९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड रुपैयाँ भुक्तानी गर्ने

रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ। उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोड  रुपैयाँका दरले रकम भुक्तानी गर्ने जनाएको हो।

मिलले दैनिक एक करोड  रुपैयाँका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिए। उनका अनुसार गत वर्ष किसानलाई अठार करोड  रुपैयाँ भुक्तानी गरिएको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड  रुपैयाँ छ। यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले चार करोड ७० लाख  रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सबैभन्दा धेरै बक्र्यौता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ। उक्त मिलले सोमबारसम्म बक्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ। मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार  रुपैयाँ  बक्यौता रकम भुक्तानी गरेको बताएको छ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख  रुपैयाँ, इन्दिरा सुगर मिलको चार करोड ७० लाख  रुपैयाँ, अन्नपूर्ण सुगर मिलको १७ करोड  रुपैयाँ र श्रीराम सुगर मिलको ३५ करोड  रुपैयाँ गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख  रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ। दुई मिलले बक्यौता रकम भुक्तानी गर्न शुरु गरे पनि अन्य मिलले भुक्तानी शुरु गरेका छैनन्।रासस

प्रकाशित: ५ पुस २०७७ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App