१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

रारा जाने मूलबाटोमा सिस्नो प्रशोधन उद्योग

जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्रन्छ। सिस्नो गाउँपालिकाभर सबै वडामा प्रशस्त पाइन्छ। सिर्जनशील महिला उद्यमी समूहमा आवद्ध महिलाले जुम्लामै पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना गरेर आयआर्जनका क्रियाकलापमा सहभागी भएका हुन्।  

हिमा गाउँपालिका–४ का वडाध्यक्ष मुनबहादुर बुढा र पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले संयुक्त रूपमा सिस्नो उद्योगको उद्घाटन गरेका थिए। उनीहरूले सिस्नो उद्योग स्थापनाले आयआर्जनमा टेवा पुग्ने विश्वास गरे। ‘यहाँ सिस्नो जहाँतहीँ भेटिन्छ। बर्सेनि खेर गइरहेको हुन्छ। सिस्नोको महत्वबारे जानकारी नहुँदा सही प्रयोगमा आउन सकेको थिएन,’ वडाध्यक्ष बुढाले भने, ‘अहिले उद्योग स्थापनाले खेर गइरहेको सिस्नोबाट मनग्य आम्दानी गर्न सक्ने वातावरण सिर्जना भएको हो।’

उनले सिस्नो प्रशोधन उद्योग सञ्चालन र बजारीकरणका लागि स्थानीय सरकारले साथ दिने बताए। ‘तपाईंहरू जैविक सिस्नु पाउडर प्रशोधन गरेर बेच्नुहोस्। यो यहाँको पहिचान बन्न सक्छ। स्थानीय सरकार उद्योग सञ्चालनका लागि तपाईंहरूकै साथमा छ,’ उनले भने, ‘सिस्नो निकै हेलाको वस्तु भएपनि प्रशोधनपछि हुने प्रयोगले निकै फाइदा पुग्नेछ। सिस्नो प्रशोधन गरेर अरूलाई पनि बेच्नुहोस्। आफू पनि खानुस्।’

रारा जाने मूल बाटोमै सिस्नो उद्योग स्थापना भएकाले निकै महत्वका साथ हेरिएको छ। उद्योगले अपेक्षाकृत रूपमा सिस्नो प्रशोधन गर्न सकेको खण्डमा जुम्लाको एक ब्रान्डका रूपमा स्थापित हुन सक्ने उनी बताउँछन्।  

पेस नेपालका अध्यक्ष किशोर न्यौपाने सिस्नो उद्योग स्थापनाले निकै आशा जगाएको बताउँछन्। उनले भने, ‘न सिस्नोको खेती गरिन्छ। न त सिस्नोलाई महत्वका साथ हेरिन्छ। उद्योग स्थापनाले सिस्नोको महत्वलाई दर्शाएको छ।’ उनले उद्योगलाई निरन्तरता दिँदै यहाँ प्रशोधित सिस्नोलाई बजारसम्म लैजान सहयोग गर्ने बताए। उनले थपे, ‘सिस्नो आयआर्जनको राम्रो माध्यम बन्न सक्ने सम्भावना छ। सिस्नोको बजार पनि छ। मूल्य पनि निकै राम्रो छ।’

पेस नेपालको क्याप्स कर्णाली परियोजनामार्फत एक साताका तालिम प्रदान गरेपछि यहाँका महिलाले उद्योग स्थापना गरेका हुन्। ‘सिस्नुबाट महिला र पछाडि परेका समुदायका सर्वसाधारणले आयआर्जन गर्नेछन्। उद्योगमा सिस्नु ल्याउनेछन्। प्रशोधन गर्नेछन्। मनग्य आम्दानी गर्नेछन्,’ पेस नेपालका अध्यक्ष किशोर न्यौपानले भने, ‘सिस्नोलाई जथाभावी काट्ने छैनन्। संरक्षण गर्ने छन्। जसले जलवायुमा केही न केही सुधार हुनेछ।’ उद्योगमा लेबलिङ, प्याकेजिङ गर्ने उपकरणदेखि प्रशोधन मेसिन खरिद गरिएको छ। सिस्नो टिप्दा हातमा लगाउने पञ्जा पनि दिइएको छ। प्रत्येक गाउँबाट सिस्नो संकलन गरिनेछ।  

सिस्नोको पाउडर बिक्रीका लागि सुर्खेत नेपालगन्ज र कालीकोटमा बजार व्यवस्थापन गर्न सकिनेछ। कुनै बेला गरिबको तरकारीको रूपमा हेरिने सिस्नो अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ। यो मिठो मात्रै होइन स्वास्थ्यका लागि उपयोगी छ। यसको पात र जराको तरकारी रूपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ।

यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छन्। सिस्नो मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ। सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ।

सिस्नो जति काट्यो त्यति बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ। पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ। शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ। अहिले प्रतिकेजी सिस्नो पाउडरको ६ सय रूपैयाँँमा किनबेच भइरहेको छ। उद्योग सञ्चालनका लागि चाहिने आवश्यक सामग्री थप्न सकिने क्याप्स कर्णाली परियोजनाले जनाएको छ। सिस्नोको कच्चा पदार्थ सुकाउनका लागि सोलार डा«यर पनि किसानलाई उपलब्ध गराइएको छ।  

यो सडक हुँदै रारा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने भएकाले पनि सिस्नोको बजार निकै प्रभावकारी हुने स्थानीय बताउँछन्। स्थानीयले उद्योग नियमित रूपमा चलाउने र सिस्नोको व्यावसायिक उद्यम सञ्चालन गर्ने विषयमा गम्भीर बनेको व्यवसायी बताउँछन्।

प्रकाशित: १५ पुस २०७७ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App