१ मंसिर २०८३ मंगलबार
image/svg+xml
अर्थ

कर्णाली करिडोरको ४१ किलोमिटर सडकस्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृत नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको स्तरोन्नति हुने भएको छ।

कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको कर्णाली करिडोरको स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय ठेक्का स्वीकृत गरिएको हो।

प्राप्त विवरणअनुसार खुलालु–सलिसल्ला सडक खण्डका तीन स्थानमा गरी ४१ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गरिने खुलालु–सलिसल्ला सडक आयोजनाका प्रमुख विष्णुदास (बिसुनदास) लामाले बताए।

उनका अनुसार  सडक निर्माण तथा स्तरोन्नतिका लागि तुम्चादेखि सलिसल्लासम्म – १३ किलोमिटर,खुलालुदेखि कोटसम्म – १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म – १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिने छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर स्तरोन्नति तथा कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरिएको जानकारी दिएका छन्।

‘हामीले भनेका थियौँ– कर्णालीका सपना अब हाम्रो सपना १ सोही प्रतिबद्धताअनुसार कर्णाली करिडोरको स्तरोन्नति र कालोपत्रेका लागि ३ अर्ब बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरेका छौँ,’ मन्त्री लम्सालले भने।

उनले कर्णाली करिडोरको निर्माण र स्तरोन्नति सरकारको प्राथमिक प्रतिबद्धता रहेको समेत बताएका छन्।

प्रकाशित: १ मंसिर २०८३ १८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App