२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घान्द्रुक जनवरी १४ देखि खुल्ने

अब व्यवसायीलाई पनि बचाउनु प¥योः व्यवसायी

कास्कीको पर्यटकी गाउँ घान्द्रुकको एक होटलमा रहेका पाहुना । फाइल तस्बिरः नागरिक

अन्नपुर्ण क्षेत्रको महत्वपूर्ण पर्यटकीय गाउँ घान्द्रुक जनवरी १४ (माघ १) देखि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैतदेखि नै घान्द्रुक क्षेत्रका सबै होटल बन्द थिए । संक्रमण केही कम भएको भन्दै अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि घान्द्रुकका व्यवसायीले भने जोखिम कायम रहेको भन्दै होटल खुलाउन मानेका थिएनन् ।  

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले जनवरी १४ देखि होटलले पाहुनाको बुकिङ लिन थाल्ने निर्णय भएको बताए । ‘जनवरी १४ देखि यहाँका होटलले बुकिङ लिन थाल्नेछन,’ अध्यक्ष गुरुङले भने, ‘संक्रमण केही कमी भएको र सबैजसो क्षेत्र खुलिसकेकोले घान्द्रुक खुलाउन व्यवसायी पनि सहमत भएका हुन् ।’ उनका अनुसार विहीबार बसेको व्यवसायीको बैठकले होटल खुलाउने निर्णय गरेको हो ।

घान्द्रुक अन्नपुर्ण क्षेत्रको प्रमुख पर्यटकीय गाउँ हो । घान्द्रुक हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरु अन्नपुर्ण आधारशिविर (एबिसी), टाढापानी, घोरेपानीसम्म आउजाउ गर्छन । घान्द्रुक बन्द हँुँदा पर्यटकहरु पदयात्रामा जान रोकिएका थिए । ‘घान्द्रुकका सबै पर्यटन व्यवसायीको निर्णयमा होटल खुलाउने निर्णय भएको हो,’ अध्यक्ष गुरुङले भने, ‘अब पर्यटन व्यवसायी पनि बाच्नुपर्ने अवस्था आयो । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई सकस भयो ।’

घान्द्रुक हुँदै पुगिने अर्काे पर्यटकीय गन्तव्य घोरेपानी पुस १ देखि नै खुला भएको थियो । तर घान्द्रुक बन्द हँुदा पाहुनाहरु घोरेपानीसम्म पुग्न सकेका थिएनन् । घोरेपानी पुग्ने वैकल्पिक मार्ग भएपनि पर्यटकले घान्द्रुकको बाटो रोज्ने गर्छन । घान्द्रुकको ताला खुलेसँगै अब टाढापानी, देउराली, घोरेपानीसम्म पर्यटक जान पाउने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङ अनुसार एबिसी पदमार्गमा पर्ने छोमरोङ भने अझै खुलेको छैन । एबिसी पनि तत्काल खुल्ने अवस्था नभएको उनले बताए ।  

‘छोमरोङ नखुले एबिसी खुल्दैन, एबिसीमा अहिले जाने अवस्था पनि छैन,’ उनले भने, ‘एबिसीका लागि अहिले अफसिजन पनि हो । तर, छोमरोङले भने भिन्दै निर्णय गरेर खुलाउन सक्छ ।’ ‘घोरेपानी खुलिसकेको छ । घोरेपानी खुलेपनि घान्द्रुक नखुल्दा पाहुना पुग्न सकेका थिएनन्, घोरेपानी पुग्ने पुरानो चल्तीको पदमार्ग घान्द्रुक हुँदै हो,’ उनले भने, ‘घान्द्रुक नखुल्दा घोरेपानी खुलेर पनि अर्थ राख्दैन । त्यसैले अब घान्द्रुक खुलेसँगै घोरेपानीसम्म आउजाउमा समस्या हुँदैन ।’  

अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा मात्र सानातिना गरि करिब ८० वटा होटल छन् । अन्यत्रका गन्तव्य धमाधम खुल्दा पनि घान्द्रुक नखुल्दा त्यहाँका व्यवसायीको ब्यापक आलोचना भएको थियो । तर गाउँलेलाई संक्रमणबाट जोगाउनका लागि होटल नखोलेको व्यवसायीले बताउने गरेका थिए । तर अब होटललाई पनि जोगाउनुपर्ने अवस्था आएकोले खुलाउन बाध्य भएको अध्यक्ष गुरुङले बताए । ‘अहिलेसम्म गाउँलेलाई जोगायौं, अब व्यवसाय पनि जोगाउनुपर्छ । करोडौं रुपैयाँ लगानी गरेका व्यवसायीलाई लामो समयसम्म बन्द गर भनेर भन्दै सकिने अवस्था रहेन,’ उनले भने, ‘सावधानी अपनाएरै पाहुनालाई सेवा दिन व्यवसायी तयार भए ।’ होटललाई मास्क र स्यानिटाइजर दिएर स्वास्थ्यका मापदण्ड पुरा गराएर खुलाउने उनले बताए । ‘गाउँलेलाई पनि होटल खोल्ने तयारी बारे जानकारी दिने हो,’ उनले भने, ‘अब त गाउँले पनि असहमत हुनु भएन ।’  

कोरोना भाइरस संक्रमण बढेपछि लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्र गत असोज १ देखि खुलाउन सरकारले स्वीकृति दिएको थियो । सरकारी स्वीकृतिपछि धेरैतिरका होटल र रेस्टुरेन्ट संचालनमा पनि आएका थिए । तर, घान्द्रुक क्षेत्रका व्यवसायीले भने होटल खुलाउन अस्वीकार गरेका थिए । व्यवसायीले संक्रमणको त्रास रहेको भन्दै होटल खुलाउन मानेका थिएनन् ।  

‘घुम्न आएका कोही पाहुना यहाँ बिरामी परे ती बिरामीको उद्धार र उपचार गर्ने निकाय छैन । स्वास्थ्य सुरक्षाको सुनिश्चितता नभएकोले होटल खुलाउने आँट नगरेका हौ,’ घान्द्रुकका व्यवसायीले भनेका थिए । घान्द्रुक हुँदै पर्यटकहरु अन्नपुर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर जाने हुँदा त्यस क्षेत्रका व्यावसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गर्छन ।  

अन्नपुर्णको सेन्चुरी क्षेत्र आन्तरिक पर्यटकका लागि निकै नै चर्चित गन्तव्य हो । यो क्षेत्रमा मात्र साना ठुला गरि करिब ३ सय होटल रहेका छन् । सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् । पोखराबाट नजिकको दुरी र हिमाली श्रृंखला सहित वनजंगलको दृष्यावलोकन तथा अन्नपुर्ण आधारशिविरसम्मको साहसिक पदयात्रा गर्न सकिने भएकोले विदेशी पर्यटक यो रुटको पदयात्रामा जान रुचाउँछन् । आन्तरिक पाहुनाको रोजाइमा पनि यो क्षेत्र पर्छ ।

प्रकाशित: ९ पुस २०७७ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App