७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

तीन मेनपावरको कारोबार रोक्का

सरकारी निकायलाई जानकारी नदिई अवैध ढंगले कामदार छनोटमा जुटेका तीन मेनपावर कम्पनीको कारोबार रोक्का गरिएको छ । वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा कामदार छनोट गर्दै आएका ती मेनपावरमा मंगलबार छापा मारेको थियो । विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कानुनी रूपमा दर्ता भएका संस्थाले कानुन विपरीत काम गरेको पाइएपछि छापा मारेर कारोबार रोक्का गरिएको बताए । कारोबार रोक्का गरेका मेनपावरले कसैलाई पनि विदेश पठाउन पाउँदैनन् ।

ती मेनपावरले कतार लगायत मुलुकमा श्रमिक पठाउने भन्दै प्रतिव्यक्ति १२ लाख रूपैयाँसम्म असुलेर कामदार छनोट गरिरहेको बेला विभागले छापा मारेको थियो । दाहालले गैरकानुनी रूपमा काम गरेका मेनपावरलाई कारबाही गरेरै छाड्ने बताए । कतार लगायत खाडी मुलुक श्रमिक पठाउन सरकारले निःशुल्क भिसा र टिकटको नीति लागू गरेको छ ।

ती मेनपावरले एकातिर ठूलो रकम असुल गर्नुको साथै अर्कोतर्फ विभागबाट कुनै स्वीकृति नलिई छनोट प्रक्रिया थालेका थिए । वैदेशिक रोजगार ऐनअनुसार मेनपावरले श्रमिक विदेश पठाउनुअघि पूर्वश्रम स्वीकृति लिएर विज्ञापन गरेपछि मात्र विभागको स्वीकृतिमा अन्तर्वार्ता थाल्न पाउँछन् । दाहालले कारबाहीमा परेका मेनपावरले कुनै पनि प्रक्रिया पूरा नगरेको बताए ।

गैरकानुनी रूपमा कामदार छनोट गर्दै गर्दा ती मेनपावरमा काठमाडौंस्थित कतारको राजदूतावासका कर्मचारीले प्रयोग गर्ने गाडी समेत फेला परेको थियो । दाहालले विभागलाई कुनै जानकारी नदिएकाले कुन प्रयोजनका लागि कामदार छनोट हुँदै थिए भन्ने यकिन नभएको बताए । ‘विभागसँग स्वीकृति नलिएका कारण के प्रयोजनका लागि छनोट हुँदै थियो भन्न सकिँदैन । त्यसैले यो काम विशुद्ध मानव बेचबिखन हो,’ उनले भने ।

प्रकाशित: ११ मंसिर २०७७ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App