२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराका होटलमा क्रिसमस

पाहुनाविहीन अवस्थाको क्रिसमस खल्लो

पोखराका सांग्रिला रिसोर्टको प्रवेशद्वारमा विहीबार क्रिसमस ट्रि सजाउँदै कर्मचारी । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको करिब वर्षदिन पुग्नै लागेको छ । कोरोना संक्रमण नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना प्रयाप्त हुन्थे । पर्यटन क्षेत्र सिजन सकिन लाग्दाको अवस्थामा त हुन्थ्यो, तरपनि पाहुनाको भने खासै खाँचो हुँदैनथ्यो । तर, कोरोनाले गर्दा यतिबेला पोखरामा विदेशी पाहुना देख्न पनि सकस छ ।  

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ । पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ प्रयाप्त तयारी गर्दथे । तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन् । पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाई छ ।

‘विदेशी पाहुना छैनन, त्यसैले क्रिसमस पनि खल्लो बनेको छ । अघिल्ला वर्ष क्रिसमसको तयारीमा हामी पहिल्यैदेखि जुट्थ्यौ,’ सांग्रिला रिसोर्टका आवासीय म्यानेजर गुप्त गिरीले भने,‘कोरोनाको यो महामारीमा क्रिसमस पनि फिक्का बन्यो । पाहुना नहुँदा क्रिसमसको रन्को पनि छैन ।’ क्रिसमसको रमझमलाई यो वर्ष कोरोनाले बिर्साएको उनले बताए । क्रिसमसमा हुने खर्चिला कार्यक्रम धान्न सक्ने अवस्था नहुँदा नहुँदै पनि परम्परालाई कायम राख्नका लागि मात्र यो पटक सामान्य तयारी मात्र गरेको उनले बताए ।  

‘मनोरञ्जनात्मक कार्यक्रम यो पटक केही पनि छैनन,’ उनले भने, ‘होटलमा रहेका सिमित पाहुनाका लागि क्रिसमसको झल्को दिने प्रयास मात्र छ ।’ क्रिसमसलाई रंगीन बनाउन अघिल्ला वर्ष व्यवसायीले होटलमा विभिन्न कार्यक्रम गर्दथे । विभिन्न सांगितीक समुहलाई बोलाएर राती अबेरसम्म कार्यक्रम गर्दथे । तर, यो पटक ती सबै कार्यक्रम रद्द गरेको उनले बताए । ‘निकै नै कम संख्यामा पाहुना छन् । खासमा क्रिसमस विदेशी पाहुनाका लागि हुन्थ्यो । तर,यो पटक विदेशी देख्नै छैन,’ उनले भने, ‘अघिल्ला वर्ष विदेशीका लागि क्रिसमस हुन्थ्यो, त्यसमा नेपालीले सहभागिता जनाउँँदा रोमाञ्चक बन्थ्यो । तर अहिले होटलमा हुनेजति सबै आन्तरिक पाहुना छन, आन्तरिकलाई उत्तिसारो चाँसो हुदैन ।’  

नेपालमा यो बेला विदेशी पाहनाको लागि ओरालो लाग्दो सिजनको समय भएपनि ठुला होटलमा विदेशी पाहुना खचाखच हुन्थे । त्यसले गर्दा चल्तीका होटलले क्रिसमसको भव्य तयारी गर्दथे । तर, यो पटक भने पाहुनाविहीन अवस्थामा खल्लो रुपमा क्रिसमसलाई निरन्तरता दिन बाध्य भएको व्यवसायीले बताएका छन् । पोखरा आइसकेका विदेशीलाई क्रिसमस मनाउनका लागि स्वदेश फर्कन नपरोस भनेर उनीहरुलाई अकर्षित गर्नेगरि व्यवसायीले अघिल्ला वर्ष भव्य तयारी गर्दथे ।  

अर्काे पाँचतारे होटल पोखरा ग्राण्डका महाप्रबन्धक रोशन खवासले पनि क्रिसमस मनाउनै पर्नेगरि पाहुना नभएकोले कुनै कार्यक्रम नगरिएको बताए । ‘हामीले क्रिसमसमा खासै विशेष कार्यक्रम त अघिल्ला वर्ष पनि गर्दैनथ्यौ । यो पटक त झनै गर्नैपर्ने अवस्था छैन,’ खवासले भने, ‘आन्तरिक पाहुनालाई उत्तिसारो चाँसो पनि हुँदैन । यो बेला आन्तरिक पाहुना मात्र सिमित संख्यामा छन् ।’

क्रिसमसलाई उल्लासमय बनाउन यहाँका चल्तीका रेस्टुरेन्टले केही मनोरञ्जनात्मक कार्यक्रम राखेका छन् ।  अघिल्ला वर्ष प्रयाप्त मनोरञ्जनात्मक कार्यक्रम नभएपनि सिमित स्थानीय पाहुनालाई मनोरम दिलाउनका लागि केही गतिविधि मात्र गरेको व्यवसायीले बताएका छन् । रेस्टुरेन्ट व्यवसायी गोपि भट्टराईका अनुसार लेकसाइडका चल्तीका ठुला रेस्टुरेन्टले क्रिसमसलाई केही मनोरम बनाउन सिमित गतिविधि आयोजना गरेका छन् ।  

‘अघिल्ला वर्षजस्तो चमक त छैन । सिमित र स्थानीय मात्र यो पटकका पाहुना हुन्,’ उनले भने, ‘तरपनि गतिविधि निरन्तर छन् भन्ने देखाउन चाहेका छौ । अघिल्ला वर्षजस्तो चमक नभएपनि गतिविधिले निरन्तरता पाएका छन् ।’ अघिल्ला वर्ष यो बेला पोखरामा विदेशीको भीडमा आन्तरिक पाहुना थपिँदा व्यवसायीलाई भ्याई न भ्याई हुन्थ्योे, तर, अहिले भने व्यवसायी निकै नै फुर्सदिला बनेका छन् । ‘क्रिसमसको साँझ हामीलाई व्यवस्थापनमा समेत सकस हुन्थ्यो । तर, यो पटक सबै गतिविधि कमजोर अवस्थामा छन,’ उनले भने ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष समेत रहेका भट्टराईका अनुसार यतिबेला पोखरामा आन्तरिक पाहुनाको केही चहलपहल देखिएको छ । अंग्रेजी नयाँवर्षका बेलासम्म आन्तरिक पाहुनाको केही चहलपहल रहनेमा  व्यवसायी आशावादी पनि छन् । त्यही अनुसार होटलमा केही सोधपुछ आएको उनीहरुको भनाई छ । ‘नयाँवर्ष आउन थालेकोले केही आन्तरिक पाहुना आउनेमा आशावादी छौ । तर अघिल्ला वर्षजस्तो चमक यो पटक हुने छैन,’ अध्यक्ष भट्टराइले भने, ‘क्रिसमसदेखि सुरु हुने भीडभाड अघिल्ला वर्ष नयाँवर्ष सकिँदा पनि उत्तिकै हुन्थ्यो । तर, अहिले भने सन्नाटा छाएसरह छ ।’

केहि वर्षअघिसम्म नेपाल आएका विदेशी पर्यटक क्रिसमस मनाउनकै लागि स्वदेश फर्कने गर्दथे । क्रिसमसका कुनैपनि गतिविधि नहुँदा विदेशी यहाँ रमाउन पाउँदैनथे । त्यसैले यहाँ सुनसान हुन्थ्यो । जब नेपालमा पनि क्रिसमस मनाउन थालियो, त्यसपछि कतिपय पर्यटक पोखरामै रोकिन थालेका थिए । क्रिसमसमका कार्यक्रम गर्न थालिएसँगै फर्किने पर्यटकको संख्या घट्न थालेपनि यो पटक कोरोनाले सबैतिर सुनसान बनाएको व्यवसायी बताउँछन् । ‘नेपालमा रहेका विभिन्न कुटनीतिक नियोगमा कार्यरत विदेशी कर्मचारी पनि यो पटक पोखरा आएका छैनन,’ भट्टराइले भने, ‘सबैलाई कोरानाको त्रासले छोएको छ । हिडडुल सहज नहुँदा सबैको आउजाउ रोकिएको छ ।’ 

प्रकाशित: ९ पुस २०७७ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App