२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिको काम सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार अहिले यो खण्डमा पुल निर्माणको काम अघि बढाइएको छ भने सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ। दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघमा सकाउने लक्ष्य राखिएको छ।  

मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ। यस खण्डमा निर्माण हुने १२ वटा पुलमध्ये ४ वटाको निर्माण कार्य सुरु भइसकेको छ भने बाँकी ८ वटाको डिजाइन सर्वेको काम भइरहेको छ।  

समयसीमा अगावै निर्माण सम्पन्न गर्नगरी स्तरोन्नतिको कामलाई अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। यो वर्ष पहिरो जाने क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गरिने छ। ‘बर्खाको समयमा पहिरो जाने क्षेत्रमा फष्ट अट्याकको रूपमा काम अघि बढाएका छौं’, उनले भने, ‘यसले बर्खाको समयमा पनि निर्वाध रूपमा सवारी सञ्चालन गर्न सकिन्छ।’  

नेपाल चीन बीच हुने व्यापारलाई सहज एंव दिगो बनाउनका लागि निर्माण गरिएको सडक भएकाले सबै चासो रहेको र सोही अनुसार ठेकेदारलाई ताकेता गर्ने, अनुगमन गर्ने लगायतका काम भइरहेको उनले बताए।  

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिनेछ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।  

गल्छी मैलुङ सडकको ६३ प्रतिशत काम सकियो

नाका जोड्ने सडकको पहिलो खण्ड अन्तर्गत गल्छी मैलुङ सडकको करिब ६३ प्रतिशत काम सकिएको छ। यो खण्डको दूरी ४६ किलोमिटर रहेको छ। योजनाले दिएको जानकारी अनुसार यो सडक खण्डमा अहिले कालोपत्रेको काम भइरहेको छ। यो वर्ष ४१ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य अनुसार सडक खण्डमा पहिलो लेयर २१ किलोमिटर र दोस्रो लेयर १३ किलोमिटर कालोपत्रे भइसकेको छ।  

कालोपत्रे गर्नुपर्ने कुल सडकमध्ये १३ किलोमिटर दोस्रो लेयर अर्थात पूर्ण कालोपत्रे भइसकेको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ। तीनवटै खण्डको हिसाबले हालसम्म करिब ३४ प्रतिशत काम सकिएको छ।

प्रकाशित: ३ पुस २०७७ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App