१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'निजी क्षेत्रको उत्थान हाम्रो प्राथमिकता'

नेउवामहासंघको निर्वाचन

रामचन्द्र संघई, एसोसिएट उपाध्यक्षका प्रत्यासी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्नका लागि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा हुँदैछ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको प्यानलमा रहेर अन्य उपाध्यक्षहरू पनि चुनावी मैदानमा छन् । एसोसिएसट उपाध्यक्षतर्फ ढकाल प्यानलका प्रत्यासी रामचन्द्र संघईसँग महासंघलाई अघि बढाउने अजेन्डा, कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउने, उद्योगी, व्यवसायीको हितमा काम गर्ने के कस्ता योजना छन्, महासंघको गुटगत राजनीति लगायत विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षका लागि चुनावी मैदानमा उत्रिनु भएको छ ? तपाईंका अजेन्डा के हुन् ?
महासंघलाई सबल, सुदृढ बनाउने पहिलो प्राथमिकता छ । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट योगदान गर्ने । सरकार र उद्योगी, व्यवसायीबीच समन्वय गरी नीतिगत उल्झन सुल्झाउन सहजीकरण गर्छौं । अहिले मुलुकमा ठूलो व्यापार घाटा छ । गत वर्षभन्दा अहिले केही निर्यात बढेको देखिएपछि वास्तविकता फरक छ । अहिले आयात घटेको हुनाले निर्यात बढेको देखिएको छ । अब हामीले व्यापार घाटा कम गर्न निर्यात बढाउनु पर्छ । म आफैं निर्यातमूलक उद्योग सञ्चालन गरिरहेको हुनाले निर्यात बढाउन ध्यान दिन्छौं । मुख्यतः हाम्रो टिमले तय गरेका अजेन्डानै मेरो अजेन्डा हो । उद्योगी, व्यवसायी लगानी गर्न तयार छ । तर लगानी सुरक्षित हुने वातावरण तयार गर्नुपर्छ । लगानी बढेपछि रोजगारी बढ्छ । अहिले रोजगारी बढाउनुपर्ने छ । रोजगार बढाउन सरकार र निजी क्षेत्रबीच राम्रो साझेदारी हुनुपर्छ । कर, अनुदानमा राज्यसँग समन्वय गर्नुपर्छ । समग्र उद्योगी, व्यवसायीको हितमा काम गर्छौं ।

महासंघको निर्वाचनमा राजनीतिक दलको जस्तो उम्मेदवारको प्यानल खडा भएको छ । अजेन्डामा प्रतिस्पर्धा हुनपर्नेमा चरम गुटबन्दी र धु्रवीकरण देखिएको छ । यसले भोलिका दिनमा महासंघ चलाउन कठिन हुँदैन ?  
यसले समस्या सिर्जना गर्दैन । मतदान नहुँदासम्म दुई समूह देखिएको हो । त्यसपछि सबै उद्योगी, व्यवसायी एउटै समूह हो । हामी राजनीतिक मान्छे होइन । निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । त्यो स्वाभाविक हो । मैले चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी दिएको छु । भोलि जसले जित्छ हामी सबैको साझा नेता हो । उसले समग्रको नेतृत्व गर्छ । यसलाई अन्यथा लिनु हुँदैन ।

नेतृत्वमा नपुग्दासम्म उद्योगी, व्यवसायीको पक्षमा काम गर्छौं भन्ने, पछि सरकार र उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध राखेर व्यक्तिगत स्वार्थ र व्यापार, व्यवसायको हितमा काम गर्ने आरोप छ । यसलाई कसरी हेर्नुहुन्छ ? 
पहिला भएको होला । अहिले त्यस्तो छैन । महासंघले राम्रो काम नगरेको भए अहिले महासंघ यो अवस्थामा आउने थिएन । व्यक्तिगत फाइदाका लागि भन्दा सबै उद्योगी, व्यवसायीको हित र मुलुकको समृद्धिका लागि काम गर्ने हो । त्यसमा शंका गर्नुपर्ने ठाउँ छैन ।

समग्र उद्योगी, व्यवसायीप्रति आम सर्वसाधारण र सरकारी अधिकारीले हेर्ने दृष्टिकोण त्यति धेरै सकारात्मक छैन । नाफामा मात्र केन्द्रित हुन्छन् भन्ने आरोप छ । उद्योगी, व्यवसायीको इमेज कसरी सुधार गर्ने ?
त्यस्तो लाग्दैन । व्यवसायको नियम हो नाफा हुँदैन भने कसैले लगानी गर्दैन । नोक्सान हुने ठाउँमा लगानी गर्ने कुरै भएन । नाफा खराब होइन । नाफा गरेन राज्यलाई कर तिर्ने हो । यसलाई सकरात्मक रूपमा लिनुपर्छ । नाफा गरेपछि अर्को ठाउँमा लगानी गर्छ । त्यसले फेरी रोजगारी सिर्जना गर्छ । म आफैंले धेरै उद्योगमा लगानी गरेको छु । लगानी गर्न आकाशबाट खसेको पैसा त होइन । उद्योग, व्यवसायबाट कमाएर लगानी विस्तार गरेको हो ।

एसोसिएट उपाध्यक्ष स्वतः रोजगार परिषद्को सभापति हुने व्यवस्था महासंघको विधानमा छ । यहाँ निर्वाचित हुनुभयो भने रोजगारदाता र श्रमिकबीचको दुरी कसरी घटाउनु हुन्छ ?
श्रमिक र रोजगारदाताको सम्बन्धलाई सुधार गर्नेमा ध्यान दिनेछु । कमी कमजोरी छ भने त्यसलाई व्यवस्थित गर्दै लैजाने । रोजगारी सिर्जना गर्न पहल गर्छु । रोजगार बढ्यो भने मुलुकको आर्थिक समृद्धिसँगै आत्मनिर्भर बन्न सक्छौं । श्रमिक, ट्रेड युनियनसँग समन्वय गर्ने काम हुन्छ । कामदार पनि घाटा नपरोस्, रोजगारदातालाई पनि अप्ठेरो नपरोस् भन्ने हो । आपसमा समन्वय गरेर उत्पादनशील उद्योगलाई प्रतिस्पर्धी बनाउनुपर्ने दायित्व रहेको छ । म विभिन्न उद्योग, व्यवसायमा संलग्न छु । उत्पादनशील उद्योग, कृषि उद्योगमा छु । करिब १५–१६ हजार रोजगारी सिर्जना गरेको छु । मेरो संस्थाको अनुभवले सम्बन्धित ठाउँमा काम गर्न र रोजगारदाता तथा श्रमिकबीच समस्या आए सुल्झाउन अनुभव काम लाग्छ ।

तपाईंको प्यानल (समूह)ले चुनाव जित्ने बलियो आधार के हो ?
आज चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । उनको नेतृत्वमा हाम्रो समूह छ । उहाँलाई नबुझ्ने उद्योगी, व्यवसायी सायद कोही होला । चन्द्रजीको नेटवर्क नेपालभर फैलिएको छ । १५ वर्षको छोटो समयमै उहाँले हासिल गरेको व्यावसायिक सफलता र क्षमताले नै महासंघलाई थप गतिशील बनाउनका लागि सक्षम हुन्छौं । कुनै समस्या आए पनि त्यसलाई सहजीकरण गर्न सरकारसम्म पनि पहुँच राख्न सक्छौं । उहाँको भिजनलाई हामीले कार्यान्वयनमा ल्याउँछौं ।  

यहाँ एसोसिएटतर्फबाट उपाध्यक्ष पदका लागि चुनावी मैदानमा हुनुहुन्छ । यहाँलाई उद्योगी, व्यवसायीले मत किन दिने र यहाँको जित्ने आधार के हो ?
लामो अनुभव छ । मलाई जिम्मेवारी दिए पूरा गर्न सक्छु । मैले उद्योगमा धेरै काम गर्नुपर्ने छैन । अर्को पुस्ता तयार भएको छ । ममा निजी क्षेत्रको उत्थानका लागि काम गर्ने इच्छा छ । त्यसका लागि उम्मेदवारी दिएको हुँ । उद्योगी, व्यवसायीको साथ छ । त्यसैले म विजयी भएर आउँछु । ढुक्क छु । उद्योगी, व्यवसायीलाई मत दिएर जिताउन समेत अनुरोध गर्दछु ।

प्रकाशित: ११ मंसिर २०७७ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App