८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ब्रोकर कमिसन घटाउने तयारी

लामो समयदेखि माग हुँदै आएको सेयर ब्रोकरको कमिसन घटाउने तयारी सुरु भएको छ।  

लगानीकर्ताको पटकपटकको माग तथा विभिन्न अध्ययन प्रतिवेदनले ब्रोकरको कमिसन घटाउनुपर्ने देखाएपछि सोही अनुसारको तयारी थालिएको धितोपत्र बोर्डले जनाएको छ। ‘ब्रोकरको मागपछि गरिएको अध्ययनमा ब्रोकरको कमिसन घटाउनुपर्ने देखिएको छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘त्यसैले बोर्डले ब्रोकर कमिसन घटाउने तयारी थालेको छ।’  

कमिसन कति घटाउने र कहिले अन्तिम निर्णय गर्ने भन्नेमा छलफल भइरहेको उनको भनाइ छ। ‘ब्रोकरको कमिसन त घट्छ नै,’ उनले भने, ‘तर कति र कहिले भन्नेबारे टुंगो लगाउन सम्बद्ध पक्षसँग छलफल भइरहेको छ।’ पुँजी बजारमा लगानी गर्नेहरूले वर्षौंदेखि ब्रोकरको कमिसन घट्नुपर्ने माग राख्दै आएका छन्।  

त्यस्तै, मर्चेन्ट बैंकिङलाई सेयर कारोबार दिनुपर्ने लगानीकर्ताको माग छ। हाल ५० वटा ब्रोकरले मात्र कारोबार गर्दा लगानीकर्ताले लाभ लिन नसकेको गुनासो छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकरले १५ करोड र सात अर्ब रूपैयाँको कारोबार हुँदा एउटै कमिसन लिनु जायज नभएको बताए।  

पुँजी बजार सानो हुँदा केही वर्षअघिसम्म थोरै कारोबार हुने गथ्र्यो, अहिले दैनिक सात÷आठ अर्ब रूपैयाँको कारोबार हुने गरेको छ। पुँजी बजारमा सूचीकृत कम्पनीको संख्या दुई सयभन्दा माथि पुगेको छ। सेयर कारोबार गर्ने लगानीकर्ता गर्नेको संख्या व्यापक रूपमा बढेको छ। डिम्याट खाता खोल्नेको संख्या २१ लाख नाघेको छ।  

कारोबार र संख्याको दृष्टिकोणले पुँजी बजारमा व्यापक वृद्धि भए पनि ब्रोकर कमिसन यथावत छ। नियमनकारी निकाय बोर्डले कमिसन घटाउन चासो नदिएको आरोप छ। ‘पुँजी बजारमा जति सुधार गर्‍यो, त्यत्ति नै वृद्धि हुने हो,’ रौनियारले भने, ‘तर हामीकहाँ नियमनकारी निकाय बोर्ड सुधारमा लाग्नुको साटो कारोबार वृद्धि हुँदा विज्ञप्ति निकालेर बस्छ।’  

उनले बोर्डको जिम्मेवारी पुँजी बजारलाई स्वःस्फूर्त चल्न दिएर लगानीकर्ताको हक र हित संरक्षण गर्नुपर्ने रहेको बताए। यतिखेर एकातिर ब्रोकर कमिसन घटाउनैपर्ने र अर्कोतर्फ बैंकलाई सेयर कारोबार गर्ने अधिकार दिन आवश्यक रहेको उनको भनाइ छ।  

हाल लगानीकर्ताले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४० देखि ०.६० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। ५० हजार रूपैयाँसम्मको कारोबार गर्दा ब्रोकरले ०.६० र एक करोड रूपैयाँभन्दा बढीको कारोबारमा ०.४० प्रतिशत कमिसन लिने गर्छन्। सेयर खरिद र बिक्री गर्ने दुवैले कमिसन तिर्नुपर्छ।

रौनियारले बैंकलाई सेयर कारोबार गर्ने अधिकार दिने हो भने सबै जिल्लाका लगानीकर्ताको आकर्षण बढ्न गई पुँजी बजार वृद्धि हुने बताए। बोर्डका प्रवक्ता गिरीले अहिले ब्रोकरले लिएको कमिसनबाट नेप्से र सिडिएसलाई पनि केही रकम बुझाउनुपर्ने भएकाले केही मिलाउन आवश्यक देखिएको बताए।  

बोर्ड स्रोतका अनुसार ब्रोकरले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिने कमिसनलाई १०–१५ प्रतिशतसम्ममा सीमित गर्ने गरी छलफल भइरहेको छ। हाल ब्रोकरले लिने कमिसनको २० प्रतिशत रकम नेप्सेले लिन्छ।  

२२.७० बिन्दुले घट्यो नेप्से  

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२.७० बिन्दुले घटेको छ। पछिल्लो दुई कारोबार दिनदेखि नेप्से ओरालो लाग्ने क्रम जारी छ। नेप्से ओरालो लागेपनि बिहीबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

अघिल्लो दिन पाँच अर्ब १४ करोड रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा साताको अन्तिम दिन ६ अर्ब ७६ करोड ९८ लाख रूपैयाँको कारोबार भयो। यस दिन एक सय ९५ कम्पनीको कारोबार भयो। कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अन्य परिसूचक घटे।  

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ८० करोड २५ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख रूपैयाँको कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सेयर कारोबारसम्बन्धी नयाँ निर्देशन जारी गरेपछि पुँजी बजार प्रभावित हुनसक्ने कतिपयको अनुमान छ।  

तर इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियार राष्ट्र बैंकको नयाँ नीतिले सेयर बजार झनै वृद्धि हुने बताउँछन्। ‘यतिखेर आठ प्रतिशत ब्याजमा जति पनि कर्जा पाइने अवस्था छ,’ उनले भने, ‘त्यसमा अनलाइन कारोबारले सघाएको छ।’ राष्ट्र बैंकको नयाँ निर्देशनमा लगातार तीन वर्ष नोक्सानीमा रहेका संस्थाको सेयरमा कर्जा दिन कडाइ गरिनुको साथै सञ्चालनमा आएको एक वर्ष नकटेका संस्थाको सेयरमा पनि कर्जा दिन पाइने छैन।

प्रकाशित: ३ पुस २०७७ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App