१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोनाले पर्यटन व्यवसायबाटै हात धुनु पर्ने अवस्था आयोः व्यवसायी

रसुवाको पर्यटकीय क्षेत्र गत्लाङमा आयोजना भएको साधारण सभा तथा अन्तरक्रिया । तस्बिरः हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी मार परेको व्यवसायीले बताएका छन्।  

कोरोनाको कारण विदेशी पर्यटक नआएका, स्वदेशी पर्यटकको आवागमन घटेको र सरकारले उचित सम्बोधन नगर्दा व्यवसायबाटै हात धुनु पर्ने अवस्था आएको व्यवसायीले बताएका हुन्। कोरोनाको जोखिम कायमै रहेकाले व्यवसाय पुरानो अवस्थामा फर्कन अझै केही समय लाग्ने व्यवसायी बताउँछन्।  

रसुवाको पर्यटकीय क्षेत्र गत्लाङमा बुधबार आयोजना भएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको दोस्रो साधारण सभा तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर, चुनौति र समाधानको उपाय विषयक कार्यक्रममा होटल व्यवसायीले पछिल्लो समय व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएका हुन्। कोरोनाको कारण लामो समयसम्म होटल बन्द गर्न परेको, विदेशी पर्यटकको आगमन ठप्प भएको र आन्तरिक पर्यटक समेत थोरै संख्यामा आउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको रसुवा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले बताए।  

‘हामीले गत्लाङमा कार्यक्रम गर्नुको उद्देश्य भनेको जिल्लाको पर्यटकीय क्षेत्र चिनाउनु हो’, उनले भने, ‘यसले पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुर्‍याउने छ।’ कोभिड–१९ ले यस क्षेत्रमा पारेको प्रभाव बारे पनि जानकारी भएको उनले बताए। धेरैले घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेको र केहीले मात्र भाडा छुट गरेका कारण पनि व्यवसायी मारमा परेका हुन्।  

संघका महासचिव दामोदर नेपालले कोरोना महामारीका कारण होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित धेरै जनाले रोजगारी गुमाएको, केही होटल बन्द भएको र केही होटल बन्द हुने अवस्थामा पुगेको बताए। होटल व्यवसाय राम्रोसँग सञ्चालन हुन नसक्दा धेरै होटलले स्टाफ कटौति गरेका छन्। जसको कारण धेरै जनाले रोजगारी समेत गुमाएका छन्।  

होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउनका लागि सरकारले उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। सघंले बागमती प्रदेशमा रहेका १३ वटै जिल्लामा पर्यटकीय स्थलहरूको पहिचान र चिनारीका साथै प्रचारप्रसारका लागि विभिन्न संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा पर्यटन प्रवधनात्मक कार्यक्रम आयोजना गर्ने जनाएको छ। होटल तथा पर्यटन क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको समाधानका लागि संघ सधैं लागि पर्ने होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए।  

होटल व्यवसायलाई आजको युग अनुसार विकास गर्दै सूचना प्रविधिसँग एकाकार गराउन पहल गर्ने, घरभाडाको समस्यालाई बैज्ञानिक तबरले सम्बोधन गर्नका लागि तीनै तहका सरकारलाई दवाव दिने, आन्तरिक पर्यटक प्रवद्धनका लागि विशेष प्याकेज वा योजना तर्जुमा र यसको कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग माग गर्ने लगायतका योजना अघि सारेको छ।

प्रकाशित: १६ पुस २०७७ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App