३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैशाखदेखि इलामबाटै उडान–अवतरण

इलामको निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थल । तस्बिर : भीम/नागरिक

निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।  

अहिले धमाधम धावनमार्ग कालोपत्रेको आधार तयार गरिँदैछ। विमानस्थलमा माटो कटिङ र फिलिङको काम भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धावनमार्ग सबबेसको काम भइसकेको छ। त्यसमाथिबाट हालिने बेस लेयरको काम अन्तिम चरणमा छ । प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले अब केही दिनपछिदेखि सबैभन्दा माथिल्लो भाग कालोपत्रे थालिने बताए। ‘कालोपत्रेका लागि अलकत्रा र आवश्यक सामग्री संकलन भइरहेको छ,’ उनले भने, ‘अलकत्रा भुट्ने एस्फल प्लान्ट ल्याएर जडान गरिएको छ, ९ सय ड्रम अलकत्रा लाग्ने अनुमान गरिएकामा ३ सय ड्रम आइसकेको छ। अरू पनि आउँदैछ।’  

इन्जिनियर भट्टराईले स्थायी टर्मिनल भवन नबनुञ्जेलका लागि अस्थायी भवनसमेत बनाइसकिएको बताए । ‘अहिलेको ठेक्कामा ठूलो टर्मिनल भवन परेको छैन, सानो भवन बनाइएको छ,’ उनले भने, ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ।’ पछिल्लो पटक ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ, साइड ड्रेन र कार पार्किङलगायतको काम भइरहेको उनले बताए। यो ठेक्काको पनि करिब ७५ प्रतिशत काम सकिएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।  

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे हुनेछ। १५ महिनामा काम सक्नेगरी आशिष, आशीर्वाद र स्वामीनारायण जेभीले अहिलेको काम जिम्मा लिएको हो। २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए।  

यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन्। ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।  

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो। बर्सेनि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भइरहेको छ। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैयाँ खर्च भएको थियो।

प्रकाशित: १४ पुस २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App