८ वैशाख २०८१ शनिबार
अर्थ

सुदूरपश्चिममा १२.५८ प्रतिशत बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा कूल विनियोजित बजेटको १२.५८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । चालू आवका लागि ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रूपैयाँको बजेटमध्ये चालूतर्फ एक अर्ब १० करोड ४७ लाख ५० हजार रूपैयाँ प्रदेश सरकारले खर्च गरेको हो । जुन खर्चको ६.५ प्रतिशत हुन आउँछ । त्यस्तै पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार खर्च भएको छ । जुन विनियोजनको तुलनामा ५.९३ प्रतिशत हुन आउँछ । चालू र पुँजीगततर्फको कूल बजेट जोड्दा १२.५८ प्रतिशत बजेट खर्च भएको हो ।  

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गत आवको तुलनामा चालू र पुँजीगत बजेट कार्यान्वयन पहिलो चौमासिकमा बढेको बताए । उनले भने, ‘गत आवमा पहिलो चौमासिकमा चालूतर्फ ५.० प्रतिशत खर्च भएको थियो भने चालू आवमा १.२५ प्रतिशतले वृद्धि भएर ६.६५ प्रतिशत प्रगति भएको छ ।’ त्यस्तै पुँजीगत बजेटतर्फ अघिल्लो आवको प्रथम चौमासिकमा ३.५२ प्रतिशत मात्रै खर्च भएकोमा समिक्षा अवधिमा २.४१ प्रतिशतले वृद्धि भई ५.९३ प्रतिशत बजेट कार्यान्वयन भएको उनले बताए ।  

चालू आवको प्रथम चौमासिकसम्ममा कूल विनियोजनमा २ अर्ब ९ करोड ८६ लाख २६ हजार खर्च भएको बताउँदै उनले भने, ‘जुन विनियोजनको तुलनामा ६.२९ प्रतिशत हुन आउँछ, जबकी आव ०७६÷०७७ को सोही अवधिमा ४.५३ प्रतिशत खर्च भएको छ ।’ गत आवको तुलनामा १.७६ प्रतिशतले वृद्धि भएको उनले बताए । मन्त्रालयका अनुसार प्रथम चौमासिकको खर्चलाई गत आवको सोही अवधिको खर्चसँग तुलना गर्दा खर्च रकमको आधारमा ६४.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

प्रकाशित: १८ मंसिर २०७७ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App