१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व

शेखर गोल्छा, अध्यक्ष नेउवा महासंघ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । महासंघको विधान अनुसार निर्वतमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आइतबारदेखि स्वतः अध्यक्ष बनेका छन् ।

अध्यक्ष गोल्छालाई निर्वतमान अध्यक्ष भवानी राणाले आइतबार पद हस्तान्तरण गरिन् । महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । आइतबार विहान सार्वजनिक मत परिणामअनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पछि पार्दै ढकाल विजयी भएका हुन् । महासंघको विधानअनुसार ढकाल अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई निर्वाचित भएका छन् । तीन उपाध्यक्षमध्ये एक उपाध्यक्ष ढकाल प्यानल र दुई उपाध्यक्ष प्रधान प्यानलबाट विजयी भएका छन् । संघई ढकाल र श्रेष्ठद्वय प्रधान प्यानलका हुन् । 

महासंघको जिल्ला–नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरूणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी, कमानबहादुर खड्का, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य चुनिएको निर्वाचन समितिले जनाएको छ । प्रदेशतर्फ प्रदेश नम्बर १ बाट राजेन्द्र राउत, प्रदेश २ बाट विजय साह, बागमती प्रदेशबाट सहनलाल प्रधान, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जसमेर मियाँ, कर्णाली प्रदेशबाट लालिमान बुढा, सुदूरपश्चिमबाट पुष्पराज कुमार चुनिएका छन् ।

त्यसैगरी, वस्तुगततर्फ कार्यकारिणी सदस्यमा नरेशलाल श्रेष्ठ, सुमितकुमार केडिया, आकाश अधिकारी, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, शिवप्रसाद घिमिरे र शुकुन्तलाल हिराचन निर्वाचित भए ।

नवनिर्वाचितको शपथग्रहण
महासंघको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित गोल्छा महासंघको विधानअनुसार अध्यक्षको शपथग्रहण गरेका छन् । महासंघका प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे । अध्यक्षको जिम्मेवारी लिएका गोल्छाले मुलुकको आर्थिक समृद्धिका लागि काम गर्ने बताएका छन् । गोल्छाले निर्वाचन सम्पन्न भएसँगै सबै मिलेर काम गर्ने बताए । ‘महासंघमा सबै मिलेर काम गर्छौं,’ गोल्छाले भने, ‘१० वर्षे कार्ययोजनालाई मूर्त रूप दिन्छु ।’ नयाँ नेतृत्व आएकाले महासंघमा बहुमत अल्पमत नहुने बताएका छन् । अध्यक्षसहित अन्य पदाधिकारी र सदस्यले पनि शपथ लिएका छन् ।  

गुट, उपगुटको अन्त्य: ढकाल
महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले निर्वाचनको परिणामसँगै महासंघमा गुट, उपगुट सकिएको बताएका छन् । प्रजातान्त्रिक मुलुकमा हुने निर्वाचनका दौरानमा पक्ष–विपक्ष देखिनु स्वाभाविक भएको भन्दै ढकालले निर्वाचनको अन्त्यसँगै सबै एक भएमात्र लक्ष्य हासिल गर्न सकिने बताए ।

‘अब मेरो अध्यक्ष शेखरजी हो, निर्वाचन परिणाम आए लगत्तै ढकालले पत्रकारहरूसँग भने, ‘हाम्रो लक्ष्य निजी क्षेत्रको आवाज सरकारसमक्ष पुराउने हुनेछ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रमा कोरोनाबाट सिर्जित समस्या समाधानका लागि महासंघ नेतृत्व लाग्ने जानकारी दिए । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसअनुसार ढकाल शेखर गोल्छापछि महासंघ अध्यक्ष बन्नेछन् । बागलुङको अमलाचौर गाउँमा किसान परिवारमा जन्मिएका ढकाल बैंकको जागिर छोडेर व्यवसायमा लागेका थिए । आइएमई ग्रुपका अध्यक्ष ढकाल व्यवसायमा पनि सफल छन् । ‘जीवनमा संघर्ष गरेपछि सफलता सुनिश्चित छ,’ ढकालले नागरिकसँग भने, ‘मेरो मेहनत र उद्योगी, व्यवसायीको साथ, सहयोगले यो स्थानमा पुगें ।’  

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रको उत्थानका लागि काम गर्ने बताए । ढकाल महासंघलाई अघि बढाउन ‘एफएनसिसिआई भिजन–२०२५’ बनाएकाले त्यसैलाई मूल मन्त्र बनाएर काम गर्ने बताउँछन् । ढकालले आफू निजी क्षेत्र र सरकारबीचको पुल भएर काम गर्ने बताए ।  

ढकालको बैंक, रेमिटेन्स, पर्यटन, जलविद्युत, अटोमोबाइल, केबलकार, सूचना प्रविधि, विद्युतीय भुक्तानीलगायत दर्जनौं क्षेत्रमा लगानी छ । सरकारले उनलाई सिआइपी सम्मान दिएको छ । उनी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।  

नागरिककर्मी पौडेल सम्मानित  
पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पु-याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ । आइतबार पौडेललाई निवर्तमान अध्यक्ष भवानी राणा र अध्यक्ष शेखर गोल्छाले नगदसहित कदरपत्रले सम्मान गरे । अर्थतन्त्रका विविध विषयवस्तुमा कलम चलाई मुलुकभित्र उद्योग प्रवद्र्धनसहित उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यमा सघाएकाले सम्मान गरेको कदरपत्रमा उल्लेख छ । कार्यक्रममा पौडेलसहित विभिन्न सञ्चार माध्यममा कार्यरत सात पत्रकारलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

प्रकाशित: १५ मंसिर २०७७ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App