coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जनशक्ति उत्पादन बढाउन नयाँ परियोजना

१७ करोड रुपैयाँको परियोजना सुरु

कृषि, निर्माण र पर्यटन क्षेत्रमा आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले नयाँ परियोजना सुरु भएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना अनुरुप गण्डकी प्रदेशमा मंगलबार सुरु भएको हो ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल तथा निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारिमा यो परियोजना संचालन हुनेछ । युरोपियन युनियनले आर्थिक सहयोग र बृटिस काउन्सिल अन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसिप परियोजनाको व्यवस्थापकीय सहयोगमा परियोजना कार्यान्वयन हुने सरोकारवालाले बताएका छन् ।  

पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्माले परियोजनाको उद्घाटन गरेका थिए । उपाध्यक्ष शर्माले दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा यस्ता परियोजना सहायक हुने बताए । उनले सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए ।  

‘उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आबश्यक पर्ने हो त्यो सरकारले थाहा पाउनुपर्छ,’ उनले भने, ‘सरकारले आवश्यक निकायसँग समन्वय गर्नेछ । जनशक्ति उत्पादनमा लाग्ने कलेज, युनिभर्सिटी वा तालिम केन्द्रसँगको समन्वयमा जनशक्ति उत्पादन गर्न सके राम्रो हुनेछ ।’

सरकारद्वारा स्वकीकृत यस परियोजनाको कार्यअवधि १४ महिना रहेको र कूल बजेट १७ करोड ९० लाख रहेको परियोजनाका फोकल पर्सन रविनकुमार श्रेष्ठले जानकारी दिए । पेशागत बर्गिकरण सम्बन्धि स्ट्याण्डर्डको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आबश्यकता अनुसार शीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने पनि श्रेष्ठले बताए ।  

कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमा नै रोक्न र आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गरे । संघ उक्त परियोजनाका प्रादेशिक समन्वय संस्था पनि हो ।

यसैगरी होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग हुने भन्दै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार आफ्नो संस्थाले सधैं काम गर्ने भनाई राखे ।  

 

प्रकाशित: ७ पुस २०७७ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App