६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कन्याममा चिया परीक्षण केन्द्र

‘चियाको राजधानी’ सूर्याेदय नगरपालिकामा बन्न लागेको देशकै पहिलो चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र शिलान्यास गरिएको छ । २३ करोड रूपैयाँ लागतमा बन्ने केन्द्र भवनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार शिलान्यास गरे ।  

शिलान्यासपछि आयोजित समारोहमा मुख्यमन्त्री राईले देशभरको चिया चाख्ने र बजार प्रवद्र्धनमा सघाउनेगरी निर्माण भएको केन्द्रलाई अध्ययन÷अनुसन्धान केन्द्र पनि बनाउने बताए । ‘नेपालको चिया गुणस्तरीय बनाउन र विश्वबजारमा चिनाउन केन्द्र आवश्यक थियो,’ उनले भने, ‘यो आयोजना अरूजस्तो होइन, निर्धारित समयभित्रै भवन निर्माण सकेर सेवा सुरु भइहाल्छ ।’ उनले चियाका लागि निर्माण भएको केन्द्रले पर्यटन प्रवद्र्धनमा पनि सघाउने बताए । ‘चिया परीक्षण र प्रवद्र्धनका माध्यमबाट इलामको पर्यटनमा केन्द्रले सहयोग गर्नेछ,’ उनले भने, ‘यसलाई अनुसन्धानसँग जोडेर प्रयोगमा ल्याउनेतिरसमेत प्रदेश सरकारको ध्यान जानेछ ।’

प्रदेश १ का भूमिसुधार, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले केन्द्र स्थापनापछि विश्वभरका व्यापारी इलाम आएर चिया चाख्न पाउने बताए । ‘यो केन्द्रमा नेपालभरको चिया विश्वभरका व्यापारीले आफैं चाखेर रोजी–रोजी किन्न पाउनेछन्,’ गृहजिल्ला इलाम नै भएका उनले भने, ‘गुणस्तर थाहा पाएपछि नेपाली चियाको मूल्य बढ्छ ।’ प्रदेश १ मा देशकै ९९ प्रतिशत चिया उत्पादन हुने गरेको भन्दै उनले केन्द्रका लागि मेसिन, औजार, कर्मचारीलगायत सबै आवश्यक पूर्वाधार समयमै पूरा हुने बताए ।  

सूर्याेदय नगरपालिका वडा ७, कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माणतर्फ १८ करोड र उपकरण तथा फर्निसिङ खरिदमा करिब ५ करोड रकम खर्च हुने अनुमान छ । आयोजनाका लागि प्रदेश सरकारले ७५ प्रतिशत र नगरपालिकाले बाँकी २५ प्रतिशत रकम खर्चिनेछन् । आयोजना निर्माणका लागि गत फागुनमा प्रदेश सरकार र सूर्याेदय नगरपालिकाबीच लगानी सम्झौता भएको थियो ।  

नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले केन्द्र स्थापना हुनु नेपाली चियाको गुणस्तर र बजारीकरणका लागि कोसेढुंगा भएको बताए । ‘नेपाली चियाको लोगोसमेत कार्यान्वयनमा आइसकेको अवस्थामा चिया परीक्षण केन्द्र स्थापना हुनु ठूलो अवसर हो,’ उनले भने, ‘यसलाई अनुसन्धान केन्द्रका रूपमा समेत विकास गर्न बोर्डले तयारी गरिरहेको छ ।’  

८ हजारभन्दा बढी किसान चियामै आबद्ध रहेको सूर्याेदय नगरपालिकामा ५ दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग छन् । चिया उत्पादन परिमाणका हिसाबले जिल्लाकै पहिलो सूर्याेदयमा देशमै पहिलो चिया परीक्षण र प्रवद्र्धन केन्द्र स्थापना हुन लागेको हो । यहाँको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको नीति–कार्यक्रम नै रहेको मेयर रणबहादुर राईले बताए । ‘नेपालमा चिया रोपण सुरु भएको १ सय ५७ वर्षपछि भएपनि चिया परीक्षण र प्रवद्र्धन केन्द्र स्थापना गर्न पाउनु गर्वको विषय हो,’ उनले भने, ‘विश्वमा नेपाल चिनाउन पनि इलामको चियाको महत्वपूर्ण भूमिका रहन्छ ।’  

सूर्याेदय नगरले २ वर्षअघि देशमै पहिलोपटक हरियो चियाको न्यूनतम् समर्थन मूल्यसमेत निर्धारण गरी कार्यान्वयन गरेको छ । चियालगायत सबै कृषिजन्य वस्तु अर्गानिक बनाउन ‘अर्गानिक नगर’ घोषणा गर्नेगरी योजना अघि बढाएको छ । नगरले २ सहकारीलाई अनुदान दिएर चिया प्रशोधनमा गुणस्तर कायम गर्न प्रोत्साहन गरेको मेयर राईले बताए ।

प्रकाशित: १९ मंसिर २०७७ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App