि खुलाउने निर्णय घान्द्रुकका व्यवसायीले गरिसकेका छन् । घोरेपानी पनि पुस १ देखि खुलिसकेको छ । अर्काे हिमाली जिल्ला मनाङ भने कात्तिक पहिलो सातादेखि नै खुलिसकेको छ । मर्दी हिमाल भने असोजमै खुलेको थियो । घान्द्रुकबाट छोमरोङ, देउराली, माछापुच्छे« हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्म पनि आउजाउ गर्न सकिने गरि व्यवसायीले खुला गरेका छन् । तर एबिसी पुग्न भने कोरोना परीक्षणको पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।  

‘मौमसले साथ दिएर आउजाउ गर्न सक्ने अधिकांश गन्तव्य खुलिसकेका छन,’ एक्याप प्रमुख गुरुङले भने, ‘यो बेला मौसमी अवरोधले आउजाउ गर्न नसकिने अवस्था आउनु भिन्दै हो । नत्र एक्याप क्षेत्रभित्रका अधिकांश गन्तव्य खुलेका छन । अझै केही खुल्दैपनि छन् । घान्द्रुकले सबैभन्दा ढिलागरि माघ १ देखि खुलाउने भएको छ ।’ सबै गन्तव्य एकै पटक नखुल्दा समस्या भएको उनले बताए । ‘कात्तिककै पहिलो साता मनाङ खुल्यो, तर, मुस्ताङ खुल्न ढिलाई हुँदा थोराङला भञ्याङ पार गरेर आउजाउ गर्न कठिनाई भयो,’ उनले भने, ‘सबै गन्तव्य एकैपटक खुलाउन सकेको भए केही सहज हुन्थ्यो । तर, हामीले स्थानीय व्यवसायीलाई खुलाउने अधिकार दिएकोले हस्तक्षेप गरेर एकैपटक खुलाउन भने सकेनौ ।’  

अहिलेका लागि विदेशी पाहुना आउने सम्भावना कम रहेकोले आन्तरिक पाहुनाबाटै पदयात्रा क्षेत्रले व्यवसाय धान्नुपर्ने अवस्था रहेको उनले बताए । ‘अहिलेको हिडडुल आगामि दिनमा नरोकियोस भन्ने चाहना हो,’ उनले भने, ‘कम्तिमा आन्तरिक पाहुना ती गन्तव्यमा पठाउन सकियो भने त्यस क्षेत्रका व्यवसायीलाई केही राहत मिल्छ । आन्तरिक पर्यटनबाट पनि व्यवसाय टिक्न सक्नेछन् ।’ एक्याप क्षेत्रभित्र पनि घान्द्रुक, घोरेपानी, लोमान्थाङ, मुक्तिनाथ आन्तरिक पर्यटकले बढी रुचाएको क्षेत्र भएकोले पनि खुलाउन दवाव परेको उनले बताए ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारीले पनि स्वास्थ्य सतर्कता अपनाएर हिमाली क्षेत्रका गन्तव्य खुलाउन सम्बन्धित क्षेत्रका व्यवसायीलाई आग्रह गरेको बताए । ‘गण्डकी प्रदेशका सबैजसो महत्पूर्ण पर्यटकीय ठाउँ खुलिसकेका छन,’ भण्डारीले भने, ‘कम्तिमा केही आकारमा आन्तरिक पर्यटक ती ठाउँमा जान सक्ने हो भने गन्तव्य प्रवद्र्धन त हुन्छ नै व्यवसायीलाई पनि राहत मिल्छ ।’ बन्द रहेका गन्तव्य खुलाएर स्थानीय व्यवसायीको आत्मविश्वास बढाउन चाहेको उनले बताए ।  

अन्नपूर्ण क्षेत्रभित्रको सबैभन्दा महत्वपूर्ण गन्तव्य मानिने घान्द्रुक माघ १ देखि खुल्दैछ । घान्द्रुकलाई एबिसी पदमार्गको प्रवेशद्वार मानिने भएकोले पनि यो गन्तव्य बन्द हुँदा आसपासका क्षेत्र पनि मर्कामा परेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले बताए । घान्द्रुक खुलाउनेबारे जानकारी दिन शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष गुरुङले भने, ‘मौसमले साथ दिएमा अब पर्यटक घान्द्रुक सहित घोरेपानीसम्म पुग्न सक्छन ।’ तर, छोमरोङ गाउँभन्दा माथि जान भने पर्यटकले पिसिआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य छोमरोङका पर्यटन व्यवसायीले गरेको उनले बताए । ‘एबिसीको मुख्य प्रवेशद्वार नै घान्द्रुक थियो । घान्द्रुक बन्द हुँदा सबैतिर गुनासो भयो,’ उनले भने, ‘तर, अब विशेष सतर्कता अपनाएर घान्द्रुक खुलाउने निर्णय गरेका छौ ।’

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष सुशील पौडेलले पदमार्ग बन्द हुँदा आन्तरिक पर्यटकको घुमघामको क्षेत्र पनि खुम्चिएको बताए । घान्द्रुक क्षेत्र बन्द हुँदा सबैभन्दा बढी असर परेको उनले बताए । ‘घान्द्रुकले आफु चलायमान हुने काम ग¥यो, तर पाहुनाका लागि ताला लगायो,’ पौडेलले भने, ‘अब सबैतिर सहज हुनुपर्छ ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराइले पर्यटन क्षेत्र चलायमान बनाउनका लागि पनि सबैठाउँसम्म आउजाउ सहज हुनुपर्ने बताए । ‘व्यवसाय खोलेर पर्यटनलाई चलायमान बनाउने बेला भएको छ । यो बेला हामी नै चलायमान बन्न सकेनौ भने पाहुना आउँदैनन,’ उनले भने, ‘पर्यटकलाई अब दुख होईन, सुख दिएर घुम्न आउने माहोल बनाउने काम स्थानीय व्यवसायीको पनि हो ।’ आन्तरिक पर्यटनबाटै लाभ पाउन सकिने अवस्था रहेकोले अब गन्तव्य बन्द नभई खुलाएर पाहुनालाई स्वागत गर्नुपर्ने उनले बताए । 

प्रकाशित: १८ पुस २०७७ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App