१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तेस्रो मुलुकबाट आयात २० प्रतिशतले घट्यो

तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर कार्गोको आयात व्यापार २०.४१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। पश्चिम बंगालको कोलकाता बन्दरगाह, कोलकता मातहतकै हल्दिया बन्दरगाह र निजी क्षेत्रबाट व्यवस्थापन गरिएको आन्ध्र प्रदेशको विशखापटनम् बन्दरगाहको पछिल्लो तथ्यांकअनुसार कन्टेनर कार्गोको आयात घटेको देखिएको छ।  

अंग्रेजी आर्थिक वर्ष ०२०/२१ को दुई चौमासिक अर्थात आठ महिनामा कोलकाता बन्दरगाहबाट ३४ हजार १७ र विशखापटनम्बाट २१ हजार ६ सय ४७ कन्टेनर (२० फिट एकाइमा) आएका छन्। अंग्रेजी आव ०२०/०२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा समग्रमा तेस्रो समुद्रपारका मुलुकबाट ५५ हजार ६ सय ६४ कन्टेनर सामान आएको देखिन्छ। पोहोर यहीँ अवधिमा भारतको कोलकाता र विशाखापटनम्बाट नेपालका लागि ६९ हजार नौ सय ४५ कन्टेनर आएका थिए। यस वर्ष आएका कन्टेनरको संख्या गत वर्षको भन्दा २०.४१ प्रतिशतले कम हो। 

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका शाखा प्रमुख लक्ष्मण खड्काले समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी हुनुले विदेशबाट हुने आयात व्यापार घटेको देखिएको बताए। उनका अनुसार कोलकता र बिशाखापटनम् बन्दरगाहबाट तीन सय ७३ र्‍याक कन्टेनर मालवाहक रेलमा वीरगन्ज सुक्खा बन्दरगाहमा आएको छ। एक र्‍याकमा २० फिट एकाइको ९० कन्टेनर आउने गर्छ। यस हिसाबले ३३ हजार पाँच सय ७० कन्टेनर भारतीय बन्दरगाहबाट रेलमा नेपालका लागि आएका छन्। अरू २२ हजार ९४ कन्टेनर सडक मार्गबाट नेपाल भित्रिएका छन्।  

विश्वव्यापी कोरोना संक्रमणको प्रभावले नेपालको उद्योग र व्यापार क्षेत्र पनि प्रभावित भएको यो तथ्यांक सूचक भएको नेपाली आयातकर्ता व्यापारीले बताएका छन्। उनीहरूका अनुसार लकडाउन र निषेधाज्ञा हटे पनि उद्योग व्यापारमा कोरोनाको भय अझै कायमै छ। उद्योगहरूले आयात गर्ने कच्चा पदार्थ, अद्र्ध तयारी कच्चा पदार्थ र नेपाली बजारमा उपभोग हुने तयारी मालवस्तु तेस्रो मुलुकबाट आयात हुने गरेको छ। अहिले बजार खुम्चिएपछि उद्योगहरूले पनि उत्पादन कटौती गरेको अवस्था रहेको आयातकर्ता गणेशप्रसाद लाठ बताउँछन्। महामारीको प्रभावबाट थलिएको व्यापार साबिक लयमा फर्किन समय लाग्ने उनी बताउँछन्। त्यस्तै सर्वसाधारणको खर्च गर्ने क्षमता घटेका कारण बजारमा कारोबार हुन नसक्दा तयारी मालसमानको खपत नेपालमा घटेको देखिन्छ।  

गत चैत ११ देखि नेपालमा बन्दाबन्दी सुरू भएको थियो। झण्डै ६ महिनापछि बन्दाबन्दी हटेपनि वीरगन्जलगायत कतिपय ठाउँमा निषेधाज्ञा भने थप दुई महिनाजति रह्यो।

प्रकाशित: २८ मंसिर २०७७ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App